एउटा फोटोको वृतान्त


रमेश खकुरेल

2००८ सालमा म ब्रह्मचर्याश्रममा छँदा बुवा र ब्रह्मचर्याश्रमकै अर्का साथी कृष्णप्रसाद चिमरियासित (अगाडि फेटा बाँध्ने बुवा कविराज हरिप्रसाद खकुरेल र सँगै बसेका महोत्तरीका कविराज सदानन्द झा पछाडि बीचमा म र दाहिने कृष्ण दाइ)।हामी काठमाडौंबाट थानकोटसम्म डाँक बसमा गएर त्यहाँबाट हिंडेर चन्द्रागिरि लेख नाघेर तल वर्ली चितलाङमा भात खाई कुलेखानीमा बास बसेका थियौं।भोलिपल्ट गढीमा गएर बडाहाकिमकहाँ भात खाएर तल भीमफेदी वर्लेका थियौं।बुवा सधैं १०८ गायत्री जपेर अग्निस्थापना गरी त्यसैमा हवन गर्ने र सालिग्राम पूजा गरेर तर्पण वैश्वदेव तथा नित्य श्राद्ध गर्नुहुन्थ्यो।त्यही हवनको आगो लिएर त्यसमै पकाएको भात खाने हुनाले हिंड्दा अबेर हुने भएकाले भीमफेदी पुग्दा साँझ परेको थियो।

reभोलिपल्ट पनि खाना खाएर बसमा अमलेखगञ्ज पुगी वास बसेर पर्सिपल्ट रेलमा बीरगञ्ज गएका थियौं।बीरगञ्जमा सूर्यदेव पन्तको घरमा दुई दिन बसेर हामी तीनजना र दुई सहयोगीहरू (वैद्य गोपालमान जोशी र
कृष्णबहादुर)समेत जीपमा कलैया गयौं।बुवाले जहाँ गए पनि ब्रह्मचर्याश्रमको बारेमा भन्ने,यस्ता विद्यार्थी छन् भनेर हामीलाई देखाउने,तत्काल “लौ उहाँको बारेमा कविता बना” भनेर मलाई संस्कृतमा छन्दोवद्ध कविता बनाउन लगाउने र चन्दाको याचना गर्ने गर्नुहुन्थ्यो।कलैयामै बिद्यालयमा केशवप्रसाद उपाध्याय पनि पढ्ने हुनुहँदो रहेछ।त्यहाँ ९ वर्षको मैले संस्कृतमा कविता बनाएको आफ्नो आत्मकथामा पनि हाल्नुभएको रहेछ।आज निर्मोही व्यासले त्यो कुरा भन्दा पुरानो सम्झना आएर यो चित्र निकालियो।त्यहाँबाट हामी गाडामा गएर वाग्मती तरेर गौर गयौं।नदीमा पानी बढेर गाडामा माथिसम्म आई गुण्टा बाकस भिजाउन लागेपछि मैले बुवाका औषधि राखेका दुई साना बाकस उचालेर खोला पार गरियो।पारि घाममा लुगा सुकाएर सदानन्द कविराजजीको घरमा गई बसेका थियौं।उहाँ बुवाका शिष्य भएकाले हामीलाई देखेर बडो प्रसन्न हुनुभएको थियो। सदानन्दजीका भाइ पण्डित वेदानन्द झा निर्मोही व्यासका गुरु पनि हुनुहुँदो रहेछ।यो चित्र त्यहीं लिइएको थियो।त्यहाँबाट हामी मलङ्गवा गएर बसमा जयनगर गई रेलमा जनकपुर गएका थियौं।जनकपुरबाट फेरि जयनगर आई रेलमा निर्मली गएर गाडामा दुई दिन लगाएर सप्तरीमा हाम्रो मौजा डिमन गएका थियौं।

Loading...

यसमा तपाइको मत

अन्य समाचार