लत, कुलत र स्वतन्त्रताबीच के सम्बन्ध छ र ?


BABITA

 बबिता बस्नेत 

केही महिनाअघिको कुरा हो, कार्यक्रमको सिलसिलामा पश्चिमाञ्चलको एउटा जिल्ला पुगेकी थिएँ । साँझको खानाका लागि आफू बसेकै होटेलको रेस्टुरेण्ट पुग्दा अन्य जिल्लाका साथीहरू पनि आइसकेका रहेछन् । शिष्टाचारको आदान–प्रदानपछि अर्कै जिल्लाबाट आएकी बहिनीले भनिन्, ‘आज त खाने हो । केटाहरू भए अघि सुरु गरिसक्थे, उनीहरूले खान हुँदा हामीले किन नहुने, होइन दिदी ? हामी पनि उनीहरूजत्तिकै स्वतन्त्र छौँ नि ? महिला पनि अब स्वतन्त्र छन्, किन अप्ठ्यारो मान्ने ?’ सुरुमा मैले उनको कुरा त्यति बुझेकी थिइनँ, तर भन्दै जाँदा प्रस्टै बुझियो । उनी केटाहरू यसो गर्छन्, उसो गर्छन् भनेर हामी पनि बाहिर हिँड्दा ‘ड्रिंक्स’ गर्नुपर्छ भन्ने कुरामा अरू साथीहरूलाई ‘कन्भिन्स’ गराउन खोजिरहेकी थिइन् । भनाइको अन्त्यमा उनको प्रश्न थियो– उनीहरूले गर्न हुने, हामीले चाहिँ किन नहुने ? मैले टेबुल वरिपरि रहेका बहिनीहरूको अनुहार हेर्दै भने– हो, हामी पनि गर्ने, सबै गर्ने, केटाहरूले गर्ने गरेका राम्रा काम सबै गर्ने । नराम्रा काम त जसले गरे पनि नराम्रै हुन् नि, होइन र ? साथीहरू सहमत भए । गीत गाउने, नाच्ने, कविता, सायरी, जोक, मुक्तक जे–जे आउँछ भन्ने । रमाइलो गर्ने तरिकाहरू धेरै छन् । नभन्दै खानापछि हामीले रमाइलो गर्‍यौँ । बहिनीहरूका गीत, गजल, कविता, मुक्तक सुन्दा ओहो यति राम्रा प्रतिभा ओझेलमै छन् जस्तो लाग्यो ।
भोलिपल्ट औपचारिक रूपमै हामीले महिला सशक्तीकरणबारे कुराकानी गर्‍यौँ । यद्यपि विषयगत कुरा भने अर्कै थियो ।

कहिलेकाहीँ कुनै विषयमा अलि गलत बुझाइ छ भने विषयगतभन्दा बाहिर गएर पनि कुराकानी गर्नुपर्ने हुन्छ । मैले भने– कतिपय मानिसमा स्वतन्त्रताप्रति गलत बुझाइ छ, त्यस्तो बुझाइ हामी आफैँमा पनि हुन सक्छ । स्वतन्त्रता र स्वच्छन्दताबीचमा फरक छ । स्वतन्त्रता र रक्सीबीच कुनै सम्बन्ध छैन । चुरोट र स्वतन्त्रताबीच पनि सम्बन्ध छैन । रक्सी या चुरोट मानिसको लत र कुलत हो भने स्वतन्त्रता मानव अधिकार हो । लत या कुलत महिला या पुरुष दुवैमा हुन सक्छ । लत या कुलत नहुँदा–नहुँदै पनि कहिलेकाहीँ साथीभाइ र आफन्तसँग रमाइलो गर्नका लागि ‘ड्रिंक्स’ गर्ने हुन सक्छ जुन नितान्त व्यक्तिगत कुरा हो । अरूलाई असर नगर्ने गरी के खाने, के लाउने, कहाँ जाने, कहाँ नजाने, कसरी खाने, कोसँग हिँड्ने, बोल्नेजस्ता कुरा व्यक्तिका नितान्त निजी हुन् । व्यक्तिगत अधिकारभित्र यस्ता धेरै कुरा पर्छन्, जहाँ महिला, पुरुष या तेस्रोलिङ्गी भन्ने हुँदैन । यस्ता अधिकार सबैका समान हुन् । पुरुषले गर्छन् हामीले किन नहुने ? भन्नै पर्दैन, राम्रा काम भए जसले गरे पनि हुन्छ । नराम्रा भए, सकेसम्म किन गर्ने ?

हिजोआज पार्टीमा पनि महिलालाई मदिरातर्फ लक्षित गर्दै ए.. अब त महिला–पुरुष समान…लिनु न लिनु… महिला–पुरुष बराबरी भन्ने, समानताको कुरा गर्ने अनि ड्रिंक्समा चाहिँ अघि नबढ्ने ? भन्ने गरेको सुनिन्छ । त्यति मात्र होइन, कतिले त कुनै महिलाकै उदाहरण दिँदै उहाँ त हामीसँगै बसेर खाने, साह्रै बोल्ड… भनेको पनि सुनिन्छ । बोल्डको परिभाषा र बुझाइ पनि अनेक छ । बोल्डको अर्थ हिम्मतिलो भन्ने हुन्छ, तर हामीकहाँ त अङ्ग प्रदर्शन गर्ने नायिकालाई बोल्डको संज्ञा दिने चलन छ । ड्रिंक्समा बोल्ड उपमा दिनेहरू नै केही समयपछि उनीहरूलाई नै ‘खत्तम’ भन्दै हिँडेको पनि देखिन्छ, भेटिन्छ । बोल्ड त अङ्ग प्रदर्शन, ड्रिंक्सजस्ता कुरामा नभएर मानिसको भूमिकासँग सम्बन्धित हुनुपर्ने हो, चाहे त्यो महिलामा होस् या पुरुषमा । महिला मात्र होइन पुरुषमा पनि बोल्ड शब्द लागू हुन्छ ।

तर, पुरुषमा लागू हुने बोल्डचाहिँ हिम्मतिलो भूमिकामा र महिलामा लागू हुने बोल्डचाहिँ कमजोर कुरामा झैँ देखिएको छ । साथै ड्रिंक्स र खत्तम शब्दबीच त्यतिबेला मात्रै सम्बन्ध छ जब कसैले कुलतकै रूपमा त्यसलाई लिन थाल्छ । कसैले मनोरञ्जनका लागि लिने एक–दुई पेग ड्रिंक्सलाई ‘खत्तम’को संज्ञा दिने हो भने विश्वका यत्तिका धेरै ड्युटी फ्री र अन्य ‘लिकर सप’ या तिनका ब्रान्डहरूलाईचाहिँ कसरी उत्तम भन्ने त ? हाम्रा कतिपय समुदायमा घरेलु मदिरालाई सगुनका रूपमा लिने गरिएको छ । सदियौँदेखि गर्दै आएको यो प्रचलन सम्बन्धित समुदायको सांस्कृतिक अधिकार हो । मदिरा नियन्त्रणका नाममा सांस्कृतिक अधिकारलाई कसैले रोक्न खोज्छ भने त्यो गलत हो । सीमामा रहेर गरिएका कार्य महिला या पुरुष जसले गरे पनि खत्तम हुँदैनन्, तर यस्ता कुरालाई महिलाको स्वतन्त्रता या समानतासँग जोड्न थालियो भनेचाहिँ समानताको आन्दोलनलाई अन्याय हुन्छ जस्तो लाग्छ । स्वतन्त्रता शब्दलाई कुनै लत कुलतसँग जोडेर कसैले कुरा गर्दा हिजो आज यस पङ्क्तिकारको प्रश्न हुने गर्छ, यस्ता कुराको स्वतन्त्रता या समानतासँग के सम्बन्ध छ र ?

सिने क्षेत्रका कतिपय मानिसहरूले अङ्ग प्रदर्शनलाई स्वतन्त्रतासँग जोडेर हेरेको देखिन्छ । एकजना निर्देशकले नायिकालाई भनेको कुरा उल्लेख गर्दै हालै एक कलाकारले सुनाएकी थिइन्, ‘अहिलेको २१औँ शताब्दीमा पनि के को अप्ठ्यारो ? स्वतन्त्रताको उपयोग गर्नुपर्छ ।’ पौराणिक कालमा पनि अश्लीलता थियो, अश्लीलता र स्वतन्त्रताबीच कुनै साइनो छैन भनेर ती निर्देशकलाई कसले भनिदिने ? यदि कसैले आफ्नो इच्छाले अङ्ग प्रदर्शन गर्छ भने त्यो उसको निजी कुरा हो । आफ्नो शरीरको सदुपयोग, उपयोग, दुरुपयोग, प्रयोग के गर्ने त्यो व्यक्तिको नितान्त निजी कुरा हो । कसैले गरेको त्यस्तो कार्यले अरूलाई नकारात्मक असर भने गर्नुहुँदैन । व्यक्तिगत स्वतन्त्रता यसमा जोडिएको हुन्छ, तर यस्ता कार्यमा समानता या महिलाको स्वतन्त्रतासँग जोडेर यसको धज्जी उडाउन थालियो भने समानताको अहिलेसम्मको यात्रा पर धकेलिन सक्छ । समानता र स्वतन्त्रताको अर्थ स्वच्छन्दतामा परिणत भएर गलत बुझाइहरूले प्रश्रय पाउन सक्छन् ।

अनेक उतारचढावहरू व्यहोर्दै नेपालमा समानताको यात्रा यहाँसम्म आइपुगेको छ । समानता र स्वतन्त्रता दुवै मानव अधिकारसँग जोडिएका कुरा हुन् । समानताको यात्रालाई यहाँसम्म पुर्‍याउन हाम्रा धेरै अग्रजको योगदान छ । अन्तर्राष्ट्रिय रूपमा पनि यो यात्रालाई नेपालसम्म ल्याई पुर्‍याउनका लागि विश्वका धेरे व्यक्तित्वले आफ्ना व्यक्तिगत खुसीहरूको आहुती दिएका छन् । महिला अधिकारको अर्थ पुरुषको विरोध हो भन्ने मान्यता राख्ने जमातमा रहेर समानताको यात्रा तय गर्नु त्यति सहज अवश्य नै थिएन होला । महिलालाई घरपरिवारको सीमित परिधिभित्र बाँधेर राख्ने पितृसत्तात्मक सोचलाई चिर्दै यहाँसम्म पुगेको समानताको यात्रालाई मनोरञ्जन, लत, कुलतजस्ता कुरासँग जोडेर हेर्न मिल्दैन, नहेरौँ ।

(घटना र विचार साप्ताहिककी सम्पादिका बस्नेतले यो लेख घटना र विचारमा लेखेकी हुन् !)

Loading...

यसमा तपाइको मत

अन्य समाचार