माओवादी पुनर्गठनको बाँसुरी


bhawani baral

भवानी बराल

ड्यास माओवादीका नेता लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन् –‘हारेर पनि इतिहास गौरबपूर्ण हुन्छ, जस्तो पेरिस कम्युन । तर हामीले जित्दाजित्दै पनि जितेको इतिहास नजोगिने खतरा बढेको छ । अन्तिम जितसंगै नयाँ इतिहास लेख्नको लागि माओवादी आन्दोलनको पुनर्गठन जरुरी छ तर विचारको आलोकमा ।’

माओवादी आन्दोलन पुनर्गठनको जम्माजम्मी सिद्धान्त यति नै हो । यति नै कुराले माओवादी आन्दोलन नयाँ शिराबाट सुरु हुन्छ ? यहि सिद्धान्तको भरमा पुनर्गठनको मेलो सर्छ ? विभाजित माओवादी पार्टीको एकीकरण नै माओवादी आन्दोलनको पुनर्गठन हो ? या कुनै नयाँ नौतुन कार्यदिशा पनि छ, पुनर्गठनका अभियानकर्ता संग ? यि सबै प्रश्न अनुत्तरित भैरहँदासम्म माओवादी आन्दोलनको पुनर्गठन ‘बुद्धि बिलास’का तुरुपमात्रै बन्छ । मेरो विचारमा माओवादी आन्दोलनको पुनर्गठन यति नै कुराले सम्भव छैन् । माओवादी आन्दोलनको अवतरण ०६२ सालको चुनबाङ बैठकले ‘यु टर्न’ गरिसकेको हो । विगतमा माओवादी आन्दोलनको क्षमता देशी, विदेशी र क्षेत्रीय राजनैतिक सन्तुलनले सिमित गरिदियो । त्यसै बमोजिम चुनबाङको कार्यक्रम पुरा भयो । संघीयता, गणतन्त्र र लोकतन्त्रलाइ माओवादी आन्दोलनले स्थापित गरेको छ, भलै संस्थागत भैनसकेको किन नहोस ।

माओवादी आन्दोलनको अबको बाटो पुनर्गठन हैन ‘नयाँ रचना’ हुनु पर्छ । पुनर्गठन त केबल संसोधन, परिमार्जन मात्रै हो । पुनर्गठनले माओवादी आन्दोलनको सार खिच्दैन । जुन आन्दोलनको क्षमतासंग सम्बन्धित छ । झापा आन्दोलन पनि माओवादी आन्दोलन थियो । ‘चिनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’ जस्तो अघोरी किसिमको माओवादी आन्दोलन थियो । आङ तान्दा, हाइ काट्दासम्म ‘माओ’ उच्चारण गर्दै जप्नु पर्ने, माओकै शैलीको कोट, टोपी पहिरिनु पर्ने जडसूत्रीय माओवादी आन्दोलन थियो । ‘एक कमिटी, एक स्क्वार्ड, एक एक्सन’वाला त्यो आन्दोलन भारतीय नक्सलवादी आन्दोलनको पूर्ण प्रतिलिपि थियो । नक्सलवादी आन्दोलनसंगै झापा आन्दोलनको पनि पतन भयो । चारु मजुमदारले नेतृत्व गरेको आन्दोलन त्यसपछिका नेतृत्व जौहर र विनोद मिश्रसम्म आइपुग्दा भाकपा (लिबरेसन) नाममा पतन भयो । सत्तरीको दशकमा उठेको नक्सलवादी आन्दोलन पुनर्गठन भएन । वर्तमानको भारतीय माओवादी आन्दोलन नक्सलवादी आन्दोलनबाट पाठ सिकेर नयाँ रचना गरिएको आन्दोलन हो, पुनर्गठन होइन । जसको चरित्र र विशेषता नित्तान्त फरक छ भलै भारत सरकारले त्यो आन्दोलनलाइ ‘नक्सली’ नाम किन नदिएको होस ।

झापालीहरुले थालेको नक्सलवादी आन्दोलनको प्रतिलिपि माओवादी आन्दोलन पनि पनुर्गठन भएन । वि.सं. ०५२ फागुनदेखि सुरु भएको माओवादी आन्दोलन झापा आन्दोलनको पुनर्गठन पनि होइन, थिएन । माओवादीले सुरु गरेको आन्दोलन त नयाँ आधारमा नयाँ रचना गरिएको आन्दोलन थियो । आन्दोलनका पात्रहरु नयाँ थिए । आन्दोलनको प्रकृति, चरित्र, विशेषता र मैदान पनि अलग थियो । झापाली माओवादी आन्दोलन ‘वर्ग शत्रु खत्तम’ अभियानबाट सुरु भएर ‘वर्ग व्यवस्था उत्तम’मा पुगेर टुङ्गियो । माओवादीले थालेको आन्दोलनको रुपरेखा अलग्गै यस अर्थमा नयाँ रचना थियो ।

यतिखेर पुनर्गठन शब्द विभाजित माओवादी संगठनमा ‘पुनर्जलीय’ उपचार गर्न ल्याइएको छ । तर माओवादी आन्दोलनको पुनर्गठन अब सम्भव छैन् । उद्रेको या फाटेको भए टाल्नसम्म मिल्ने थियो । तर, पुरै मक्किएपछि टाल्नु सिउनु बेकारै हुन्छ । पुनर्गठनले गर्ने जम्माजम्मी माओवादीलाइ एक ठाउँमासम्म ल्याउला तर माओवादी आन्दोलनको बाटो तय गर्न भने सक्तैन । तिनै पात्र, त्यहि चरित्र, विशेषता बोकेका पात्रहरुले पुनर्गठन गरेको आन्दोलन नामको त होला सारको हुने छैन । यसैले पुनर्गठनले ल्याउने परिणामले माओवादी आन्दोलनको रुपरेखा कोर्दैन ।

पुनर्गठन शब्द समसामयिक राष्ट्रिय राजनीतिको प्रतिक्रियास्वरुप आएको शब्दावली पनि हो । ‘जनयुद्धकालीन’ समयमा हिंसात्मक गतिविधिमा भएका ज्यादती, मानवअधिकार हनन आदि घटनाबाट बच्ने उपायस्वरुप पनि आएको छ । यस किसिममा प्रतिक्रियास्वरुप आउने शब्दावली ‘पतली गल्ली’ बाट भाग्ने अभीष्ट हो । इतिहासबाट सिकेर अगाडि जाने भन्दा पनि परिस्थिति अनुकुल बनाउने तर्फ केन्द्रित छ । यसर्थ पुनर्गठन अमूर्त नारा हो, भलै यसलाइ विचारको आलोकमा भनेर नै किन नभनिएको होस् ।

मन, बचन र कर्मले माओवादी आन्दोलनलाई स्थापित गर्न पुनर्गठनको सहारा चाहिन्न । तिनै पात्र र चेहरालाइ लिएर माओवादी आन्दोलन स्थापित हुन पनि सक्तैन । लेनिनले एक ठाउँमा भनेका थिए –‘मानिस जुनसुकै बेला सामान्त बन्न सक्छ ।’  उनको यो भनाइको आधारमा माओवादी आन्दोलनका हिजोका चेहराहरु, पात्रहरु आजभिन्न रुपमा विकसित भैसकेको नाङ्गो आँखाले देख्न सकिन्छ । अपवादमा कोही भए बेग्लै कुरा नत्र आम माओवादीको वर्ग फेरिइसकेको छ । उनीहरुले सर्वहारा वर्गको आन्दोलनमा आइदेलान भनेर कल्पनासम्म गर्नु बेमुनासिव हुन्छ ।

माओवादी आन्दोलनको बिरासत बोकेका पार्टी आधा दर्जनमा चिरा परेका छन् । संसदवादी दलले पाएको मतादेशबाट विस्तारै पेलानमा पर्दैछन् । सबैको नियति बालकृष्ण ढुंगेलको हुने सम्भावनातर्फ अग्रसर छ । पार्टी संगठन माथिबाट धुलीसात हुँदैछ । तल जग खुस्केको खुस्क्यै छ । भुँइमा जगको रुपमा चट्टानसरी उभिएका कार्यकर्ता अरबको मरुभूमिमा जनजिविकाको खोजीमा भौंतारिएका छन् । समर्थकहरु लाखापाखा लाग्ने वा चुपचाप बस्ने क्रममा छन् । पार्टी संगठन त छ तर, जति सदस्य छन् त्यति मत पनि आउँदैन । गत संविधानसभा निर्वाचनमा एमाओवादीले बनाएको साधारण सदस्यको संख्या भन्दा पनि कम मत कतिपय निर्वाचन क्षेत्रमा आएको थियो । माओवादी शान्ति प्रक्रियामा आएका अवसरवादीहरुले समेत पार्टी परित्याग गर्दै माओवादीलाइ बाइबाइ गरिसकेका छन् । तिनले कतिसम्म नपत्याएको देखियो भने माओवादीलाइ छोडेर राप्रपा नेपालमा जानु भनेको यसैपनि उराठलाग्दो कुरो हो । एमालेबाट माओवादीमा आएका ‘भिष्मपीतामह’हरु पनि एमालेमै फर्किसकेका छन्, बाँकी फर्कने साइत कुरिरहेका छन् ।

संस्थापन पक्ष भनिएको एमाओवादी सिद्धान्तहीन, नीतिहीन झुण्डमा परिणत भैसकेको छ । संसदवादको आहालमा जाक्किएको छ । खसीको टाउको झुण्डयाएर कुकुरको मासु बेच्ने कुकर्ममा लागेको छ । विभाजित ‘बि’ (बैद्य) माओवादी अकर्मण्यताको सिकार भैसकेको छ । ‘सी’ (चन्द) माओवादी क्रान्तिकारी रोमान्सको रिहर्सलमा छ । अन्य माओवादी कुहिराकोे काग झै हावामा कावा खाइरहेका छन् । यस्तो अवस्थामा माओवादीको ‘ट्रेड मार्क’ मर्जरले के काम गर्छ ? पुनर्गठनले माओवादीको एकताको हौवासम्म ल्याउने काम गर्ला तब उप्रान्त यसको न भूतो न भविष्यति ।

जहाँसम्म विचारको आलोकमा पुनर्गठन गर्ने प्रस्ताव गरिएको छ त्यो विचारको आलोक भनेको के हो ? जनयुद्धको जगमा जन विद्रोह, गाउँले सहर गर्ने उही ऐजन दीर्घकालीन जनयुद्ध कि कुनै अलग सूत्र छ ? एमाओवादीको हेटौडा महाधिवेसनले ल्याएको शान्तिपूर्ण समाजवादी क्रान्तिमा रुपान्तरण कि ड्यास माओवादीले खोकेको जनयुद्धको जगमा जनविद्रोह या ‘सि’ माओवादीको बाटो ? प्रश्नै प्रश्नको चक्रब्युहमा पुनर्गठनको अभियान फसेको छ । पेरिस कम्युन जस्तो ऐतिहासिक घटनाको उच्च मूल्याङ्कन गर्नु राम्रो पक्ष होला तर, पेरिस कम्युनले देखाएको बाटो पुनर्गठन होइन नयाँ रचना हो । पेरिस कम्युनको बाटो हिँडे असफलता हात लाग्छ भन्ने सन्देश हो ।

रहलपहल
वर्तमानको राष्ट्रिय राजनीतिले संविधान निर्माणको कुम्भमेला सकेर एक थान खोस्टो कागज लिएर आएको छ । पहिचान सहितको संघीयता पक्षलाइ दर किनार गर्दै वर्ण शङ्कर संघीयतामा जनतालाई झुक्याउने खेतीमा लागेको छ । अब पहिचान पक्षधर र पहिचान विरोधी मुद्धामा राजनीति धु्रबीकृत हुँदैछ । पहिचान चाहने पक्ष र विपक्षबीच भूसको आगो सल्कने क्रममा छ । नेपाली जनताबीचको आधारभूत अन्तरविरोध खुट्टिने क्रममा छ । न्यौपानेले लेखेझैं माओवादीले जितेको इतिहास नजोगिने खतरा मात्र हैन मुलुक नै गम्भीर संकटको नजिक छ । यतिखेर ठोस परिस्थितिको ठोस विश्लेषण हैन बेहोस विश्लेषण भै राखेको छ । संघीयता नै धरापमा पर्दै गएको वर्तमानको विश्लेषणमा माओवादीको आन्दोलनको पुनर्गठन यस्तै अमूर्त विश्लेषण हो । पुनर्गठन सिद्धान्तले केबल माओवादी समर्थकहरुलाई ‘मुङ्गेरीलाको हसिन सपना’मा विचरण गरेर मनोगत मनोरञ्जन मात्रै गराउँछ । माओवादी आन्दोलनको नयाँ रचना नगरे पेरीस कम्युन झै पतनहुने कुरा कसैले रोकेर सक्तैन ।विजय पुर् अनंलाइनबाट

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार