यसपाली खुमबहादुर रामचन्द्र पौडेलको प्यानलतिर


काठमाडा, ९ पुस ।
आगामी फागुन २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा दोस्रो पटक सभापतिको उम्मेदवार हुन लागेका सुशील कोइरालालाई उनकै परिवारभित्रबाट सहयोग नहुने भएको छ । वीपीपुत्र सशांक कोइरालालाई उपसभापति बनाएर पछि कार्यवाहक दिने सुशील कोइरालाको योजनामा शेखर कोइराला र सुजाता कोइरालाहरु नै बाधक हुने भएका छन् । महाधिवेशनमा सुशील कोइराला विरुद्ध शेखर कोइरालालगायत अर्जुननरसिंह केसीले रामचन्द्र पौडेललाई अगाडि सार्ने तयारी गरेका छन् । सुशील कोइरालाले मनोनीत गरेका केन्द्रीय सदस्यहरुले उनलाई छोडेर शेरबहादुर देउवातिर लागिसकेको र रामचन्द्र पौडेललाई शेखर कोइराला, अर्जुननरसिंहहरुले अगाडि बढाएपछि कोइरालालाई संकट परेको छ ।
रामचन्द्र पौडेलले सभापतिमा यसपटक उम्मेदवार हुनका लागि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाममा देशब्यापी अभियान संचालन गरिसकेका छन् । र, कोइराला स्वास्थ्य उपचारार्थ अमेरिका भएकै अवस्थामा उनले पश्चिमान्चलस्तरीय अगुवा कार्यकर्ता भेलामा सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । कोइरालाले उनलाई माघ दोस्रोसाता मात्र उम्मेदवारीबारे सल्लाह गर्ने बताए पनि पौडेलले उम्मेदवारी घोषणा गरेपछि उनी रुष्ट भएका छन् । त्यसै कारण पुस ८ गतेको सुदूरपश्चिमान्चलस्तरीय अगुवा कार्यकर्ता भेलामा सभापति कोइराला नगएको समाचार छ ।
कोइरालाहरुबाट सधैं धोका पाएपछि पौडेलले यसपटक सभापतिमा उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । पौडेलको प्यानलबाट खुमबहादुर खड्का महामन्त्री हुने बताइएको छ । १२ औं महाधिवेशनमा देउवा समूहलाई समर्थन गरेका खड्काले यसपटक पौडेल समूहबाट महामन्त्री नै लड्ने मनस्थिति बनाइसकेका छन् । खड्काकै समर्थनका कारण देउवाले ४६ प्रतिशत भोट पाएर सुशील कोइरालालाई आच्छुआच्छु पारेका थिए । रामचन्द्र–खुमबहादुर गठबन्धनले हिन्दू धर्मको एजेन्डालाई प्रमुखताका साथ उठाएर त्यसकै आड र आधारमा भोट तान्ने तयारी गरेको छ । धार्मिक एजेन्डाको आडमा पौडेल–खड्का समूहले देशी विदेशी शक्तिको समर्थनमा राम्रै भोट ल्याउने कांग्रेसकै कतिपय नेताहरुको निष्कर्ष छ । खुमबहादुरले साथ छाडेपछि देउवा कमजोर भएको आाकलन गर्दै सुशील कोइराला शेखर कोइरालाहरुले साथ नदिए पनि जित्ने अपेक्षा गरिरहेको छ ।

khum-bahadur-khadka_83140_75866
देउवा पक्ष यसपटक विगतमा जस्तो सुशील कोइरालाको पक्षमा माहौल नरहेको, उनले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर पदलोलुपता देखाएको जस्ता कारणले सभापति जित्ने कुरामा ढुक्क छ ।
सुशील, शेरबहादुर र रामचन्द्र तीनै जना सभापतिमा चुनाव लडेको खण्डमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याउने र पुन: दोस्रो चरणमा चुनाव हुनेछ । कांग्रेसको विधानमा सभापति हुनका लागि ५१ प्रतिशत भोट ल्याउनैपर्छ । दोस्रो पटक हुने चुनावमा पहिलो र दोस्रो मत ल्याउनेबीच प्रतिस्पर्धा हुनेछ । शेखर कोइरालाहरु पहिलो चरणमा पौडेलतिर लाग्नेछन् । यदि पौडेलले सबैभन्दा कम मत ल्याएर बाहिरिएपछि देउवा र सुशीलबीच चुनाव हुनेछ । त्यो प्रतिस्पर्धामा शेखर कोइरालाहरु देउवातिर लाग्ने कांग्रेसकै एक नेताले बताए । ती नेताका अनुसार पहिलो चरणमा पौडेलतिर लागेर सुशील कोइरालालाई सभापतिमा उम्मेदवारी दिनबाट रोक्ने योजना पनि शेखरहरुको छ । शेखरमात्र होइन, यो अभियानमा अर्जुननरसिंह केसी, उनका ज्वाई गगन थापा पनि सामेल रहेका छन् । सुशील रोक्न नसके दोस्रो चरणमा हुने सभापतिको प्रतिस्पर्धामा शेखर सहित केसी, थापाहरु देउवातिर लाग्नेछन् । सुजाता कोइराला खुलेर सुशील कोइराला विरुद्ध नलागे पनि शेखरले सुशीललाई छोडिसकेको स्रोतको दाबी छ । पहिलो चरणमा सोझै देउवातिर नलागी दोस्रो चरणमा मात्र उनीहरु लाग्नेछन् । डा. शेखरले सुशील कोइरालालाई पदलोलुप साबित गरी महाधिवेशनमा सिध्याउनकै लागि प्रधानमन्त्रीमा उम्मेदवार बनाएको चर्चा पनि कांग्रेसबृत्तमा हुने गरेको छ । तर महामन्त्री हारे पनि जिते पनि खुमबहादुरले भने शेरबहादुरलाई साथ नदिनेगरी चिढिएको स्रंोतले बतायो ।
सुुशील कोइराला सभापतिमा उम्मेदवार नभएको खण्डमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिने भएका छन् । अर्का महामन्त्री प्रकाशमान सिंह सुशील वा रामचन्द्र कतै पनि खुलेका छैनन् । उनी जतातिर उपसभापति पद सुरक्षित रुपमा जित्न सकिन्छ त्यतै लाग्ने मनस्थितिमा रहेको बुझिएको छ ।दृष्टिबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार