लोग्ने मान्छे पनि रुन पाउनुपर्छः राजेश हमाल


rajeshhamal

महिला र पुरुष बनाउने प्रकृतिले ती बाहेक अरु पनि लिङ्ग बनाइदिएका छन् । प्रकृतिको देन चमत्कारिक छ । एक अर्कालाई प्रकृतिले एकै प्रकारको बनाएको छैन ।
लिङ्गको कुरा गर्दा कुनै एकको विषय त्यही लिङ्गमा मात्र सीमित हुँदैन । पुरुषको कुरा गर्दा महिला पनि जोडिएर आउँछ । महिला इस्युमा पुरुषको कुरा पनि आउँछ । महिलाको विषयवस्तु उठाउँदा त्यो महिलाले गर्दा मात्र स्थापित हुन्छ भन्ने होइन । त्यसका लागि पुरुषको पनि

आवश्यकता हुन्छ ।
महिला–पुरुष बराबरीको कुरा पनि अर्कोतिर छ । ‘महिला र पुरुष समान हुन्’ भन्न पनि सकिन्छ । तर, हामी समान चाहिँ होइनौं । उस्तै छैनौं । महिला र पुरुष जैविकरुपमै फरक छौं । जन्मिदैं पनि फरक स्वभाव लिएर आएका छौं । तर, पुरुषको ‘पौरष’ जन्मसिद्ध अधिकार होइन । पौरष (Masculine) समाज, संस्कृति, परम्परा, रितिरिवाज, परिवारले स्थापित गराउँदै आएको हो ।

हाम्रो समाजमा ‘लोग्नेमान्छे भएर रुनु हुँदैन’ भनेर बच्चा देखि नै सिकाइन्छ । दिदी र भाई खेल्ने क्रममा भाई रोयो भने ‘ए ! छोरा मान्छे रुने हो ?’ भनिन्छ । त्यसले सानैदेखि ‘ओहो ! म त छोरा मान्छे हो’ भन्ने दम्भको विजारोपरण हुन्छ । तर, महिला र पुरुषबीच धेरै कुरा फरक छ । पुरुष–पुरुषबीचमा पनि फरक छ । एउटा महिला र अर्को महिलाबीचमा पनि भिन्नता पाइन्छ । कोही अग्लो, कोही पुड्को, कोही बलियो, कोही कम बलियो, कोही बुद्धिमान, कोही कम बुद्धिमान, कोही निडर ! यसले मानिसबीचको फरकपना देखाउँछ ।
पौरषको विषय विश्वव्यापी मान्यता नै हो । जसरी पूर्वीय देशमा पौरषलाई केन्द्रमा राखिन्छ, त्यस्तै पश्चिमा देशमा पनि यो विषयको सोचमा भिन्नता पाइन्न । पश्चिमाहरुले पनि ‘लोग्नेमान्छे’ मा यो–यो गुण हुनुपर्छ भनिन्छ । उनीहरुले पनि लोग्नेमान्छेले भावना देखाउनु हुँदैन, आफ्ना कुरा व्यवहार र अनुहारमा झल्किनु हुँदैन भनेर मान्यता राख्छन् । लोग्नेमान्छेले सबै कुरा साहसिक रुपमा लिनुपर्छ भनिन्छ ।
तर, ती मान्यतामा म सहमत छैन । असहमति यसकारणले पनि होला कि ‘म कलाकार हुँ’ । कलाकारले भावनालाई व्यक्त गर्नुपर्छ भन्छु । किनभने भावना व्यक्त गर्नु मनुष्यको सशक्त गुण हो । एउटा सशक्त हतियार पनि हो । मनुष्य भएर जीवन जीएपछि मनुष्यका भावनाहरु सहिढंगले प्रकट गर्नु सक्नुपर्छ । त्यसलाई महशुस गर्नु सक्यो भने जीवन पूर्ण र सार्थक हुन्छ ।
जब हामी ‘छोरा मान्छेले भावना देखाउनु हुँदैन’, ‘त छोरा मान्छे होस्’ , ‘दुःख देखाउनु हुँदैन, पीर देखाउनु हुँदैन, हाँसी हाँसी हिड्नुपर्छ’ भनिरहेका हुन्छौं । त्यो बेला कहिकहि भित्री रुपमा भने उकुसमुकुस भइरहेका हुन्छौं । हामी हाम्रो स्वाभाविक भावनालाई बग्न दिँदैनौं । स्वाभाविक भावना बग्न नदिंदा त्यो सार्थक हुँदैन । तर, दुःख र खुशीको भावनाहरु महशुस गर्ने व्यक्ति नै सच्चा पुरुष र सच्चा महिला हो ।
यदि तपाईंमा दुःखको भावना छ भने त्यो क्षणमा दुःख प्रकट गर्न सक्नुपर्छ । नक्कली हाँसो हाँसेर केही फाइदा छैन । रुन मनलाग्छ भने रुनुहोस् । किनकी तपाईं पनि मानिस हो । र, रुनु पनि मानिसको गुणमध्ये एक हो । रुने, हाँस्ने भनेको प्रतिक्रिया हो । माया पनि । मायाको मामलामा पुरुषले लगाम लगाएर माया व्यक्त गर्नुपर्छ भनिन्छ । तर, त्यसले महिलालाई मायाबाट बञ्चित हुन बाध्य गराउँछ । यदि माया व्यक्त गरेको खण्डमा जीवन सार्थक बन्छ । त्यसकारण लोग्नेमान्छेले भावना नलुकाऔं । आफूले महशुस गरेको भावना व्यक्त गरौं ।
गोपाल शिवाको ब्लग पोस्ट बाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार