सपेराको सुरिलो स्वरमा लट्ठिइरहेका शासकरुपी सर्पहरु


 ASOK SUBEDI

अशोक सुवेदी

संसद् बादी शक्तिहरूले यतिबेला मुलुकको चौतर्फी चिरहरण गरिरहेका छन् । लाग्छ, जनता इतिहासमै सबैभन्दा कष्टकर जीवन व्यतित गरिरहेका छन् । भारतीय विस्तारवादले नेपाली जनताको जनजीविका नै तहसनहस हुने गरी तेस्रोपटक नाकाबन्दी गरेको पनि महिनौँ बितिसकेको छ । रोम सहर आगोले जलिरहँदा बाँसुरी बजाएर मस्त हुने राजा निरोझैँ संसद्वादी शासकहरू जनतामाथि परेको दुःखकष्ट र वेदनामा आनन्दित भइरहेका छन् ।

भूकम्पपीडित जनता ओत नपाएर मरिरहेका छन् । चिसोले कठ्याङ्ग्रिएर मर्ने जनताको सङ्ख्या दैनिक बढिरहेको छ तर संसद्वादी शासकहरू जनताको रोदन र क्रन्दनलाई सुमधुर सङ्गीत ठानेर लोलाइरहेका छन्, मानौँ, बाँसुरीवादक सपेराको सुरिलो स्वर गुन्जिरहेको छ र नाग÷सर्पहरूसपेराको सुरिलो स्वर गुन्जिरहेको छ र नाग÷सर्पहरू लट्ठिइरहेका छन् ।इरहेका छन् ।

भूकम्पपीडितका नाममा आएको दानबकस र चन्दामा कसले मोज गर्ने भनेर संसद्वादीहरूबीच हानथाप भइरहेको छ । ओली सरकार भूकम्पपीडितको राहतमाथि लामा हात गर्न नपाइएला र आफ्ना कार्यकर्ता पोस्न नपाइएला भनेर छट्पटाइरहेको छ । उसका क्रियाकलाप हेर्दा, भूकम्पपीडितका नाममा आएको जस्तापाता बेचेर खाने काङ्ग्रेसमन्त्रीहरूका पीए र कार्यकर्ताहरूको सम्झना दिलाइरहेको छ । आफैँ विवादास्पद प्रमुख रहेको अख्तियारले यसै साता नेपालको सुरक्षानिकायका केही पूर्व र बाहलवाला प्रमुखलाई पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगसहित निलम्बन गर्ने र बयान लिने काम गरिरहेको छ ।

सशस्त्र प्रहरीका आईजी कोषराज वन्त भ्रष्टाचार र अनियमितताको अभियोगमा अख्तियारमा तानिए । निलम्बित भए र एकैछिनमा १० करोड धरौटी राखेर मुक्त भए । उनको ठाउँमा जनआन्दोलन ०६२÷०६३ मा गणतन्त्र माग्ने आन्दोलनकारीमाथि गोली प्रहार गरेर अत्यन्तै बदनाम भएका दुर्जकुमार राई प्रस्तावित भएका छन् । यसरी तानिने र १० करोड धरौटी राखेर मुक्त हुने पूर्वसुरक्षाप्रमुखको सङ्ख्या ठूलो बन्दै गएको छ ।

अझ यसअघि अख्तियारले एमाओवादीका महासचिव कृष्णबहादुर महरा, एनजीओकर्मी पत्रकार कनकमणि दीक्षित र एमाले–काङ्ग्रेसका थुप्रै नेताहरूलाई पत्र काट्यो । विडम्बना नै भनौँ हिजो शाहीकालमा राज्यशक्ति दुरुपयोग गरेको अभियोग लागेका लोकमानसिंह कार्कीलाई कथित लोकतन्त्रमा अख्तियारको प्रमुखमा पुष्पकमल दाहाल, केपी ओली र सुशील कोइरालाहरूले नै गरेका थिए । आज आफूहरूमाथि आरोप तेर्सिन थालेपछि भारतीय खेल भन्दै उनीहरू नै कोकोहोलो मच्चाइरहेका छन् ।

गत साता विवाहपञ्चमीका सन्दर्भमा जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेकी एमालेकी पूर्वउपाध्यक्ष एवम् संसदीय व्यवस्थाकी सेरेमोनियल राष्ट्रपति विद्या भण्डारीलाई बिधुवा भन्दै आन्दोलनकारी मधेसवादी समूहबाट एक किसिमको चिरहरण नै गरियो । प्रकारान्तरले यस्तो चिरहरण महाभारतकालीन कथामा द्रौपदीमाथि कौरवका दुःशासनहरूले गरेका थिए । तराई मधेसमा आन्दोलनरत पार्टीका कार्यकर्ताले पवित्र मन्दिरमा बिधुवा प्रवेश गरेको भन्दै गङ्गाजलले चोख्याउने, धूपदीप गर्ने, मन्दिर पखाल्नेसम्मका काम गरे ।

विद्यामाथि पेट्रोलबम प्रहार गर्नुका साथै कालोझन्डा देखाई ढुङ्गामुढा पनि गरियो । केपी ओलीले विद्यामाथि आक्रमण गर्ने र निन्दा गर्नेहरूलाई जनावरको संज्ञा दिए भने आन्दोलनकारी मधेसी नेता महन्थ ठाकुरले ओलीलाई अमानुषको पगरी गुथाए । आफ्नो पार्टीकी नेत्रीलाई मधेसमा गरिएको अपमान सहन नसकेर एमाले र विशेषगरी ओली पनि विक्षिप्तजस्तै बने ।

एकथरी महिलाहरूले यो समग्र महिलाहरूको अपमान हो भनेर पनि व्याख्या गरे । राष्ट्रपति, एकल महिला (बिधुवा), एमाले आदिआदिको मानमर्दन भएको भन्दै घटना छानबिन गर्न आयोग नै बनाइएको छ । मुन्तला रोपेर सुन्तला खोज्ने र मयल फलाएर स्याउको स्वाद चाख्न खोज्ने संसद्वादी व्यवस्थामा यस्ता हर्कतहरू सामान्यजस्तै बन्दै आएका छन् ।

अझ हिजो मधेसी मूलका रामवरण यादव राष्ट्रपति हुँदा पनि केही मानिसले भैँसी गोठालो भनेर अपमान गरेका थिए । तराई मधेसका मानिस शक्तिमा पुगेको सहन नसक्ने अवस्थाको अभिव्यक्ति थियो त्यो । यतिबेला मधेसले विद्या भण्डारीलाई बिधुवाको माला भिराएर पठाइदिएको छ । यो कसैको मानअपमान नभएर छाडातन्त्र संसद्वादको गहना नै हो ।

आफ्ना लागि निर्माण गरिएको माला सबैले हृदयदेखि स्वीकार गरेर लगाए हुन्छ । उता भूकम्पपीडितहरू माइनस तीन डिग्री तापक्रममा त्रिपालमुनि शीतले भिजेर बसिरहेको समाचार र भूकम्पपीडितका कोटामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र दाहालपत्नी सीताका नातिनीहरूका साथै एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका संसदीय व्यवस्थाका गृहमन्त्री शक्ति बस्नेतका छोरीहरूले चिनियाँ सरकारको निमन्त्रणमा विदेश सयर गरेका निन्दनीय घटनाहरू अत्यन्त चर्चामा आए । झट्ट हेर्दा यो सामान्य परिघटना मात्र देखिए पनि यसमा जनयुद्धबाट आएका नेताहरूमा आएको चरम वैचारिक स्खलन, देश र जनताप्रतिको दलाली र गद्दारीको चित्र प्रस्ट देखिन्छ ।

यस घटनाले माओवादी नामका सबै नेता र कार्यकर्ताको शिर निहुर्याउनुपर्ने अवस्था उत्पन्न गराएको छ ।

परिघटनाकै बीच नेपालमाथि नाकाबन्दी लगाएर नेपालीलाई सकसमा पर्ने भारतीय विस्तारवादद्वारा सञ्चालित टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गर्न नेकपा माओवादीले राखेको माग बेवास्ता गर्ने डिस होममाथि कारबाही गरिएको र उक्त घटनालाई बहाना बनाएर अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य कवि जीवेन्द्र शाही नीलगगनलाई गिरफ्तार गरिएको घटना पनि यो साताको ठूलो चर्चा र महत्वको रह्यो ।

प्रतिक्रियावाद नसकिउन्जेलसम्म गल्ती दोहोर्याइरहन्छ भनेजस्तै एकजना कलमजीवी स्रष्टा र पत्रकारलाई अकारण गिरफ्तार गरेर प्रतिक्रियावादी सरकारले आफ्नो आयु छोट्ट्याउँदै लगेको छ । संसद्वादी सत्ता प्रतिक्रियावादी सत्ता हो । यो सत्ताले पुँजीपति, सामन्त वा भनौँ हुनेखाने वर्गकै सेवा गर्छ । ठूलो माछाले साना माछालाई खान पाउने अधिकार सुनिश्चित गरिएको यस व्यवस्थामा विपन्नहरूले खान नपाएर मर्नुपर्ने हुन्छ तर आवाज उठाउनु, विद्रोह गर्नु आतङ्ककारी कर्म मानिन्छ । आखिरमा प्रतिक्रियावादी सत्ताको श्वेतआतङ्कका विरुद्ध जनताको लालआतङ्कले प्रतिरोध गरेपछि नै प्रतिक्रियावादीहरूको अवसान हुने पाठ हामीले इतिहासमा पढ्दै र सिक्दै आएका छौँ । संसद्वादीहरूले यतिबेला आफ्नो हकहित सुनिश्चित गर्ने संविधान नामको एउटा खोस्टो फालेका छन् । श्रमिक सर्वहारा, मजदुर किसान, दलित, महिलाका कुरै छाडौँ, यही संविधान निर्माण गर्न लागिपरेका कतिपय मधेसी समूहहरू पनि यति बेला सङ्घीयता, सीमाङ्कन, अधिकारलगायत विषय लिएर आन्दोलनमा छन् । नेकपा माओवादी संसद्वादका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयन गर्न आन्दोलनमा छ । राष्ट्रिय युवा जनस्वयम्सेवक, महिला, मजदुर, किसान, विद्यार्थी सबै जवस र मोर्चाहरू आन्दोलित छन् । सामना सांस्कृतिक परिवार राष्ट्रिय जनजागरण अभियानमा छ । यसै सन्दर्भमा कमरेड माओको १२३ औँ जन्मदिवस मनाएर नेकपा माओवादीले माओका योगदानहरूलाई जीवन बनाउने उद्घोष गरेको छ ।

सत्ता जुन वर्गको हुन्छ, संस्कृति पनि त्यही वर्गका पक्षमा हुन्छ । सत्ता र संस्कृति एकापसमा अन्तरसम्बन्धित हुन्छन् ।

अर्धसामन्ती–अर्धऔपनिवेशिक सत्ताका विरुद्ध, नयाँ जनवादी सत्ता निर्माणका लागि नेकपा माओवादीको नेतृत्वमा करिब ११ वर्षसम्म नेपालमा सञ्चालित महान् जनयुद्धले पुरातन राजनीतिक सत्ताका जराहरू हल्लाएर नयाँ सत्ता स्थापना र सञ्चालन गरेसँगै नयाँ संस्कृतिको पनि निर्माण भयो । मालेमावादी दर्शन, विचार र राजनीतिको बलमा निर्मित नयाँ शक्तिले देखाएको कला, त्याग, शौर्यका साथै हजारौँको बलिदान नयाँ सत्ता निर्माणको आधार थियो ।

जनयुद्धका कारण पुरातन आर्थिक उत्पादन प्रणाली ध्वस्त भएसँगै नयाँ राजनीतिक शक्ति र नयाँ आर्थिक प्रणाली निर्माण हुँदै थियो । सामन्तवादी आधारमा निर्मित विचार, संस्कार र संस्कृतिको स्थान बलिदानको जगमा नयाँमा रूपान्तरित हुँदै थियो । पुरातन राज्यसत्ताबाट अन्याय, अत्याचार र व्यभिचारमा पारिएका वर्ग र पक्षहरू नयाँ राज्यसत्तामा न्याय प्राप्त गर्दै थिए । मानिसमानिसबीच आर्थिक आधारमा निर्मित खाडल युद्धले पुर्दै थियो र नयाँ निर्माण गर्दै थियो । हेलाहोचो, विभेद, छुवाछूत, ठालूवाद र ब्राह्मणवादी–सामन्ती चिन्तन मेटिँदै वैज्ञानिक नयाँ चिन्तनले स्थान ओगट्दै थियो । जनयुद्धमा लामबद्ध हुन पाउनु गौरवको विषय थियो । युद्धमा त्याग, शौर्य प्रदर्शन गर्नु गर्वको कुरा थियो । परम्परागत संस्कृति र संस्कारलाई मेटेर नयाँ संस्कार र संस्कृति निर्माण गर्ने होड थियो । छुवाछूतमुक्त, समान–सामूहिक समाजको निर्माणका भ्रूणहरू विकसित हुँदै थिए । अन्तरजातीय र विधवा विवाहले प्रोत्साहन पाएको थियो । सहिद बन्नु, सहिद परिवार बन्न पाउनु प्रतिष्ठाको विषय थियो । निजी स्वार्थ त्यागेर वर्गस्वार्थमा लगानी गर्ने प्रतिस्पर्धा थियो । पुरातनको स्थान नूतनले लिँदै गएको अवस्थालाई नयाँ यथार्थ नामकरण गरिएको थियो । सारमा पुरानो सत्ताको स्थानमा नयाँ सत्ताको निर्माणसँगै नयाँ संस्कृतिको निर्माण तीव्र गतिमा भइरहेको थियो ।

जनताले नेता वा नेतृत्वको त्याग र शौर्यलाई आदर्श बनाएकै कारण जनयुद्धमा जनसहभागितामा पनि तीव्र गतिमा बढेको थियो । जनयुद्ध समापनको षड्यन्त्र र घोषणासँगै मूल नेतृत्वमा आएको प्रतिगमनका कारण जनयुद्ध स्थापित मूल्यमान्यता समाप्त हुँदै गए । हुँदाहुँदा महान् सांस्कृतिक सहिद इच्छुकका नाममा स्थापित सांस्कृतिक प्रतिष्ठानको भवन निर्माणमा समेत भ्रष्टाचार भएका समाचार सार्वजनिक भएका छन् । सहिदको आदर्श स्थापित गर्न खोलिएका संस्थामा समेत ब्रह्मलूट भएको भन्दै उक्त प्रतिष्ठानका पूर्वउपाध्यक्षले पत्रपत्रिकामा गम्भीर चिन्ता र चासो व्यक्त गर्नु सांस्कृतिक प्रतिगमनकै परिणति हो भन्न हिच्किचाइरहनुपर्ने अवस्था छैन । यस्ता प्रतिक्रान्तिकारी हर्कत अन्यत्र पनि भएका हुन सक्छन् । कालान्तरमा ती सार्वजनिक हुने नै छन् । वर्तमानमा देखिएको मुलुक, आस्थामाथिको चिरहरण यसकै परिणति हो । एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्नु नै यसलाई उल्ट्याउने एक मात्र अचुक साधन हो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार