उग्रचण्डी नाला भगवतीमा चढाइएका भाँडाकुँडाहरु


Ratna Prasad anamani Shrestha
Ratna Prasad anamani Shrestha

रत्न प्रसाद अनामणि श्रेष्ठ

नेपाल एउटा यस्तो देश हो जहाँ घरभन्दा बढी मन्दिर र मान्छेभन्दा बढी देवताका मूर्तिहरु भएको र विश्वको सुन्दर, शान्त, आर्थिकरुपले गरीब र प्राकृतिकरुपमा अति धनी देश हो । यहाँ थुप्रै मन्दिर, विहार, गुम्बाहरु रहेका छन् । ती मन्दिरहरु मध्ये नेपालमा रहेको प्रमुख चार प्रसिद्ध भगवतीहरु मध्ये उग्रचण्डी नाला भगवती मन्दिर पनि एक हो । अझ स्पष्टरुपमा भन्नुपर्दा नेपालको भगवती मन्दिरहरु मध्ये प्यागोडा शैलीको एकमात्र चार तल्ले भगवती मन्दिरको रुपमा लिन सकिन्छ । यस मन्दिरको जीर्णोद्धार हालसालै भएको छ । जीर्णोद्धार हुनुभन्दा अगाडि यस मन्दिरको अगाडिको छानामुनि प्रशस्त मात्रामा घर व्यवहारमा खाना पकाउने भाँडाकुँडादेखि कृषि कार्य गर्ने औजारहरु किला ठोकेर चढाएको पाइन्छ । भक्तजनहरुले आफ्नो मनोकांक्षा पूरा भएपछि देवी भगवतीलाई यसरी चढाउने प्रथा चलेको छ । हुन त यस्ता भाँडाकुँडा तथा औजारहरु पुरुष देवताहरुमा भन्दा देवीहरु (स्त्री देवी) मन्दिरहरुमा पाइन्छ । जनश्रुति अनुसार यस्ता भाँडाकुँडाहरु देवीलाई भक्तजनहरुले दाइजोको रुपमा चढाइएको पनि भन्ने गरिन्छ । आफ्नो भाकल पूरा गर्न वा पूरा भईसकेपछि घरायसी भाँडाकुँडा चढाउने देवस्थलमा बौद्ध, शैव र शाक्त सम्प्रदायका मठ–मन्दिर, विहार अग्रपंक्तिमा रहेका छन् । नाला भगवती तथा करुणामय मन्दिरमा पनि चढाएको पाइन्छ । त्यस्तै चोभारको आनन्दादी लोकेश्वर आदिनाथ, टंगालको भाटभटेनी, कीर्तिपुरको बाघभैरव, ठेचोको बालकुमारी, असनको न्हेँकन्तला लगायत काठमाडौं उपत्यका भित्रका बाहेक उपत्यका बाहिरका मन्दिरहरुमा समेत रहेको पाइन्छ । एउटा अझ रोचक प्रसंग यो छ कि श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेदसम्मको झगडा भएमा उपत्यकावासी विशेषगरी नेवार समुदाय चोभारको आनन्दादी आदिनाथ विहारमा एकमहिनासम्म एक घुट्को जलमात्र पिएर ब्रत बस्ने परम्परा छ । यस परम्परालाई हाल हामी आफ्नो माग पूर्ति गर्नलाई अनशन बस्नेसंग दाँज्न सकिन्छ । वास्तवमा पहिलेका मानिसहरु केही पनि खाद्य पदार्थ नखाई ब्रत बस्न गर्दथे । यही ब्रत परम्पराको विकसित रुप नै अनशनलाई लिन सकिन्छ । आश्विन–कार्तिक महिनातिर पर्ने यस ब्रतमा श्रीमान् वा श्रीमती ब्रत बसेको ठाउँमा लिन गए पुनः घरजम गरी संगै बस्ने गर्दछन् र आदिनाथलाई भाँडाकुँडा चढाउने गरिन्छ भने लिन नगए सम्बन्ध विच्छेद गरी छुट्टाछुट्टै घरजम गरी बस्ने परम्परा छ । यसैगरी टंगालको भाटभटेनी अजिमा केटाकेटी तर्सिएमा पूजा गर्न जाने देवी हुन् । सुतिरहेको बेला पटक–पटक केटाकेटी तसिर्ने गरेमा टंगालको भाटभटेनीको भाकल गर्ने र निको भएमा परम्परागत पित्तल वा तामाका भाँडाकुँडा चढाउने प्रचलन छ । कीर्तिपुर तथा नाला क्षेत्रमा पृथ्बी नारायण लगायत अन्य राजारजौटाहसंग युद्ध हुँदा युद्धमा लुटिएका हतियार ढाल, तरबारहरु बाघभैरव र नाला भगवती मन्दिरमा चढाइएको थियो जुन हिजो आज पनि देख्न सकिन्छ । यसरी हेर्दा उपत्यकामा प्रचलित अनेक देवी देवताको पूजा विधिमध्ये भाँडाकुँडा चढाउने पूजा परम्परालाई पनि एउटा छुट्टै मौलिक संस्कृतिका रुपमा लिइएको पाइन्छ ।
अतः नेपाली मौलिक संस्कृतिको छुट्टै विशेषता बोकेको यस परम्परालाई बचाई राख्न हाल जीर्णोद्धार गर्दा भगवती मन्दिरबाट निकालिएका यस्ता ऐतिहासिक भाँडाकुँडाहरुलाई संग्रह गरी एउटा संग्रहालयको रुपमा विकास गर्नु पर्दछ । उग्रचण्डी नालाको अभिलेख संग्रह भाग १, रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा सम्पादित अनामणि प्रकाशन, नाला, काभ्रेद्वारा वि.सं.२०६९ श्रावणमा प्रकाशित पुस्तकको अभिलेख संख्या ५, पृष्ठ १३ मा नाला उग्रचण्डी भगवती मन्दिरभित्र बाहिरी पातामा टाँसिएका तीनवटा ताम्रपत्रहरु मध्ये एकमा नेपाल भाषाको प्रचलित लिपिमा नेपाल सम्बत् ७७१ मा भगवती मन्दिरमा रत्न सिंहले उहाँका मातापिताको नाममा तीनवटा ताहाल प्वं एकवटा चेतवति सिंघ्रमुङ (टीका राख्ने भाँडा) लगायत अन्य सामग्रीहरु चढाएको कुराहरु उल्लेख गरिएको छ । यसबाट पनि यो प्रमाणित हुन्छ कि यस्ता ऐतिहासिक बस्तुहरुलाई संरक्षण गर्नु आजका नालावासीहरुको कर्तव्य हुन आउँछ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार