पार्टीको केन्द्रीय समितिमा ‘रअ’ र ‘इन्डो सीआईए’ का दर्जनौँ एजेन्ट किन ?


भारतीय साम्राज्यवादसित आत्मसमर्पण गर्ने या क्रान्तिमा होमिने ? विकल्प चुन्ने बेला आयो

नेपालको सांस्कृतिक आन्दोलन कसरी अघि बढिरहेको छ ?

नेपालको समकालीन सांस्कृतिक आन्दोलन उतार–चढावका साथ अघि बढिरहेको छ । यसका दुई विश्वदृष्टिकोण रहेका छन्– ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण र आदर्शवादी विश्वदृष्टिकोण । हामी माक्र्सवादीहरू ऐतिहासिक द्वन्द्वात्मक विश्वदृष्टिकोणमा विशवास राख्ने भएकोले हाम्रा सांस्कृतिक आधार र यसका उपरीसंरचना पनि त्यसैका आधारमा निरूपण गर्ने गर्दछौँ । नेपालमा करिब १० हजार वर्षदेखि निर्मिती सांस्कृतिक आधार एकातिर विद्यमान रहेको छ भने अर्कोतिर कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा जारी कम्युनिस्ट घोषणापत्रको आधार मान्दा ऐतिहासिक द्वन्द्वात्मक विश्वदृष्टिकोण अर्थात् माक्क्र्सवादी सांस्कृतिक आधारको इतिहास पनि विश्वमा करिब २२६ वर्ष मात्र भएको छ । यो कुरा सामान्य छैन । एकातिर हामीकहाँ ८–१० हजार वर्षदेखिको आदर्शवादी सांस्कृतिक आधारहरू रहेका छन् अर्कोतिर करिब अढाइसय वर्षको माक्र्सवादी आधार रहेको सन्दर्भमा सांस्कृतिक आन्दोलन सबैभन्दा पेचिलो बन्नु अस्वाभाविक होइन । त्यसकारण आदर्शवादी सांस्कृतिक आन्दोलन र यसका आधारलाई भत्काउँदै  माक्र्सवादी अर्थात् भौतिकवादी सांस्कृतिक आधारलाई मजबुत बनाउन हामी हाम्रो सांस्कृतिक आन्दोलनलाई निरन्तर अघि बढाइरहेका छौँ । माक्र्सवादी सांस्कृतिक आन्दोलनलाई जनतासित जोड्ने पहल भइरहेको छ । जनसांस्कृतिक भनेकै जनतासित जोडिएको आन्दोलन हो । यसलाई आज विभिन्न राजनीतिक र शक्तिका कारण जनतासित सम्बन्ध–विच्छेद गर्ने काम भएको छ । हामी त्यो सम्बन्धलाई जोड्ने कममा मिहिनेत गरिरहेका छौँ ।

अमेरिकी–भारतीय साम्राज्यवादले नेपालको संस्कृति ध्वस्त पार्न अनेकन फन्डिङ भएका कुराहरू बेला–बेलामा बाहिर आउने गरेको छ, तपाईको पार्टी र महासङ्घले आफ्नो संस्कृति रक्षा गर्न के कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
नेपालमा मात्र होइन, आज भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद व्याप्त छ । दोस्रो विश्वयुद्धपछि साम्राज्यवादीहरूले संस्कृतिलाई आफ्नो महत्वपूर्ण हतियार बनाइरहेका छन् । खासगरी तेस्रो विश्वमा जनताका व्यापक असन्तुष्टि र अभावलाई मोहोरी बनाउँदै उनीहरूले यसलाई तीब्रता दिइरहेका छन् । यसको गम्भीर असर नेपालमा पनि परेको छ । हामी यसका विरुद्ध कठोर संघर्ष गरिरहेका छौँ । साथै, अहिले विश्वको राजनीतिक चरित्र निगम पुँजीवादमा आधारित छ । केही मुट्ठीभरका मानिसले सबै कुरामा आफ्नो एकछत्र राजाइँ थोपर्ने काम गरिरहेका छन् । तिनका लागि ठूलो मात्रामा लगानी पनि गरिरहेका छन् । त्यसैले हामीले अहिले निगम पुँजीवादमा आधारित सांस्कृतिक आधारहरूलाई निस्तेज पार्ने, तिनका आधारहरूलाई भत्काउने काममा लागिरहेका छौँ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी र त्ससको महत्वपूर्ण जनवर्गीय संगठन हुनुको नाताले हामीले जनताको मौलिक संस्कृतिको संरक्षण तथा तिनको वैज्ञानिकीलाई स्थापित गर्ने भूमिका क्रियाशील छौँ ।

नेपालको धर्ममाथि प्रहार गरेर यहाँको संस्कृतिको टाउकोमा हिर्काउने काम भइरहेको भन्ने पनि एकाथरीको आरोप छ, वास्तविक कुरा के हो ?
नेपालमा धार्मिक अतिक्रमणको पनि लामो शृङ्खला रहेको छ । बीपी कोइरालादेखि हिजोका शक्तिशाली भनिएका दरबार र त्यसको संरक्षक मानिएको नेपाली सेनालाई समेत धार्मिक राजनीतिले नराम्ररी छोएको यथार्थ सबैका सामु छँदैछ । आज नेपाली सेनाका ब्यारेकहरूमा बाइबल बाँडिन्छ, किन ? हुन त धर्म मानिसको व्यक्तिगत मामिला हो । माक्र्सले यसलाई अफिम र सुस्केरा भनेका छन् । लेनिनले यसलाई डन्डा चलाएर धार्मिक रूपान्तरण गर्न सकिँदैन पनि भने तर पनि यसको पछिल्लो राजनीतिक आबरण निकै डरलाग्दो रूपमा देखापरको छ । सतहमा एउटा धर्म देखिने तर अन्तर्यमा अर्कै धर्मका लागि काम गरिरहने काम नेपालमा भइरहेको छ । बहुदलपछि मात्र नेपाल २५ हजार चर्च थपिएको तथ्याङ्क सार्वजनिक भएको छ । यस्तो अवस्थामा हामी कुनै अमूक–अमूक धर्मको वकालत गर्न तयार छैनौँ, यो काम हाम्रो हुँदा पनि होइन तर पनि यसको नाममा भइरहेको अतिक्रमणको विपक्षमा भने हामी छौँ । नेपालमा धर्मको नाममा भएका यावत् क्रियाकलापका हामीले विरोध गर्नुपर्दछ र गरिरहेका पनि छौँ । अर्को कुरा पनि महत्वपूर्ण छ कि राज्य कुनै पनि एक धर्म विशेष हुन सक्तैन । यो कुरा सही छ तर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र त भनिएको छ तर वर्तमान प्रधानमन्त्री शेबहादुर देउवाको घरको बैठककक्षका भित्तामा जिसस क्राइस्टको ठूलो चित्र झुन्ड्याएको थियो, स्थानीय निर्वाचनका कारण केही समयअघि मात्र त्यो चित्र हटाइएको छ । देउवाको आँगनमा समेत जिससको चित्र कुँदिएको छ तर पनि तिनै देउवा बालुवाटार प्रवेश गर्दा कालो बोको काटेर प्रवेश गरे । योजति पाखण्ड अरू के हुन सक्छ ? त्यसकारण हामी धार्मिक पाखण्ड र अतिक्रमणको विरुद्ध संघर्ष गरिरहेका छौँ ।

२०५२ सालदेखि १० वर्षसम्म चलेको जनयुद्धको बास्तविक साहित्य सिर्जना हुनै सकेन, तपाईको पार्टी र संगठनले जनयुद्धको साहित्य सिर्जना गर्न के कस्तो भूमिका खेलिरहेको छ ?
जनयुद्धको वास्तविक साहित्य सिर्जना हुन सकेन भन्ने कुुरा सही होइन । नपुगेको होला, मात्रा र गुणमा केही अपुग भयो होला तर पनि हुँदै नभएको चाहिँ होइन । नेपालमा भएक अनेकन् वर्गसंघर्षको उच्चतम रूप जनयुद्धकेन्द्रित साहित्यको क्षेत्रमा भएका कामहरूको सूची निकै लामो छ । यहाँ सबै बताउन सम्भव छैन । फेरि कला–साहित्यको विस्तार र विकासको कुरा राज्यसत्तासित सम्बन्धित विषय पनि हो । जनताको राज्यसत्ता आएकै छैन । त्यही राज्यसत्ता प्राप्ति लडाइँ नेपालका चलिरहेको छ । त्यस्तो अवस्थामा राज्यसत्ता प्राप्ति भइसकेको अवस्थाको कल्पना गरेर सोहीअनुसारको परिस्थिति खोज्नु गम्भीर मनोगतमा फस्नु हो । त्यसैले हामीले सामन्तवादी अवशेषका विरुद्धमा जनतालाई अपिल गर्नु, त्यो चेतनालाई परिवर्तन गरेर प्रगतिशिलीकरण गर्न आफ्ना सिर्जनाहरूलाई केन्द्रित गर्नुपर्दछ । हाम्रो पार्टी र हाम्रो संगठनले यही दिशातिर काम गरिरहेको छ । जनयुद्धको भावधारामा आधारित भएर गरिएका साहित्यक रचनालाई हामीले नयाँ यथार्थ भनेका छौँ । हामी नयाँ यथार्थपरक कला–साहित्यका पक्षपाती हौँ । नेपालमा गोर्की र लुसुनहरू जन्मिसकेका छन् । कृष्ण सेन ‘इच्छुक’ को भूमिका र स्थान सबैलाई थाहा नै छ । तर पनि, यसको निरन्तर विकास, विस्तार र समृद्धीकरणको दिशा पक्रनु आवश्यक छ । हामीले यही दिशा पक्रिरहेका छौँ ।

जनयुद्धमा विकास गरिएको संस्कृतिको संरक्षण र संबद्र्धन गर्ने कुनै योजना छ कि ?
सांस्कृतिक आन्दोलन दीर्घाकालीन आन्दोलनको क्षेत्र हो । यो अन्य क्षेत्र जस्तो तुरुन्ताका तुरुन्त परिवर्तन र रूपान्तरण देखिहाल्ने क्षेत्र होइन । यसका लागि समय लाग्दछ । फेरि यसका लागि राजनीतिक पहलको पनि उत्तिकै आवश्यकता पर्दछ । नेताहरूकै कैयौँ सांस्कृतिक समस्याहरू किन देखापर्दछ ? थाहा नपाएर, नजानेर त होइन । तर पनि यसलाई निरन्तर क्रान्तिको भावधारामा प्रवाह हुन दिनुपर्दछ । जनयुद्धकालमा सांस्कृतिक रूपान्तर तथा परम्परागात सांस्कृतिक आधारका ठाउँमा नयाँ संस्कार र संस्कृतिको प्रयोग हुन थालेको थियो । जनयुद्धकालमा यो अलि निर्देशित किसिमको थियो । त्यसमा पनि जनयुद्धको स्थगन तथा तत्कालीन नेतृत्वमा आएको भयानक विचलनका कारण यसले पनि प्रतिक्रान्तिकारी धक्का खानुपरयो । हामी अहिले त्यही प्रतिक्रान्तिकारी चिहान खोतलेर उठ्न खोजिरहेका छौँ । हामीले फागुन १, सहिद सप्ताह (फागुन १४–फागुन २१), चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस, जेठ १३ सांस्कृतिक बलिदान दिवस, विभिन्न मोर्चाहरू, विभिन्न महत्वपूर्ण नेताको कार्यक्षेत्र, जन्म, बलिदानसित जोडिएका क्षेत्रहरू, पार्टी स्थापना दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय मजदुर दिवसलगायतलाई पुँजीकृत गर्दै जान आवश्यक छ । मानवजातिको मुक्ति सम्भव छ भन्दै समाजवादी लक्ष्यतिर आकर्षित गर्नु, त्यतापट्टि प्रशिक्षित गर्नु र दलाल पुँजीवादप्रति चरम घृणा उब्जाउनुपर्दछ । कम्युनिस्ट भएर सामन्ती तथा पुँजीवादी कला–संस्कृतिको बढोत्तरीमा लाग्ने तर समाजवादी कलालाई लात मार्ने कुराको सशक्त प्रतिवाद गर्नुपर्दछ, हामीले त्यसको सशक्त प्रतिवाद गरिरहेका छौँ । नेपाली सांस्कृतिक सुन्दरता, नेपालको सौन्दर्यमूल्य, नेपालको सौन्दर्यदृष्टि नेपालको विविधताभित्रबाट नेपालको सौन्दर्य मूल्य र सौन्दर्यदृष्टिलाई वैज्ञानिक परिभाषा गरेर त्यसलाई सिर्जनामा प्रयोग गर्नुपर्छ । प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, संयुक्त मोर्चा बनाउनु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिकरूपले माझ्नु, सङ्गठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनु, प्रतिक्रियावादी सत्ताको तावेदारीविरुद्ध आन्दोलित हुनु र अग्रगामी निरन्तर प्रवाहमा हेलिनुपर्दछ । हामी योजनावद्धताका साथ यही दिशामा अघि बढिरहेका छौँ ।

अब थोरै राजनीतिक कुरा गरौं, नेपालको राजनीतिकलाई कसरी नियाल्नुहुन्छ ?
नेपालको राजनीतिलाई हेर्ने २ किसिमका आधारहरू छन् । जनताले अहिलेको व्यवस्था र संरचनालाई प्रतिक्रान्ति भनिरहेका छन् । अहिलेको शासन–व्यवस्थालाई दलाल संसदीय व्यवस्था भनिरहेका छन् । तर, हिजो जो प्रतिक्रियावादी सत्ताको टाट्नामा घाँस खाएर राजनीति गरे, तिनीहरूका लागि यो व्यवस्था सर्वोच्च र सर्वोत्तम भएको छ । हामी जनपक्षीय राजनीतिकर्मी भएको नाताले पनि र नेपालको वर्गसंघर्षका एउटा विशष्टि भूमिकासहित आजको यो अवस्थामा आइपुगेको नाताले पनि यो कुरा स्पष्टताका साथ भन्नुपर्दछ कि अहिलेको नेपालको व्यवस्था अवैज्ञानिक छ, असान्दर्भिक र जनविरोधी छ । सारतः यो दलाल चरित्रको छ । दलाल व्यवस्थाले दलालकै हित गर्दछ, जनताको गर्दैन । अहिले जनतालाई देखाएर, जनताको नाममा दलालहरूको हित गर्ने काम त भइरहेको छ । अहिले कथित स्थानीय निर्वाचन पनि दलालहरूको हितार्थ भएको कुरा सुपष्ट नै छ । नेपालमा जनयुद्धको अपूर्णताले कैयौँ समस्या नल्याएका्े होइनन् तर पनि तिनले नेपालमा क्रान्तिका लागि नयाँ आधारहरू खडा गरेका छन् । आज नेपाली राजनीतिमा देखापरेको निराशा, कुण्ठा र अकर्मण्यता चिर्दै क्रान्तिकारी आशावाद भर्न आवश्यक छ । आजको शासन–व्यवस्था जनविर।ोधी छ, यसलाई ध्वस्त पारेर यसको चिहानमाथि वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्न अपरिहार्य छ भन्ने कुरा नै आजको नेपाली राजनीतिको केन्द्रीय विषय हो ।

माओवादी केन्द्रका विरुद्धमा निकै अभिव्यक्तिहरू सामाजिक सञ्जालमा राख्दै आउनु भएको छ, सो पार्टी प्रतिक्रान्तिकारी नै हो ? हो भने के के आधारहरू छन् ?
के त्यसो भए तपाईंसित माओवादी केन्द्र क्रान्तिकारी छ र हो भन्ने प्रमाण के छ ? आज नेपालमा माओवादी केन्द्र क्रान्तिकारी देख्नेहरू को को छन्, किन छन् ? यो कुरा सबैलाई थाहा नै छ । नेपालमा २०५२ सालमा जे उद्देश्य राखेर जनयुद्ध भएको थियो, के त्यसको उद्देश्य पूरा भयो ? हामी त पूरा भएको देख्दैनौँ । जनयुद्ध सुरु गर्दाका प्रविद्धताहरू के के थिए ? ती आज कहाँ पुगे ? जनताको अवस्था कस्तो छ आज ? ७० लाख युवा त विदेशमा छन् । नेपालको आर्थिक अवस्था कस्तो छ ? नेताहरूको आचरण र शैली कस्तो छ ? विदेशीहरूले कुनस्तरको क्रीडास्थल बनाइरहेका छन् ? माओृवादी हुनु भनेको अपराधी जस्तो, केही काम नापाएको जस्तो, बुद्धि र क्षमता नहुनु भनेको माओवादी हुन् जस्तो कसले बनायो आज ? यी सबैको मुख्य दोषी प्रचण्ड र उनले नेतृत्व गरेको माओवादी केन्द्र नै हो । यो कुरा त सोही पार्टीका केन्द्रीय नेताहरूले बोलिरहेका पनि छन् । पार्टीको केन्द्रीय समितिमा ‘रअ’ र ‘इन्डो सीआईए’ का दर्जनौँ एजेन्ट किन त्यो पार्टीले पालिरहेको छ ? किनभने प्रचण्ड त्यही कित्ताका ‘नेपाली बोस’ हुन् । मिनी ट्रकमा पैसा बोक्ने पार्टी माओवादी केन्द्र त हो । किलोका किलो सुन बोक्ने पार्टी पनि माओवादी केन्द्र त हो । रक्तचन्दनदेखि सिमलको फूलसम्मको व्यापार गर्ने पार्टी माओवादी केन्द्र नै त हो । बोर्डरहरूबाट सुन ल्याएर कमिसनको खेती गर्ने पार्टी माओवादी केन्द्र त हो । कमिसनको लाभमा बनिबनाउ सडक भत्काउने पार्टी माओवादी केन्द्र त हो । सहिदको नामका गरेको कार्यक्रमका रक्सीको खोलो बगाउने पार्टी पनि माओवादी केन्द्र त हो । रगतसित साटिएका हतियार बेच्ने पार्टी माओवादी केन्द्र त हो । त्यसकारण राजनीतिक, वैचारिक, दार्शनिक, वर्गीय तथा सैद्धान्तिक सबै किसिमबाट हेर्दा माओवादी केन्द्र प्रतिक्रान्तिकारी नै हो । जनताको सपना–रगत–पसिनालाई पैंतालाले कुल्चेर आफ्नो वर्गीय प्रतिवद्धता र लक्ष्य छोडेर विजातीय कित्ताको नोकर बन्छ भने त्यो प्रतिक्रािन्तकारी नभएर के हुन्छ त !

एकीकृत जनक्रान्ति बस्तुवादी, नेपाली माटो सुहाउँदो छ भन्ने आधारहरू के के हुन ?
रसियन क्रान्तिजस्तै गरी चिनियाँ क्रान्ति भएन । चिनियाँ क्रान्तिजस्तै गरी क्युवा वा भियतनामी क्रान्ति पनि भएन । गोन्जालोले पनि अलि फरक शैलीबाट क्रान्ति गर्न खोजे, भलै उनी त्यहाँ सफल हुन सकेनन् । समाज र जनताका मनोविज्ञान, आवश्यकताको स्तर र रुची बदलिरहका हुन्छन् र राजनीतिक पार्टीले त्यसलाई गहिरोगरी ख्याल गर्नुुपर्दछ । अवश्य पनि नेपालमा केही नवीन विशेषता सिर्जना भएका छन् । गाउँ र सहरको दुरी घटेको छ । मध्यमवर्गको आयातन बढेको छ । उसका परिवर्तनप्रतिको रुची अथाह छ । हामीले त्यसलाई क्रान्तिकारीकरण र धु्रबीकरण गर्नुपर्दछ । आज अन्तर्राष्ट्रिय शक्तिसन्तुलन बदलिएको छ । अब विश्व एक ध्रुबको रूपमा रहेन । विश्वमा चीनको गर्विलो उपस्थिति, अमेरिकामा अनुदारवादी ट्रम्पो आगमन, रसियाको शक्ति बढोत्तरी, सिरिया युद्ध तथा पछिल्लोपटक उत्तर कोरियाले अमेरिकामाथि लगाएको निशानन र त्यसले अमेरिकी नाग।िरकमा पु¥याएको मनोवैज्ञानिक असर तथा कतारको सन्दर्भले एकीकृत जनक्रान्ति आजको समकालीन विश्वको क्रान्तिकारी कार्यदिशा हो भन्ने कुरामा कुनै शंका छैन । पुँवीवादीहरूले समाजावादी शिविरका कैयौँ वैज्ञानिकीलाई चोरेर प्रयोग  गरिरहेका छन् र आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेका छ्न । त्यसैगरी, समाजवादीहरू पनि अलि अलि तिनको केही आफ्नो रणनीतिक रक्षा र विजयका लागि कार्यनीतिक उपयोग किन नगर्ने ! त्यसैले हरेक क्रान्तिका आ–आफ्नै सिद्धान्त हुन्छन् । हाम्रो पार्टीको पनि आफ्नो सिद्धान्त छ । आफ्नो दर्शन छ । आफ्नो कार्यदिशा छ । कार्यनीतिका विभिन्न शृङ्खलाहरू पनि छन् । यसलाई एउटै सूत्रमा व्यवस्थित गरेर जनतालाई जनताका बीचमा स्पष्ट पार्ने काम पनि भइरहेको छ । क्रान्ति र क्रान्तिको सिद्धान्तको सौन्दर्यात्मक चेतना हरेक सदस्यका मन मस्तिष्कमा झङ्कृत पारेर स्वप्नशील जनमुदाय, पार्टी र पार्टीका गतिविधिमा ताप, राप र प्रकाश सिर्जना गर्ने तागत एकीकृ्त जनक्रान्तिसित रहेको छ । यसलाई हाम्रो पार्टीले दस्ताबेजीकरण गरिसकेको छ । स्थापित रसियन र चिनियाँ मोडेल तथा क्युवा र भियनामी मोडलको आलोकमा नेपालमा एकीकृत जनक्रान्ति नयाँ मोडेल पनि हो । यसको अन्तर्राष्ट्रिय मूल्य रहेको छ । त्यसैले यो वैज्ञानिक र वस्तुवादी छ । एकीकृत जनक्रान्तिकै आधारमा आज पार्टीका हरेक सदस्यहरूका मन–मस्तिष्कमा साम्यवादी बगैंचा खडा गरी बलिदानका निम्ति तयार भइरहेका छन् ।

आम मानिसले नेपाल कम्युनिष्ट पार्टीलाई त्यति धेरै विश्वास गरेको छैनन् भन्नेहरू पनि छन्, एकीकृत जनक्रान्तिको सौन्दर्यबारे जनतार्लाइ बुझाउन बाँकी छ हो ?
यो कुरा सही होइन । नेपालमा करिब ६५ प्रतिशत कम्युनिस्ट जनमत रहेको छ । त्यो जनमत तपाईं प्रश्नको चोटिलो उत्तर हो । नेपाली जनता कम्युनिस्ट व्यवस्था चाहन्छन्, जनवादी व्यवस्था चाहन्छन्, वैज्ञानिक समाजवादी व्यवस्था चाहन्छन् । यसकारण पनि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी जनताको चाहना र युगको आवश्यकताअनुरूप एककीृत जनक्रान्तिको माध्यमबाट नेपालमा वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षरत छ । तपाईंले एकीकृत जनक्रान्तिको सौन्दर्यको कुरा पनि उठाउनुभयो । अलि अलि साँचो कुरा के हो भने जुन मात्रा र उचाइमा एकीकृत जनक्रान्तिको सौन्दर्यात्मक पक्षलाई जनताका बीचमा लैजानुपर्दथ्यो, त्यसमा अपुग भएकै छ । यो कुरा हामीले पनि महसुस गरेका छौँ । एकीकृत जनक्रान्तिको सौन्दर्य भनैकै मालेमावादी सौन्दर्य हो । यो जनयुद्धको सौन्दर्यशास्त्रद्वारा अनुप्राणित रहेको छ । एकीकृत जनक्रान्ति पनि माक्र्सवाद–लेनिनवाद–माओवादको अन्तर्वस्तुमा विकास भएको क्रान्तिकारी कार्यदिशा हो । एकीकृत जनक्रान्तिको सौन्र्यात्मक आयम र मूल्यलाई अझ माथि उठाउन आवश्यक छ । हामी यही दिशामा मिहिनेत पनि गरिरहका छौँ ।

मुलुकको विकासको लागि भारत नै मुख्य बाधक बनेको कुरा आम जनताको बीचमा छर्लङ्ग भइसकेको छ, भारतीय हस्तक्षेपलाई अन्त्य गर्न र समृद्ध नेपाल निर्माण गर्न एकीकृत जनक्रान्ति सफल हुन्छ भन्नेमा आशावादी हुनुहुन्छ ?
नेपालको चौतर्फी विकासमा भारतीय साम्राज्यवाद मख्य वाधक भएर उभिएको कुरा सही हो तर यो मात्र हाम्रा वाधक छैनन् । भारतीय शासकीय चरित्रको ऐतिहासिक निरुपण र बदलिँदो परिस्थितिमा उसका अन्यायी र साम्राज्यवादी मनोदशाको अध्ययन गरेर हाम्रो पार्टीले थबाङ महाधिवेशनबाट ‘भारतीय साम्राज्यवाद’ भनेर मूर्तीकृत गरेको छ । नेपाली राजनीतिमा यो कुरा सामान्य छैन । नेपालजस्तै विश्वका उत्पीडित र पडाडि पारिएका राष्ट्रका लागि दलाल पुँजीवाद नै मुख्य वाधक त हुँदै हो, भौगोलिक सिमाना र कतिपय ऐतिहासिक सन्दर्भ तथा बाह्यरूपबाट हेर्दा पनि नेपाल र नेपाली जनताका लागि मुख्य अन्तरविरोध भारतीय साम्राज्यवादसित नै रहेको छ । नेपाली जनताको निर्णायक लडाइँमा चीन र अमेरिकाभन्दा बढी प्रभावित हुने शक्ति भनेकै भारत र भारतीय साम्राज्यवाद हो । नेपाल र नेपाली जनताले कि त भारतीय साम्राज्यवादसित आत्मसमर्पण गर्नुपरयो, कि त त्यसलाई ध्वस्त पार्नेगरी लड्नुपरयो । मलाई लाग्छ, नेपाली जनताका अघि क्रान्तिबाहेक अर्को कुनै विकल्प छैन । भारतीय साम्राज्यवादलगायत सबैखाले बैरीका विरुद्धको सङ्घर्षमा एकीकृत जनक्रान्ति सफल हुने कुरामा म पूर्णतः आशावादी छु ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार