सिहदरबारमा होइन नुवाकोटमा जुध्दैछन् गोरुहरु


काठमाडौं– हरेक वर्षझैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता हुँदैछ । माघे सक्रान्ति (माघ १)को अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा चलिरहेको आयोजकले जनाएको छ । bull fight taruka (5)
आन्तरिक र बाह्य पर्यटकको साथै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत समेत उल्लेख्य ‘कभरेज’ पाइरहेको गोरु जुधाई प्रतियोगिता गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि पनि उही जोशका साथ आयोजना हुँदैछ । तुलनात्मक रुपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानविय क्षति भएपनि भौतिक रुपमा ध्वस्त भएको बस्तीका जनताको पीडालाई भुलाउँदै आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न प्रयास गरिने माघेसक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानाले रातोपाटीलाई जानकारी दिए ।
‘बैशाख १२ गतेको विनाशकारी भुकम्पले अरु ठाउँजस्तै पनि तारुका प्रभावित बन्यो, तरपनि पीडालाई भुल्दै आफ्नो संस्कृतिलाई बचाउन लागिपरेका छौं’, ढुंगानाले रातोपाटीसँग भने, ‘ यसमा आम गोरुधनी, स्थानीयदेखि राजनीतिक दलसम्म एकजुट भएर लागि परेका छौं ।’
१४१५ घरधुरी मध्ये १४०१ घरधुरी भुकम्पले ध्वस्त भएको यस गाविसमा १ जना ले ज्यान गुमाउनु प¥यो भने आधा दर्जन सार्वसाधारण घाइते भएको गाउँ विकास समिति तारुकाका सहसचिव विष्णु अधिकारीले जानकारी दिए ।

गोरुजात्रालाई व्यवस्थित गर्नकै लागि गत पुस १३ गते ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय माघेसक्रान्ति मेला व्यवस्थापन समितिको गठन भइसकेको छ । जसमा नेपाली कांग्रेस र एमालेका प्रतिनिधि रहेका छन् । विगतमा मेलाबारे राजनीतिक खिचनाती समेत हुने गरेको भएपनि यसर्ष भने सबै मिलेर मेलालाई व्यवस्थित बनाएर लैजाने समझदारी बनिसकेको छ ।
मेलालाई व्यवस्थित बनाएर लैजाने सहमति भएसँगै किसानहरुले प्रतियोगिताकै लागि भनेर पालेको गोरु दर्ता गर्ने क्रम सुरु गरिएको समितिका सचिव होमनाथ सिग्देलले बताए । उनले गाविसको रोहबरमा भएको भेलामार्फत समिति बनेसँगै पुस २३ गतेभित्रै सबै गोरुको दर्ता गरिसक्ने कार्यतालिका रहेको बताए । समितिका अनुसार यसवर्ष तारुका ५चन्दनीस्थित कटरबोट पाटोमा१८ हल गोरु जुधाइने लक्ष्य छ । जसमा विजेता गोरुधनीलाई नगद र प्रमाणपत्र दिइने दिइने छ । यस्तै गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दाना सहित दुर्घटना बीमा समेतको व्यवस्था गरिने ढुंगानाले बताए ।
गोरु दर्ता, बिमा, मेला व्यवस्थापना लगायतका कार्यका लागि ९ सदस्यीय अर्को उपसमिति समेत गठन गरिएको छ । स्थानीय राजनीतिक दल तथा गोरुधनीको तर्फबाट प्रतिनिधित्व गर्ने नारायणकाजी श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, दीपक तामाङ, कुमार श्रेष्ठ, डिल्ली ढुंगाना, रामजी अधिकारी, ठाकुर सिग्देल र लक्ष्मण प्रधान रहेको सो समिति गठन गरिएको अध्यक्ष ढुंगानाले जानकारी गराए ।
यसैगरि मेलाको दिन भीडलाई व्यवस्थित बनाउन गाविसमा रहेको श्रीकृष्ण उच्चमावि, पीमलटार मावि र पीपलडाँडा माविका  विद्यार्थीलाई आवश्यकता अनुसार स्वयम्सेवकको रुपमा परिचालन गर्ने तयारी गरिएको समेत आयोजकले जनाएको छ ।
यसैगरि सञ्चारमाध्यमको सुविधाको लागि मिडिया सेन्टरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । यस्तै आवश्यकताअनुसार छोटो समयको लागि ‘होमस्टे’को समेत व्यवस्था गरिने अध्यक्ष ढुंगानाले बताए ।

लोकप्रिय बन्दै प्रतियोगिता
युरोपीयन मुलुक स्पेनमा हुने चर्चित साँढे जुधाई प्रतियोगिताले विश्वकै ध्यान खिच्ने गरेको छ । जुन प्रतियोगिता हेर्न विश्वभरीकै मानिसहरु लाखौं खर्च गर्न तयार हुन्छन् । स्पेनमा मात्रै होइन फ्रान्स, पोर्तुगल, मेक्सिको, इक्वेडरलगायत देशमा पनि बुलफाइटबाट मनोरन्जन लिने चलन छ। तर त्यहाँ गोरु–गोरुबीच नभई मान्छे र गोरुबीच भिडन्त हुन्छ । bull fight taruka (3)
स्वरुप त्यस्तै नभएपनि त्यहाँकै साँढे जुधाइको झल्को दिने गरी तारुकामा गोरु जुधाई प्रतियोगिताको आयोजना हुन्छ । सो गोरु जुधाई प्रतियोगिताले विस्तारै लोकप्रिय त बन्दैछ नै यसले समग्र नुवाकोटको पहिचान पनि दिएको छ । पहिले अव्यवस्थित र प्रचारप्रसारको अभावमा स्थानीयस्तरमा यो प्रतियोगिता सीमित भएपनि पछिल्लो वर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्थान दिन थालेपछि यसको महत्व ह्वात्तै बढेको छ । विसं २०६१ सालदेखि व्यवस्थित रुपमा जुधाइँदै आएको गोरुजुधाईले प्रतियोगिता हेर्नैको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ ।
परापूर्वकालदेखि गोरु जुधाइँदै आइएकोमा यसलाई निरन्तरता दिँदै जानेक्रममा पछिल्लो समय त तारुका गोरु जुधाइने स्थानका रुपमा प्रसिद्ध बनेको र यसकै कारण आन्तरिक र बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको स्थानीय तथा एमाओवादी तारुका गाउँ पार्टी अध्यक्ष खिललाथ अधिकारीले जानकारी दिए । यद्यपी यसको उचित मार्केटिङ गर्न नसकिँदा पर्यात्य पर्यटकीय सम्भावना भएर पनि माघेसक्रान्ती बाहेक अन्य अवसरमा तारुका र यसआसपासका क्षेत्रमा पर्यटककलाई आकर्षित गर्न नसकिएको उनको बुझाई छ  रातोपाटीले लेखेको छ !

 

Loading...

यसमा तपाइको मत

अन्य समाचार