सरकारलाई टिप्पणी गर्दा मृत्युदण्ड पो सहनु पर्ने ?


मानुषी ज्वाला

हामी प्राय: हाम्रो शासन व्यवस्थाले हामीलाई के दिएको छ भन्ने बिर्सिन्छौं । यद्यपि यसले हामीलाई विश्वकै गरिब देशका जनता बनाएको छ र पनि कम्तीमा हाम्रा केही छिमेकी देशभन्दा धेरै नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक अभ्यासको अवसर दिएको छ ।
सोच्नुस् त, तपाईंले फेसबुकमार्फ़त नै सही, सरकारका भ्रस्ट गतिविधिमाथि टिप्पणी गर्न सक्नुहुन्छ तर छिमेकी देशहरू चीन र बंगलादेशमा फेसबुक त बन्देज छ नै, सरकारमाथि गरिएको एउटा सानो टिप्पणीले तपाइँलाई मृत्युदण्डको मुखसम्म लैजान्छ ।
चीनमा बिबिसीलगायतका प्राय: सबै न्युज च्यानल प्रतिबन्धित छन् । प्रजातन्त्र शब्द उच्चारण गर्नुस् या कुनै दल खोल्ने विचार गर्नुस्, तपाईं भोलिपल्ट जेल पुग्नुहुन्छ । सबैभन्दा बढ़ी पत्रकार जेलमा छन् । तपाईंले के लेख्ने, के बोल्ने, के पढ्ने मात्र होइन कति वटा बच्चा जन्माउने भन्ने कुरासमेत एउटा पार्टीले निर्धारण गर्यो भने तपाइँलाई कस्तो लाग्ला ? पुलिस, आर्मी, प्रशासन, शासन र अदालत सबै एउटै पार्टीको नियन्त्रणमा भयो भने कस्तो न्यायको प्रत्याभूति गर्न सकिएला ?
छिमेकी देश पाकिस्तानमा अल्लाहविरुद्ध कुनै एउटा अभिव्यक्ति मृत्युदण्डका लागि पर्याप्त छ भने अल्पसंख्यक हिन्दूहरूको विवाह दर्तासम्म पनि हुँदैन ।
छिमेकी चीनमा सोच्नसम्म नसकिने अधिकार नेपाली जनतामा छ । हामी आफ्नो विचार अभिव्यक्त गर्न सक्छौं, छाप्न सक्छौं, सर्वजनिक स्थलमा भेला गर्न सक्छौं, सरकार या पार्टीको विरोध गर्न सक्छौं । भ्रष्टलाई भ्रष्ट भन्न सक्छौं, स्वतन्त्र आवागमन र दल रोज्न सक्छौं, अनलाइन सामाजिक सञ्जालमा जोडिन सक्छौं, विश्वभरका गतिविधिबारे जानकारी राख्न सक्छौं ।
धार्मिक, राजनैतिक, वैयक्तिक सबैखाले स्वतन्त्रता खोसिएको धनी देशको गरिब नागरिक बन्नुभन्दा गरिब देशकै स्वतन्त्र नागरिक बन्नुमा हामीलाई बढ़ी आनन्द हुन्छ शायद ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार