साझा प्रकाशनमा विप्लव माओवादीको महासंघको चेतावनी


asok

महासंघका नेता असोक सुबेदी

काठमाडौं, १९ पुस ।अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले साझा प्रकाशन बचाउन र त्यहाँभित्र भएका विसंगति रोक्न १७ बुँदे अवधारणासहितको ज्ञापनपत्र पेस गरेको छ । नेकपा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका महासंघका संयोजक माइला लामाको हस्ताक्षरमा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलीन्द्रप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाइएको हो ।
पत्र बुझाउनुअघि महासंघ केन्द्रीय कार्यालय टिम सदस्य अशोक सुवेदीले साझा प्रकाशन डुबाउने खेलमा रमाइरहेकाहरुको सपना पूरा हुन नदिइने बताए । राणा शासनकालमा चन्द्रशमशेरले कृष्णलाल अधिकारीलाई जेल हाली बनारसबाट राममणि आदीलाई झिकाएर कृष्णलालको मकैको खेती पुस्तक राममणि र नेपाली भाषा प्रकाशिनी समितिको नाममा प्रकाशन गरेर जनताविरुद्ध विगतदेखि नै षड्यन्त्र गरिएको इतिहास कोट्ट्याउँदै उनले एउटा व्यक्तिले खोलेको प्रकाशनगृह, यातायात र उद्योगव्यवसायले केही वर्षमै अर्को व्यवसाय खोल्न पुग्ने सम्पत्ति कमाउनसक्ने तर राज्यको ढुकुटीबाट सञ्चालित संस्थाहरु भने रातारात टाटपल्टिने अवस्थामा पुग्ने थिति अन्त्य गर्न आफूहरु आन्दोलित भएको धारणा राखे ।
उनले पार्टी महासचिव कमरेड विप्लवले केही दिनअघि खुला भाषणबाटै साझा प्रकाशन र जनक शिक्षा डुबाउने षड्यन्त्र गर्नेलाई नछोड्ने भनी दिएको चेतावनी स्मरण गराउँदै साझाको सम्पत्ति रक्षा गरेर कर्मचारीको तलब खुवाउन शर्मासँग माग पनि गरे ।
उनले साझालाई हिजो चन्द्रशमशेरले निजी स्वार्थमा प्रयोग गरेझैँ केही दीक्षित, भट्टराई, त्रिपाठी, ज्ञवाली, लुइँटेल, नेपाल र शर्माहरुले पुख्र्यौली सम्पत्तिझैँ दुरुपयोग गरेकाले संस्था टाट पल्टिन लागेको बताए । नेपाली भाषा जगेर्ना गर्ने थलो, जनताको साझा सम्पत्ति र लेखकको साझा मञ्च भएकाले सरकारले यसको भार बहन गर्नुपर्ने तर समाप्त पार्न नहुने चेतावनी उनले दिए ।
मागपत्र र महासंघको धारणा बुझेपछि प्रकाशनका अध्यक्ष एवम् प्रबन्धक, उत्पादक, वितरक, संस्थामा क्रियाशील विभिन्न पार्टी समर्थित प्रेस युनियनका प्रतिनिधि, गरिमा मासिकका सम्पादकलगायतले साझाका समस्या प्रस्तुत गरेका थिए ।
साझाका अध्यक्ष एवम् महाप्रबन्धक शर्माले महासंघका माग र सुझावहरु पूरा गर्न प्रयास गर्ने आश्वासन दिँदै यसका लागि साझा बचाउन सबैले हृदयदेखि नै पहल गर्नुपर्ने बताएका थिए ।
महासंघले तयार पारेको ज्ञापनपत्र महासंघका कार्यालय सदस्य खेम थपलियाले वाचन गरेर सुनाएका थिए । प्रतिनिधिमण्डलमा महासंघका सदस्य कुशल बोगटी र सोनु लामा पनि सहभागी थिए ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार