जबर्जस्ती बन्द गराउँदै हिँडेका ७५ जना पक्राउ


Netra Bikram Chand Biplav

८ साउन, काठमाडौँ । जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट र एकजनालाई ललितपुरबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

बोतल र जर्किनमा पेट्रोल बोकेका ती बन्दकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिए । नियन्त्रणमा लिइएका बन्दकर्तालाई आवश्यक छानबिनपश्चात् मात्र रिहा गरिने प्रहरीले बताएको छ ।

माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा प्रहरीले सादा पोसाक र पोसाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताए ।

बन्दकर्ताले शुक्रबार बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेको बाहेक सामान्य अवस्था रहेको प्रहरीले बताएको छ ।

बागलुङबाट ११ जना पक्राउ

चीन र भारतबीच भएको लिपुलेक सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गर्दै माओवादीले नेपाल बन्द आह्वान गरेको छ । बन्दको प्रचार गर्न आयोजित कोणसभालाई सम्वोधन गर्न खोज्दा नेकपा माओवादीका महाकाली उपब्यूरो इन्चार्ज डीडी पाण्डेलाई प्रहरीले महेन्द्रनगर बजारबाट नियन्त्रणमा लिएको छ ।

राससका अनुसार विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द सफल पार्न हिँडेका बागलुङका ११ जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बजारको हल्लन चोकबाट विप्लव नेतृत्वको नेकपा माओवादी बागलुङका कार्यकर्तालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा नेकपा माओवादी बागलुङका सेक्रेटरी विकीरण, अनन्त केसी, नवीन कुँवर, बाबुलाल शाक्य, दिनबहादुर कुमाल, एलपी बुढा, बाबुराम आचार्य, अविनाश विक, राम मगर र दीपेन्द्र रहेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

माओवादी कार्यकर्ताले भने शान्तिपूर्ण बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले धरपकड गरी पक्राउ गरेको आरोप लगाएका छन् । माओवादीले आह्वान गरेको बन्दका कारण बागलुङमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन् । शैक्षिक संस्था र बजार पनि बन्द छन् ।

बन्द आह्वानकर्ता विप्लव माओवादीका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै ललितपुरको कुमारीपाटीमा बा २ ख ३६५२ नम्बरको टेम्पो तोडफोड गरेका छन् । त्यसैगरी ठसिखेलमा बा १ ज २०२४ नम्बरको माइक्रो तोडफोड गरेको सो पार्टीको ललितपूर जिल्ला समितिले स्वीकार गरेको छ ।

कुसुन्तीमा बन्दकर्ताले ट्याक्सी तोडफोड गरेका छन् । त्यसैगरी रिङरोडस्थित बालकुमारीमा सडक निस्कदै गरेको सार्वजनिक बसमाथि पनि बन्दकर्ताले तोडफोड गरेका छन् ।

हेटौंडामा १७ जना बन्दकर्ता पक्राउ

बन्द गराउँदै हिडेका माओवादी कार्यकर्ता गोपाल तामाङ र सुमनलाई प्रहरीले धादिङको मलेखुमा गिरफ्तार गरेको नेकपा माओवादी केन्द्रीय सदस्य तथा प्रचार-प्रसार इन्चार्ज शरद सिंह भण्डारीले जानकारी दिए । हेटौंडामा १७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा ५ जना पक्राउ

रुपन्देहीमा बन्द गराउँदै हिँडेका विप्लव माओवादीका ५ जना कार्यकर्तालाई बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, उत्तर-दक्षिण सिद्धार्थ राजमार्ग र हुलाकी मार्गमा समेत सवारीका साधन चलेका छैनन् । भारतबाट आउने नेपालीहरु गाडी नपाएर सीमानाका बेलहियामा अलपत्र परेका छन् ।

यातायात बन्दका कारण सीमानाका बेलहियादेखि बुटवलसम्म पुग्न यात्रुहरुले रिक्सा चालकलाई एक हजार रुपैयाँसम्म भाडा तिर्न बाध्य भएको बताएका छन् ।

उता पूर्वसभासद तथा नेकपा माओवादी नेता डबलबहादुर शाह र बाजुराका सक्रेटरी एन्डिज विकलाई प्रहरीले रिहा गरेको छ । उनीहरुलाई बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस गर्ने क्रममा बिहीबार सदरमुकाम मार्तडीबाट गिरफ्तार गरेको थियो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार