झुपडीमा बस्ने एउटा राजा : जो सामान्य जनतालाइ समेत लिफ्ट दिन्थे


२०५६ साल दसैँ टीकाको ठीक भोलिपल्ट। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुस्किल थियो।

201406016982-600x0.jpg

यस्तैमा एउटा कार ककनी हुँदै ओशो तपोवन रहेको गोलढुंगा भञ्ज्याङ आइपुग्यो। गाडीमा तीन यात्री थिए। एक जना चालक, सँगैको सिटमा उनकी श्रीमती अनि पछिल्तिरको सिटमा सैनिक बर्दी लगाएका अर्का एक पुरुष। कार चालकको आँखा गाडी नपाएर निराश र हतास मुद्रामा अघि बढिरहेको एक दम्पतीतिर पर्‍यो। तीमध्ये पतिले एक बालक बोकेका थिए भने बाँकी केटाकेटी हिँड्दाहिँड्दा थकित भइसकेकी पत्नीले समाइरहेकी थिइन्।

गाडी नपाएर यस्तो सास्ती भोगिरहेको दम्पतीका अघिल्तिर कार रोकियो। चालकले लोग्नेमान्छेसँग सोधे, “कहाँ पुग्ने हो ?” उनले जवाफ दिए, “भक्तपुरको सुडाल।” चालकले बच्चासहितका दम्पतीलाई कारमा बस्न अनुरोध गरे। अनि, बालाजु बाइपाससम्म ल्याएर छाडिदिए। त्यस कारका चालक अरू कोही होइन, राजा वीरेन्द थिए। साथमा थिइन्, रानी ऐश्वर्य। कारको पछिल्तिरका सैनिक बर्दीवाल राजा वीरेन्द्रका एडीसी महासेनानी सुन्दरप्रताप राना थिए। यो थियो, राजा वीरेन्द्रको सहृदयताको नमुना, जो १४ वर्षअघि १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा आफ्नो पूरै वंशसहित मारिएका थिए।

राजा वीरेन्द्रका बारेमा अक्सर कल्पना हुन्छ, उनको जीवनशैली, भव्य र विलासी थियो होला। उनी बस्ने दरबार पनि त्यस्तै भव्य थियो होला, जस्तो राणा शासकहरूको हुने गथ्र्यो। बोलीचाली त्यस्तै रवाफिलो थियो होला। तर, यस्ता सोचाइ र अनुमान विपरीतका थिए, राजा वीरेन्द्र। उनी सहृदयी र कोमल प्रकृतिका थिए। यो कुरा बुझ्न काफी छ गाडी नपाएर असिनपसिन बनेको त्यो दम्पतीलाई लिफ्ट दिएको घटना।birendra

 

 

मध्यमवर्गीय जीवनशैली

उनको दिनचर्या, बसाइ, रहनसहन, खानपिन पनि साधारण नै थियो, जस्तो आमनेपालीको हुने गर्छ। बाहिरबाट भव्य देखिने नारायणहिटी दरबारका बासिन्दा भए पनि उनको जीवनशैली मध्यम वर्गका नेपालीको जस्तै सरल थियो।

बाहिरबाट हेर्दा नारायणहिटी दरबार (हाल संग्रहालय) अहिले पनि भव्य देखिन्छ। तर, यो भव्यता नेपाल निम्त्याइने विदेशी राष्ट्राध्यक्ष सरकार प्रमुखका लागि मात्र ‘मेन्टेन’ गरिएको थियो। किनभने, नेपाल भ्रमणमा आउने ‘हाई प्रोफाइल’ अतिथिका लागि नारायणहिटीभित्रै बस्ने व्यवस्था गरिएको हुन्थ्यो। तर, राजा वीरेन्द्र आफूचाहिँ दरबारको उत्तर-पूर्वी दिशामा एउटा घरमा बस्थे, जुन ‘श्रीसदन’का नामले चिनिन्छ। नारायणहिटी परसिरमा रहेको त्यही श्रीसदन अहिले पनि इच्छुमती (टुकुचा) किनारमा उभिइरहेको छ, राजा वीरेन्द्रको सादगीपनको साक्षी बनेर।

बाहिरबाट हेर्दा यस्तो घरमा राजा बस्थे होलान् भनेर पत्याउन पनि मुस्किल पर्छ। विसं ०२८-२९ ताका निर्माण सम्पन्न भएको आफू बस्ने यो घरमा रंग लगाउन कहिल्यै आवश्यक ठानेनन् उनले। राजा वीरेन्द्रका तत्कालीन एडीसी उपरथी (अवकाश प्राप्त) टीका धमला भन्छन्, “न उहाँका कपडा रंगीविरंगी हुन्थे, न जीवन र रहन-सहन नै रंगीन थियो। त्यसैले आफू बस्ने घर पनि त्यस्तै रंगविहीन राख्न चाहनुभयो।”

भनिन्छ, कुनै व्यक्तिको बाहिरी जीवन कति तडकभडकपूर्ण छ भन्ने कुरा उसले लगाएको जुत्ताबाट थाहा हुन्छ, भित्री जीवनको तडकभडक उसको घरको बाथरुमबाट थाहा पाइन्छ। तर, श्रीसदनमा रहेका बाथरुमहरूले राजा वीरेन्द्रको तडकभडकरहित जीवनबारे अद्यापि बताइरहेका छन्। सामान्य खालका कमोड, बाथटब र धाराहरू। नारायणहिटी दरबार संग्रहालयका उपप्रमुख रोहित ढुंगाना भन्छन्, “मध्यमवर्गका मानिसको घरका बाथरुमभन्दा फरक देखिन्नन्, राजा वीरेन्द्रले प्रयोग गर्ने श्रीसदनका बाथरुम।”

डाइनिङ रुमका कुर्सी-टेबुल जति साधारण छन्, सुत्ने कोठा, खाट र ओछ्यान पनि त्यस्तै। अक्सर सहरवासी दम्पतीले आफ्ना लागि ‘डबल वेड’ पलङ प्रयोग गर्छन्, अलिक फराकिलो आकारका। तर, राजारानीले प्रयोग गर्ने पलङ डबल बेडको थिएन । पलङको आकार हेर्दा यो सुविधाजनक रूपले एउटा दम्पतीले प्रयोग गर्न मिल्ने खालको भन्दा पनि दुखम्-सुखम् दुई जना सुत्न मिल्ने मध्यम आकारको लाग्छ।

बैठक कोठामा राखिएका सोफा, टेबुल-कुर्सीहरूले पनि राजा वीरेन्द्रको सादगीपनाको झल्को दिन्छन्। राजकुमार नीराजन र राजकुमारी श्रुतिका कोठाका पलङलगायत सामग्री पनि त्यस्तै छन्।

राजा-रानीको कोठामा एउटा पुरानो सोनी कम्पनीको टेलिभिजन भेटिन्छ, अहिले पनि। ढुंगानाका अनुसार ०३६-०३७ सालतिर किनिएको यही टेलिभिजन पटक-पटक मर्मत गरेर राजा वीरेन्द्रले जीवनको अन्तिमकालसम्म प्रयोग गरेका थिए। क्यासेट चक्काबाट फिल्म हेर्नका लागि प्रयोग हुने भिडियो डेक पनि पुरानै थियो, जबकि त्यतिबेलासम्म नेपालमै भीसीडी/डीभीडी भित्रिसकेको थियो। पहिलेदेखि जे थिए, तिनैबाट वीरेन्द्रले काम चलाइरहेका थिए।

विसं ०५०/५१ तिरको कुरा हो। भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रसारण हुने सिरयिलहरूले सहरयिा महिलाहरूलाई मोहित बनाइरहेको थियो। रानी ऐश्वर्य पनि त्यसबाट अछुतो थिइनन्। यसै पनि राजाभन्दा रानी ऐश्वर्य भड्किलो जीवनशैली, पहिरन र खानपान रुचाउँथिन्। उनी टेलिसिरयिल खुब हेर्थिन्। तर, नागार्जुन दरबारमा भने टेलिसिरयिल हेर्ने सुविधा थिएन। किनभने, त्यहाँ स्याटलाइटको सिग्नल टिप्ने डिस थिएन। रानी ऐश्वर्यले नागार्जुनमा बस्दासमेत सिरयिल हेर्न पाउने व्यवस्था गर्न दरबारको प्रशासनलाई अह्राइन्। ढुंगाना ती सामग्री लिएर नागार्जुन पुगे। ती सामग्री हेरेपछि वीरेन्द्रले ‘मूल्य कति पर्‍यो ?’ भनेर सोधेछन्। ‘९० हजार,’ ढुंगानाले जवाफ दिए।

आफूले यस्तो जवाफ दिएपछि राजाबाट आएको प्रतिक्रिया ढुंगानाले अहिले पनि बिर्सेका छैनन्। भन्छन्, “मूल्य सुनेपछि राजाको भनाइ थियो, ९० हजार रुपियाँले त चार कोठाको एउटा घर नै बन्छ। एउटा घर नै बनाउन पुग्ने पैसा खर्च गरेर यति महँगा सामान नकिनेको भए पनि हुन्थ्यो।”

पुराना लत्ताकपडा मात्र

१९ जेठ ०५८ को शुक्रबारको शाही भोजमा राजा वीरेन्द्र कमिज-सुरुवाल र जवाहर कोट पहिरिएर त्रिभुवन सदन पुगेका थिए। त्यही लुगासँगै उनको पार्थिव शरीरमा २० जेठमा पशुपति आर्यघाटमा दागबत्ती दिइएको थियो। जीवनको अन्तिम क्षणमा उनले जुन लुगा लगाएका थिए, प्रौढावस्थामा प्रवेश गरेपछि दौरा-सुरुवालका अतिरिक्त प्राय: त्यही पोसाकमा देखिन्थे। औपचारकि भ्रमणमा विदेश जाँदा फरक कुरा, देशभित्र रहँदा दौरा-सुरुवालबाहेक उनको शरीरमा ज्यादा देखिने पोसाक कमिज-सुरुवाल नै थियो।

८ बजे ‘मर्निङ वाक’का लागि श्रीसदनबाट बाहिर निस्कँदा वीरेन्द्र डाङ्ग्री (सैनिक) पोसाकमा हुन्थे। मर्निङ वाकपछि सौना-स्विमिङपश्चात् उनी कमिज-सुरुवाल लगाउँथे। रानाका अनुसार जाडोमा नुहाएपछि उनी खेस (सूती)को लुगा र गर्मीमा चाहिँ नैनसुतको कपडा लगाउँथे, जुन नेपालकै उत्पादन हुन्थे।

यसबाहेक नारायणहिटीमै रहँदा पछिल्ला १०-१५ वर्ष जाडोमा उनको शरीरमा चेक प्रिन्ट भएको एउटा स्वीटर प्राय: छुट्दैनथ्यो। रानी ऐश्वर्यले नै बुनिदिएको स्वीटर थियो त्यो। सायद त्यही स्वीटर लगाउनुको अर्को कारण पनि थियो, आफूले लगाएका लुगा टालिएका हुन् भन्ने कुरा भेट्न आउनेले थाहा नपाऊन् भन्ने चाहना।

नारायणहिटी संग्रहालयका पूर्वप्रमुख जयराम महर्जनका अनुसार लुगा पुराना भएपछि वा साइज मिल्न छाडेपछि वीरेन्द्र ती लुगा फाल्दैनथे। बरू त्यसलाई मर्मतका लागि सुचिकारकहाँ पठाउँथे। दरबार हत्याकाण्डअघि दरबारको खर्च विभागमा रहेका महर्जनका भनाइमा, ०५५ सालमा वीरेन्द्रले प्रयोग गर्दै आएका ११ जोर कमिज-सुरुवाल सबै साना भए। ती कमिज-सुरुवालको साइज बढाएर ल्याउन अह्राएबमोजिम सुचिकारकहाँ पुगी आकार बढाएर ल्याएको थिएँ। सबै कमिज-सुरुवालमा गाँस (टालो) हाल्न लगाएर आकार बढाइएको थियो।

युरोप-अमेरिका भ्रमणमा जाँदाबाहेक उनी सुट-पाइन्ट विरलै लगाउँथे। तर, ती पनि १०-१५ वर्ष पुराना थिए, जुन रानी ऐश्वर्यले जन्मदिन वा दसैँमा किनेर ल्याइदिएका थिए। अर्का एडीसी धमलाका अनुसार स्वदेशी कपडाको प्रयोगमा जोड दिनुपर्छ भन्थे वीरेन्द्र, यही कारण नयाँ लुगा किन्नमा उनको कुनै रुचि थिएन। उनको शरीरमा देखिने एउटै गहना थियो, हात्तीको पुच्छरबाट बनाइएको बाला, जुन सुनले बाँधिएको थियो।

दरबारका पूर्वसचिव विश्वविक्रम शाहसँग पनि वीरेन्द्रको सादगीपनाका केही अनुभव छन्। शाहका अनुसार सिकार खेल्न जाँदा वीरेन्द्रले लगाउने डाङ्ग्री पोसाक जंगलको काँढाले कोतरेर प्वाल परेको थियो। प्वाल टाल्न रफू गरिएको थियो। भन्छन्, “कतिसम्म भने लगाउँदा लगाउँदा रफू भरिएको धागोसमेत च्यातिन थालेको थियो, धेरै वर्षअघिको रफू भएकाले त्यो भाग डिस्कलरसमेत भएको थियो। तर, अन्तिमसम्म वीरेन्द्रले सिकारमा जाँदाका लागि अर्काे ड्रेस किन्नुभएन।”

प्राय:जसो जुत्ता पनि उनी कपडाका नै लगाउँथे। विदेश जाँदा सुट-पाइन्ट लगाउनुपर्ने भएकाले छालाका जुत्ता प्रयोग गर्न बाध्य थिए। तर, छालाका जुत्ता फाटुन्जेल लगाइरहन्थे। यही कारण हो कि दरबार हत्याकाण्डपछि राजा वीरेन्द्रको काट्टो खाने ब्राह्मण दुर्गाप्रसाद सापकोटाले समेत आफूलाई दिइएको जुत्ता राजाकै हुन् भनेर पत्याएनन्। पुरानो जुत्ता वीरेन्द्रको हुनै नसक्ने भन्दै सापकोटाले त्यो जुत्ता लगाउन अस्वीकार गरेको घटना निकै मार्मिक छ।

काट्टो खाने ब्राह्मणलाई राजाले प्रयोग गरेका सामग्री पनि दिनुपर्ने धार्मिक प्रचलन अनुसार वीरेन्द्रले लगाउँदै आएको रातो रंगको जुत्ता दिने निर्णय दरबारले गरेको थियो। तर, सापकोटाले थोत्रो जुत्ता राजा वीरेन्द्रका होइनन् भनेर लिनै मानेनन्। ढुंगानाका अनुसार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि त्यस बेला कालमोचन घाटमै थिए। प्रधानमन्त्री कोइरालाले राजाकै जुत्ता हो भनेर सम्झाएपछि मात्र उनले जुत्ता लगाउन स्वीकार गरेका थिए। खासमा त्यो जुत्ता ४० वर्ष पुरानो थियो। ढुंगाना भन्छन्, “इटाली जाँदा सन् ‘६० को दशकमा वीरेन्द्रले किन्नुभएको जुत्ता थियो त्यो।”नेपाल साप्ताहिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार