भारतले लगाएको नाकाबन्दीका कारण यतिबेला नेपालमा विविध संकट बढ्दै गएको छ। खाद्य वस्तुदेखि पेट्रोलियम पदार्थसमेत आयात हुने नेपालका सिमानाहरूमा उसले नाकाबन्दी गरेपछि हाहाकारको स्थिति उत्पन्न भएको छ।

यही कारण लामो समयदेखि भारतीय सीमाबाट नेपालमा अत्यावश्यक सामानहरू आयात हुन सकेका छैनन्। भारतबाट नेपालतर्फ सामान आयात हुन नदिन तराई, मधेसका दलहरू पनि नाकामा आन्दोलन गरिबसेकाछन्। यसबाट मुलुकभर विभिन्न समस्या आइपरेको छ जुन सार्वभौम देशका लागि ठाडो हस्तक्षेप हो।

भर्खरै मुलुकले नयाँ संविधान पाएको छ। यसले हामी सबै नेपालीमा खुसी छाएको छ। तर मित्रराष्ट्र भारतले संविधान जारी भएको केही दिनमै तराई मधेसकेन्द्रित दलका नेताहरूलाई उक्साएर नाकाबन्दीसम्म गर्ने हर्कत देखाएपछि यतिबेला नेपालीले ठूलो संकट सामना गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ। संविधान जारी गर्न यस पटक हाम्रा राजनीतिक दलका नेताहरूले उठाएको कदम प्रशंसायोग्य छ। यसले लामो समयदेखि संक्रमणकालबाट जकडिएको मुलुकलाई मुक्ति दिएको छ। र, विकासका लागि बाटो प्रशस्त गरेको छ। मुलुकलाई साँच्चै सार्वभौम पनि बनाएको छ।

भारतको लामो नाकाबन्दीको असर खेपेका नेपाली जनता यतिबेला विकल्प खोज्न ढिलाइ भएकामा पश्चाताप गरिरहेका छन्। अर्कोतर्फ अबचाहिँ तत्कालै उत्तरतर्फका नाका खोल्न सरकारलाई दबाब बढ्दै गएको छ। छिमेकी मुलुक चीन पनि नेपालका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइरहेको छ। चीनले नेपाललाई आइलागेको यो संकटको घडीमा १० लाख लिटर पेट्रोल अनुदान दिने घोषणासमेत गरेर आफ्नो सद्भाव दर्शाइ पनि सकेको छ। एक छिमेकीलाई संकट पर्दा उदार छाती बनाई सहयेग गर्ने चीनको यो कार्यको जति प्रशंसा गरे पनि पुग्दैन।

यही क्रममा यतिबेला चीनसँग जोडिएको रसुवागढी नाका भर्खरै सञ्चालनमा आएको छ। विकासको गतिमा लम्कनुपर्ने नेपालको निम्ति यो खुसीको विषय हो र हुनु पनि पर्छ। रसुवागढी नाका त्रिदेशीय व्यापारिक हिसावले पनि उपयुक्त छ किनकि यो छोटो, सरल र सुलभ हुने देखिएको छ। जसका लागि केही काम भने गर्न बाँकी छ। विश्व बजारमा आफ्नो प्रभाव जमाउन सफल हुँदै गएको तथा विश्व शक्ति अमेरिकालाई समेत अर्थतन्त्रमा उछिनिसकेको चीनसँगको व्यापारिक सहकार्य नेपालका लागि चौतर्फी नजरबाटै ठूलो मौका र अवसर दुवै पनि हो।

चीनको योजना सन् २०२० सम्म केरुङ हुँदै रसुवागढीसम्म रेल सेवा सञ्चालन गरी स्थलमार्गमार्फत बाह्य मुलुकसँग व्यापार बढाउने रहेको समाचारहरुमा आएका छन्। यस हिसावले हेर्दा चीनसँगको व्यापार सिंगो नेपालमा लागि त फलदायी छ नै साथै अहिलेसम्म ओझेलमा पर्दै आएको रसुवाको मुहार फेर्ने अवसर पनि हुनेछ भन्नेमा अब कुनै शंका रहेन। सानो यो हिमाली जिल्ला जहिले पनि पछाडि पर्दै रह्यो। अप्ठेरो भौगोलिक भूबनावट तथा नेताहरुको दृष्टि पुग्न नसकेका कारण राजधानीसँग नजिकै भएर पनि यो सधैँ छायाँमा जकडिइरह्यो। तर यतिबेला केरुङ नाका सञ्चालनसँगै भने रसुवाको भाग्य चम्कने आशा रसुवाबासीले संगाल्न थालेका छन्।

हुन त यसअघि पनि यस नाकाबाट सामान आवात–जावत हुने गरेको थियो। तर यो ठूलो संख्यामा भने थिएन। अर्कोतर्फ पेट्रोलियम पदार्थ आयात हुने निर्णयसँग अब व्यापारको कारोबार बढ्नेमात्र नभई चहलपहलसमेत बढ्ने निश्चित भएको छ। राजधानीदेखि रसुवागढीसम्मको सवारी यात्रा २ सय मिटरभन्दा कम छ। जुन दक्षिणतर्फका नाकाको तुलनामा निकै कम हो। त्यसैले पनि केरुङ नाका प्रयोग गर्दा नेपाललाई धेरै फाइदा पुग्नेमा शंका छैन।

तर नेपालले यो नाकाबाट हुने व्यापारमार्फत फाइदा लिन तथा तेल आयातलाई प्रभावकारी, छिटोछरितो र सहज तुल्याउन केही पूर्वाधारका काम भने चाँडै नै गर्नुपर्नेछ। राजधानी–रसुवागढी स्थलमार्ग प्रभावकारी छैन। रसुवाको राम्चे, मूलखर्क, ग्राङ, ब्राबल जस्ता ठाउँहरूमा वर्षमा ४ महिनाभन्दा बढी पहिरोका कारण अवरोध सिर्जना हुने गरेको छ। मंगलबारमात्र बाटोकै कारण राम्चेमा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो। मूलखर्कमा करिब २ दशकदेखि दुःख दिन थालेको पहिरो जस्ताको तस्तै छ। वर्षात्को समयमा स्काभेटर तयारी अवस्थामा राखिएन भने बाटो नै सञ्चालन हुन सक्दैन। त्यसैले यस्ता समस्या समाधानका लागि राज्यले आवश्यक बजेट तत्काल विनियोजन गर्नुपर्छ। साथै बाटो स्तरोन्नति पनि गर्न आवश्यक छ। यति भयो भने बाटो राम्रोसँग सुचारु हुन सक्छ। बाटो राम्रो भएपछि बल्ल व्यापार राम्रोसँग फस्टाउन सक्छ। अनिमात्र राजधानीलगायतका विभिन्न ठाउँमा खाद्यान्न, तेललगायतका सामग्री अभाव हुन पाउँदैन। राजश्व असुलीमा पनि उत्तिकै बढोत्तरी हुनेमा विवादै रहेन।

रसुवागढी–केरुङ नाका सञ्चालन हुँदा बाटोघाटो विस्तार तथा स्तरोन्नतिमा काम हुन थालेपछि रसुवाका बेरोजगारहरुले रोजगारी पाउनेछन्। बाटो फराकिलो भएसँगै अन्य उद्योगधन्दा खुल्ने वातावरण बन्नेछ भने यसबाट पनि थप रोजगारी सिर्जना हुनेछ। बाटो विस्तारका लागि जग्गा अधिकरण हुने भएकाले स्थानीयका हातमा पैसा पर्नेछ। उक्त पैसाले व्यापार व्यवसाय गर्न मद्दत पुग्नेछ। साथै बाटोमा आवतजावत बढी हुने भएकाले राजमार्ग छेउछाउ पसल, होटल तथा अन्य व्यवसाय गर्ने अवसर पनि प्राप्त हुनेछ। यी सबै कुराबाट आर्थिक आयआर्जन हुने भएपछि यहाँको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल हुनेछ। उसै त जलविद्युुत् कम्पनीहरूको राम्रो विकास भइरहेको तथा पर्यटकीय क्षेत्रका रूपमा उल्लेख्य फड्को मारिरहेको रसुवा केरुङ नाका चम्केसँगै थप चम्किने र आफ्ना पछौटपनलाई सदाका लागि बिदा गराउनेमा कुनै शंका नलिए हुन्छ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार