बिश्वकै विख्यात गन्तब्य रसुवाको लाङटाङ खतरामुक्त बन्दै


langtang

bनाशकारी भूकम्प गएपछि सबैभन्दा कहालीलाग्दो क्षति व्यहोरेको विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रसुवाको लाङटाङ अहिले खतरामुक्त बन्दै गएको छ।
हिमपहिरोले सिंगो मावन बस्ती नै पुरिएर बगर एवं मरभूमिझैँ बन्न पुगेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत र पुनःनिर्माणपछि आवतजावतमा सहज भएको हो। स्थानीय र विदेशी तथा स्वदेशी पर्यटकहरू गरी ५ सय भन्दा बढी नागरिककको ज्यान लिएको घटनापछि उजाड बनेको यो बस्तीबाट थातथलो छोडेर हिँडेका बाँचेका बाँकी स्थानीयहरू पनि अहिले गाउँ फर्किसकेका छन्।
जिल्ला प्राविधिक कार्यालय रसुवाका प्रमुख इन्जिनियर मदनमोहन श्रेष्ठका अनुसार लाङटाङ पदमार्ग मर्मत⁄निर्माणपछि स्याफ्रुबेंसी– खामजिङ–सेर्पागाउँ–रिम्चे हुँदै लाङटाङ क्याङ्जेनसम्म यात्रा गर्न सहज वातावरण भइसकेको छ। उहाँले पैदल मार्गको स्थलगत निरीक्षणपछि नेपालको तेस्रो पर्यटकीय गन्तव्य भूकम्पले क्षति पुर्याउँदा तत्कालीन अवस्थामा मानवीय उद्धार कार्यक्रम अन्तर्गत ११६ घर परिवारका ४९६ जनालाई हेलिकोप्टरबाट धुन्चेसम्म ल्याउने लाने व्यवस्था गरिएको जानकारी दिनुभयो।
हाल जिविस रसुवा मार्फत लाङटाङ खोलाको असहज गहिरो खोंचको बाटालाई छाडी सुरक्षित क्षेत्रको उक्त स्थानको पैदल मार्ग मर्मत⁄निर्माण गरी स्थानीयवासी र पर्यटकको ओहरदोहरमा सहज बनाइएको छ। ‘भूकम्पसँगै आएको पहिराले पुरेको लाङटाङ गाउँ हेर्न आतुर रहेका सयौँ पर्यटक बाटामा ओहोरदोहर गरिरहेको अवस्थामा भेट्यौँ’, इन्जिनियर श्रेष्ठले भन्नुभयो, ‘अब पैदल हिँड्न समस्या हुँदैन, मानविय र प्राकृतिक खतरा पनि छैन।’
भूकम्पपछि पर्यटकलाई लाङटाङ जान सरकारले अनुमति नदिए पनि आफ्नै हिसाबले मात्र पर्यटक जाने गरेको बताइएको छ। यस्तै भदौ महिनामा आफ्नो थातथलो फर्केका लाङटाङवासीलाई केही गैससको सहयोगमा हेलिकोप्टरले जस्तापाता लगायतका सामग्री ढुवानीमा निरन्तरता दिइरहेको स्थानीय बासिन्दाहरू बताउँछन्।
हिम पहिरोले बेपत्ता हुने एकसय ५ मध्ये लाङटाङ क्षेत्रमा केहीसमयअघिसम्म २३ वटा मानव कंकाल पहिरोबाट फेला पारिएको थियो। भेटिएका मानव कंकाल संकलन गरेर प्रहरीलाई राख्न पठाइएको छ। रसुवामा भूकम्पपछि आएको हिम पहिरो र सुख्खा पहिरोबाट १ सय ३४ जना हराइरहेकोमा त्यस मध्ये १ सय ५ जना लाङटाङ क्षेत्रमा मात्र वेपत्ता थिए।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अझैँ स्वदेशी र विदेशी पर्यटक गरी ८२ जनाको शव भेटिन बाँकी छ। ती मध्ये २२ जना विदेशी पर्यटक, २१ जना स्थानीय बासिन्दा र बाँकी अरू स्वदेशी पर्यटक र पोर्टरहरू बेपत्ता नै छन्। ‘भेटिएका मध्ये विदेशी कति र स्वदेशी कति भन्ने पहिचान प्राविधिक तथा डिएनए परिक्षणपछि मात्रै पत्ता लाग्छ’, प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले भन्नुभयो ‘बाँकीको पनि खोजी भैइरहेको छ।’
बैशाख १२ गतेको भुकम्पले रसुवा जिल्लामा ६ सय ७० जनाको मृत्यु भएको थियो। मृतकमध्ये एकै गाउँमा मात्रै हिमपहिरो खसेर लाङटाङ गाउँ पुर्दा विदेशी पर्यटक, गाइड, पोर्टर र स्थानीय गरी ४ सय भन्दामाथि बढी मानिस पुरिएका थिए न्युज अफ नेपालमा खबर छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार