– वैरागी जेठाको कविता : सिँहदरबारको पर्खालमा


bairagi

वैरागी जेठा

दलदले सिमसागर झैँ
बनिरहेछ देश
खस्रापातहरू
युग बालिरहेछन्
मुख गाडेर
ठूलो लडन्त गर्न
निकै आतुर छ
सार्वजनिक राजा
चम्पूहरू फुलेका छैनन्
घाँटी सानो छ
मुख फुक्नसक्दैन
छाया–चित्र
कुदिरहेछ
छुकछुक
देश
कठोर बन्धनमा
यक्ष–जस्तो डरलाग्दो भएर
विजातिय बस्तुहरूझैँ
मान्छे हिँडीरहेछ

षडवको राग अलापीरहेछु
अक्षरले बेरिएको सानो पोको बोकेर
संविधान
धानको बालाझैँ निस्कन नपाउँदै
मेरो घर घेरिएको छ
भूगर्भमा खाँदिएर
युग बलिरहेछ
प्रफुल्ल छैनन्
मेरा नानीहरू
शासकहरू बेकम्मा बोलीरहेछन्
गौथलीहरू
विद्रोहका कविता वाचन गरिरहेछन्
सिँहदरबारको पर्खालमा

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार