एमाओवादीमा चैतेहरुको राज


एमाओवादी मन्त्रीहरुलाई जनयुद्धबाट आएका कार्यकर्ता भन्दा बढी चैतेहरुले दु:ख दिन थालेका छन् । कृषिमन्त्री हरिबोल गजुरेल चैते माओवादीको घेरामा परिसकेका छन् । गजुरेल मन्त्री भएपछि उनको सल्लाहकार हुनका लागि चैते माओवादी धर्मदत्त देवकोटा र नहेन्द्र खड्काबीच ठूलै विवाद भयो । विवाद बढ्दै जाँदा देवकोटाले खड्काले ५० हजार रुपैयाँ खाएको आरोप लगाए । तिनै पचास हजार चप्काएको आरोप लागेका नहेन्द्र खड्कालाई मन्त्री गजुरेलले पीए बनाएका छन् । धर्मदत्त देवकोटा भने सहकारी विज्ञ भएकाले आफूलाई सहकारी बोर्डको अध्यक्ष बनाउनुपर्ने भन्दै नेताहरुकोमा धाउने गरेका छन् । एमालेमा वामदेव गौतमका निकट देवकोटा एमाओवादीमा नगएको भए मन्त्री बन्ने पक्का रहेछ भनी पछुताउन थालेका छन् ।

सडक निर्माणमा भ्रष्टाचार गर्ने, बैदेशिक रोजगारीमा ठगी गर्नेहरुको हुल २०६४ पछि एमाओवादीमा लर्को लागेको थियो । त्यो हुल नै अहिले एमाओवादीका लागि गलगाँड सावित हुन थालेको छ । यस्तै हुल करिब १ सयको संख्यामा जम्मा गरी २०७१ फागुनमा धर्मदत्त देवकोटाले पोलिटब्यूरो सदस्य नदिने भए पार्टी छाड्ने धम्की दिए । एमालेबाट एमाओवादीमा आएकाहरुलाई यथोचित जिम्मेवारी दिन नसकेको भनी भेला गरेर देवकोटाले सुटुक्क प्रचण्डसँग बार्गेनिङ गरेका थिए । तर प्रचण्डले उनको हैसियत थाहा पाएकाले उनलाई पोलिट्ब्यूरो दिएनन् । एमालेमा पनि डा.डिल्लीराज खनालहरुलाई जस्तो पार्टीले देवकोटाहरुलाई लिन अस्वीकार गर्दैआएको छ । सिन्धुपाल्चोकमा मसालको राजनीति गर्दागर्दै एक्लै पार्टी खोलेर एमाओवादीमा प्रवेश गरेका केशव नेपाललाई सहकारी विकास बैंंकको सल्लाहकारबाट धर्मदत्त देवकोटाले हटाउन लगाई आफैं सल्लाहकार भएका छन् ।

एमाओवादी कोटाबाट सल्लाहकार भएका नेपाललाई देवकोटाले एमालेको नाममा सहकारी विकास बैंकमा ब्रह्मलुट मच्चाउँदैआएका केवी उप्रेतीहरुलाई प्रभावमा पारी आफैं सल्लाहकार भएका छन् । उप्रेतीहरुले विभिन्न ब्यक्तिका नाममा ऋण निकाली सहकारी विकास बैंकको रकम घरजग्गा ब्यवसायमा लगाएका छन् । – दृष्टिबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार