दिलिप सरले भन्नु भयो :पाइथागोरसहरु गणितज्ञ मात्रै थिएनन्, दार्शनिक पनि थिए ।


लिलाराज खतिवडा

एकाबिहानै दिलिप सरको निधनको खबरले स्तब्ध
तुल्यायो । तत्काल मनले बिगतमा हाम्फाल्न पुग्यो
। दिलोदिमागमा राधिका माविको आभा घुम्न
थाल्यो । त्यो कम्पाउण्ड, ती कक्षाहरु, अनि
दिलिप सरको होचो कद, तर उच्च सोच सल्बलाउन
पनि थाल्यो । उहाँले सिकाउनु भएका कुराहरु याद
आउन थाले ।
राधिका मावि पुग्नुपूर्व हाटखोलाको पुछारमा
दिलिप सरको एउटा स्यानो तर चिटिक्क परेको
सफा घर थियो । आजको भाषामा त त्यो एक
झुपडी लाग्ला तर त्यो केवल एउटा घर थिएन । त्यो
एउटा धरोहर थियो । मलाई स्पष्ट के याद छ भने
त्यहाँ बराण्डामा लहरै गमलाहरु हुन्थे र तिनमा
ढकमक्क अनेक थरी फूलहरु फुलेका हुन्थे । स्कूल जाँदा
र आउँदा हामीलाई ती फूलहरुले लोभ्याउँथे । र,
त्यसरी नै लोभ्याउँथ्यो दिलिप सरको क्लासले । ९
मा पुगेपछि मात्रै दिलिप सरको कक्षामा बस्न
पाईयो । उहाँ हामीलाई अनिवार्य गणित पढाउनु
हुन्थ्यो । मलाई अंक गणित र बीज गणित झर्को
लाग्थ्यो । तर, ज्यामिति भने चाख लाग्थ्यो ।
दिलिप सरले यति बुझाएर ज्यामिति पढाउनु हुन्थ्यो
कि कक्षामा कहिल्यै ‘बोर’ हुँदैन थियो । हातका
औंलाहरुले कोण वा त्रिभूजहरु बनाइ–बनाइ उहाँ
हामीलाई बुझाउने गर्नु हुन्थ्यो । कालोपाटीमा
उहाँ अति आकर्षक अक्षरहरु लेख्नुहुन्थ्यो । जसलाई
खातामा सार्न हामीलाई किञ्चित् अप्ठ्यारो
हुँदैन थियो । गणित पढाए पनि दिलिप सर कुनै
सिद्धान्त पढाएजस्तो धाराप्रवाह ‘क्लास’
लिनुहुन्थ्यो ।
त्यसो त दिलिप सर अंग्रेजी पनि पढाउनु हुन्थ्यो ।
तर, हामीलाई भने अंग्रेजी सर नआएका बेला मात्रै
यदाकदा उहाँले अंग्रेजी पढाउनु भयो । दिलिप सर
अनुशाशित विद्यार्थीहरुलाई मित्रवत् ब्यवहार
गर्नुहुन्थ्यो भने उद्दण्डहरुलाई सजाय दिन पनि पछि
पर्नुहुन्न थियो । दिलिप सरको नाम वा उपस्थितीले
मात्रै पनि सबै थरर्र हुन्थ्यौं । तर, जब कक्षामा
पढाउन थाल्नुहुन्थ्यो, एउटा मृदु मुस्कान उहाँको
चेहरामा नाच्न थाल्थ्यो । नरम लवजमा उहाँ
हामीलाई पाठका तरेलीहरु खन्न सिकाउनु हुन्थ्यो र
यो नै उहाँको खासियत् पनि थियो । झारा टार्ने
वा अल्छि पारामा उहाँ कहिल्यै कक्षामा पेश
हुनुहुन्न थियो । उहाँमा हमेशा एक अदम्य साहस र
अथाह उर्जा देख्न र महसूस गर्न पाईन्थ्यो ।
दिलिप सरको हातमा यदाकदा एउटा लट्ठी देख्न
सकिन्थ्यो तर त्यसले उहाँले बिरलै कसैलाई सजाय
दिनुभयो होला । सजाय दिनुपर्दा उहाँ कानको
लोती दोबारेर आफ्ना औंलाहरुको दवाव क्रमशः
बढाईदिनु हुन्थ्यो । हामी भुतुक्कै ! सजाय दिने यो
शालिन पारा र आफ्नो बहुमुखी प्रतिभाका कारण
नै उहाँ जेहन्दार छात्र–छात्राहरुबीच औधि
लोकप्रिय पनि हुनुहुन्थ्यो ।
एउटा शिक्षक फगत् प्राविधिक हुनसक्छ । उसले
बुझेको कुरो स्पष्ट विद्यार्थीलाई बुझाउन नसक्न
पनि सक्छ । तर, दिलिप राई जस्ता कुशल र विलक्षण
गुरूको हातमा परेपछि जस्तै लद्दुहरुको पनि
दिमागको बत्ती बल्नु सामान्य हुन आउँथ्यो ।
दिलिप सर एउटा शिक्षकबाट बढेर एउटा गुरु
हुनुहुन्थ्यो । गुरु हमेशा एउटा शिक्षकभन्दा माथि र
बहुआयामी हुन्छ । गुरु सम्पूर्ण हुन्छ । उसले पढाउने
मात्रै गर्दैन, सिकाउँछ र जगाउँछ पनि । पढ्नु र सिक्नु
नितान्त अलग कुरा हुन् । अहिले विश्वमा
‘सिकाइ’का अनेक आयामहरुका वैज्ञानिक
पद्दतिहरु विकास भएका छन् । तर, दिलिप सरले
उहिल्यै यस्तो आधुनिक पद्दतिले हामीलाई
सिकाउनु हुन्थ्यो । र, गणित जस्तो विषय पनि
सबैका लागि सरल र चाखलाग्दो हुन पुग्थ्यो ।
धेरैभन्दा धेरै विद्यार्थीहरु जसलाई गणित कैयन पहाड
छिचोले जस्तो हुन्थ्यो तर दिलिप सरको
सान्निध्यले जादुको काम गरिदिन्थ्यो । यो
उहाँसँगको मेरो आफ्नै अनुभव पनि हो । दिलिप सर
विद्यार्थीहरुलाई नामले भन्दा पनि थरले
बोलाउनुहुन्थ्यो । उहाँको आवाजमा एक खतरा
कमाण्ड झल्किन्थ्यो । उहाँको कुनै पनि आज्ञा
वा गृहकार्य नगर्नु भनेको त्यो कमाण्डिङ्ग
आवाजको आक्रमण हुन पुग्थ्यो तर, उहाँको
आज्ञापालन गरेको खण्डमा फेरि त्यही खतरा
आवाज नौनी जस्तो हुन पुग्थ्यो, एक उर्जामय
मुस्कानको रसायनमा मिसिएर ।
हुन त दिलिप सर मेरा बुबा (स्व.दुर्गाप्रसाद) का
मित्र हुनुहुन्थ्यो । मेरा बुबा स्थापनाकालदेखि नै
राधिका माविमा पढाउनुहुन्थ्यो । त्यसैले स्कूलमा
मैले ज्यादा सम्हालिनु पथ्र्यो । शिक्षकहरुका बीच
र पढाइका मामिलामा म अलिक जेन्टलमेन पेश
हुनुपथ्र्यो । मैले भन्न खोजेको के हो भने, आफ्नो
बुबा पनि त्यहाँ पढाउने भएपछि मलाई भने सबै
शिक्षकहरुको आफूमाथि नजर अधिक महसूस हुन्थ्यो
। दिलिप सरको पनि ममाथि मिहिन दृष्टि पाउँथे ।
तर, उहाँ सबैलाई समान ब्यवहार गर्नुहुन्थ्यो ।
एसएलसी पश्चात पनि धेरै पटक दिलिप सरलाई भेट्ने
मौकाहरु मिले । उहाँ सबै हाल खबरहरु क्रमशः सोध्दै
जानुहुन्थ्यो । पढाइको, घरको, उद्देश्यहरुको, अगाद
स्नेहले भरिएका उहाँका सवालहरुको शान्त र सत्य
भावमा जवाफ दिनु कहिलेकाहिँ म जस्ता
बवूरालाई सकसमय पनि हुने गथ्र्यो ।
केही बर्ष अघिको कुरो हो । दिलिप सर राधिका
माविमा प्रधानाध्यापक हुनुहुन्थ्यो । राजधानीमा
रहेर पत्रकारिता गर्ने म गाउँ आउँदा बेला–बेला
आफूले पढेको विद्यालयको भ्रमण गर्न रुचाउँथें । एक
दिन बिना कुनै योजना म दिलिप सरलाई भेट्न पुगें ।
अनि मैले उहाँलाई भने, ‘सर, म तपाईंसँग एक पटक फेरि
ज्यामिति सिक्न चाहन्छु ।’ उहाँ पुरानै पाराले
मुस्कुराउनु भयो । अनि आफ्ना चिम्सा आँखाले मेरा
आँखा घोच्दै सोध्नुभयो, ‘किन ?’
मैले जवाफ दिएँ, ‘म दर्शनको अध्ययन पनि गरिरहेको
छु । ज्यामितिको पोख्त ज्ञान बेगर दर्शन बुझ्न
सकिदैँन । एसएलसीपछि मैले गणित पढेको छैन ।
त्यसैले…।’
दिलिप सरले भन्नुभयो, ‘टोलमी, पाइथागोरसहरु
गणितज्ञ मात्रै थिएनन्, दार्शनिक पनि थिए ।
तिम्रो इन्ट्रेष्ट मैले बुझें ।’ त्यस दिन उहाँसँग मैले
लामो कुराकानी गरेको थिएँ । आफ्ना कैयन
ज्यामितीय जिज्ञासाहरु त्यो कुराकानीमा
समाधान भएको मैले पाएको थिएँ । त्यस दिन उहाँले
मलाई एउटा ‘क्लास’ लिने मौका दिनुभयो । कक्षा
९ का खचाखच विद्यार्थीहरुका सामु मलाई
उभ्याएर उहाँले कक्षालाई भन्नुभयो, ‘यो दाजुले यसै
स्कूलमा पढेको हो । उसले तिमीहरुलाई ब्यक्तित्व
विकासका सन्दर्भमा केही बताउने छ, ध्यान दिएर
सुन्नू ।’
अनि उहाँ कार्यालयतिर जानुभयो । म शुरु भएँ ।
मलाई एउटा ‘पिरियड’को समय दिइएको थियो ।
विद्यार्थीहरुलाई शान्त गर्न नै मलाई करिब १०
मिनेट लागेको थियो । क्लास अलिक लामै हुँदै गयो
। एक घण्टा नाघ्न लागेका बेला दिलिप सर
ढोकामा टुप्लुक्क आइपुग्नु भयो र भन्नुभयो,
‘खतिवडा, योर टाइम इज ओभर ।’ मैले सरलाई अरु
पाँच मिनेट समय मागेँ र कक्षामा आफ्नो कुरा सकेँ ।
केही महिनाअघि फेसबुकमा दिलिप सरलाई अचानक
भेट्टाएँ, अनि रिक्वेस्ट पठाएँ । भोलिपल्ट उहाँले
एसेप्ट गर्नुभएको थियो । यसरी प्रविधिको
विकासले मलाई एकपटक फेरि आफ्ना गुरुसँग
जोडिदिएको थियो ।
तर, हिजो बिहान अचानक त्यही फेसबुकमा दिलिप
सरको असामयिक निधनको खबर सुन्नु प¥यो । र,
यसले निश्चय नै मलगायत सबैलाई मर्माहत तुल्यायो ।
हामीले एक बहुमुखी गुरुलाई गुमायौं । मृत्यु जीवनको
अपरिहार्य सत्य र कठोर यथार्थ हो । यसलाई
स्विकार गर्नु बाहेक हामीहरुसँग अर्को बिकल्प छैन ।
दिलिप सरको शरिर अब नरहे पनि उहाँले उत्पादन
गरेका कैयन विद्यार्थीहरुले उहाँबाट पाएको ज्ञान
बनेर उहाँ जगतमा अमर हुनुहुन्छ । सम्पूर्ण उर्लाबारीले
शिक्षाको क्षेत्रमा उहाँबाट पाएको योगदानका
कारण उहाँ अमर हुनुहुन्छ । र, उहाँको यस योगदानको
यहाँ कदर हुन बाँकी नै छ । सारा जीवन शिक्षण
पेशामा समर्पित गर्नुभएका अथक योद्धा दिलिप
सरमा हार्दिक श्रद्घाञ्जली अर्पण गर्दछु र शोक
सन्तप्त परिवारमा समवेदना ब्यक्त गर्दछु । उहाँको
आत्मा परम् शान्तिमा लीन होस् ।निगरानी दैनिकबाट

Loading...

यसमा तपाइको मत

अन्य समाचार