सजिना मोक्तानको कविता :अँधेरी चिरेर विहानी भेटाउन


सजिना मोक्तान

 

अँधेरी चिरेर विहानी भेटाउन
जव कुरिन्छ कयौँ रातहरु
त्यही कालरात्रीमा हुन्छ चिहान
अनिदो पहाडहरु झै जाग्गै वसेर
जीवनका सपना फूलाउन खोज्छौँ
कतिले नभेटाउन सक्छ विहान
नियतीको परिवन्ध नै त्यस्तै हो रे
जाग्दा जाग्दै ऊ थाकेर गलेको
पत्तै नपाउन सक्छ कतिले
तर ऊ संघर्ष गरिरहेको हुन्छ
आफ्नै जिवनमाथी जित देख्न
छट्पटिदै श्वासको एकै झोक्कामा
कालो कालका छेदनहरुले
कर्लपकुर्लुप्पै निल्न खोज्छ उसलाई
त्यतिखेर उसका नयनहरुले
संसार त के सक्दैनन् देख्न
आफू वरपरको दृश्य पनि
अनि अन्धकारभित्रै छटपटिमा
उघार्न खोजिरहन्छ आँखा
तैपनि देख्न सक्दैनन उसले
अनि छोड्छ जिउने वहनाहरु
मनका घाउ टाल्ने चाहनाहरु
संघर्षमै जीवनको यात्रामा
सपना सुनौलो पार्ने योजनाहरु
जव मृत्युलाई जितेर
उनका आँखाहरु खुल्न थाल्छ
मिर्मिरेमा क्षितिज खुलेको देख्छ
जीवनले काँचुली फेरेर
नयाँ जीवन पाएको पाउँछ
अनि मनमनै दंग परेर
फेरी वुन्न थाल्दछ
अनेकौ सपनाहरु
खोज्न थाल्छ
सपना साकार पार्ने
जीवनका वाटाहरु।।
।।sajina

Loading...

यसमा तपाइको मत

अन्य समाचार