जमिनमुनि १०० मिटरभन्दा तल रहेको त्यो मेट्रो रेल र हामी


हस्तबहादुर केसी

जनवादी गणतन्त्र कोरियाले १३ अप्रिल २०१७ देखि अप्रिल १९ सम्म प्योङयाङ साम्राज्यवादविरोधी तथा समाजवादसर्मथक लेखक-पत्रकारहरूको अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गर्यो । सेमिनारमा सहभागिताका लागि कोरिया सरकारले निमन्त्रणा गरेको थियो । नेपाल–जनवादी गणतन्त्र कोरिया लेखक-पत्रकार मञ्चको नेतृत्वमा हामी कोरिया यात्रा गयौँ । १३ अप्रिल २०१७ मा चीनको बेइजिङ भएर चाइना विमानद्वारा साँझ ९ बजे उत्तरकोरियाको राजधानी प्योङयाङ पुग्यौँ । हामीलाई प्योङयाङस्थित प्योङयाङ कोरिओ होटेलमा राखियो । नेपालसहित ४६ देशका एक सय ५० जना लेखक-पत्रकार जम्मा भयौँ ।

१ वैशाख ०७४ का दिन बिहान ९ बजे सेमिनारको उद्घाटन भयो । सेमिनारमा नेपाल, चीन, बंगलादेश, बेलायत, फ्रान्स, रुस, फिनल्यान्ड, बेल्जियम, घानालगायतका देशका तर्फबाट पनि आ–आफ्ना कार्यपत्र प्रस्तुत गरिएका थिए । सेमिनारमा प्रमुख अतिथि वर्कर्स पार्टी अफ कोरियाका उपाध्यक्ष कमरेड किम की नाम हुनुहुन्थ्यो ।

१५ अप्रिलमा जनवादी गणतन्त्र कोरियाका संस्थापक नेता कमरेड किम इल सुङको १०५ औँ जन्मदिवस परेको थियो । त्यस दिन कोरिया सरकारले आफ्ना संस्थागत नेता सुङको १०५औँ जन्मजयन्ती बडो भव्य र उल्लासमय ढंगले प्योङयाङमा मनायो । हामी लेखक-पत्रकारलाई त्यस दिन बिहान ७ बजे नै जनमुक्ति सेना र जनतासमेत गरी एक लाखभन्दा बढीको उपस्थिति रहेको समारोहस्थलमा पुर्याइएको थियो । उक्त समारोहमा जनमुक्ति सेनाले ब्यान्डबाजासहिज पिटी प्रदर्शन गरेको थियो भने हजारौँ जनताले हातमा फूल लिएर नाचसहित प्रवेश गरिरहेका थिए । हामीलाई उत्तरतिरको प्याराफिटमा बसालिएको थियो । त्यसको ठीकमाथि कोरियन सुप्रिम लिडर किम जोङ उनले सिट ग्रहण गर्नुभएको थियो ।

समारोहको दक्षिणतिरको बाहिरबाट हजारौँ जनसमुदाय हातमा फूल समातेर नाच्दै गाउँदै भित्र पस्ने र पूर्वतिरबाट हजारौँ जनमुक्ति सेना अत्याधुनिक हतियारसहित मार्च पास गर्दै पश्चिमतिर बाहिरिने मिलाइएको थियो । अन्तिममा जनमुक्ति सेना अहिलेसम्म निर्माण गरिएका हातहतियार र मिसाइल टिप्पर ट्यांकमा बोकेर विश्वलाई नै चकित पार्ने गरी प्रदर्शन गर्दै बाहिरिने गरेको थियो ।

कार्यक्रम अवधिभर आकाशमा फाइटर विमान उडाइएको थियो । कार्यक्रममा विश्वभरका सञ्चारमाध्यमलाई बोलाइएको थियो र ठूलो संख्यामा पश्चिमी मुलुकका पत्रकार त्यहाँ पुगेका थिए । सिसिटिभीलगायत अत्याधुनिक क्यामराले सम्पूर्ण कार्यक्रमभर फोटो खिचे । साँझ ७ बजेदेखि ९ बजेसम्म त्यही मैदानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । एकलाखभन्दा बढी जनता उक्त कार्यक्रममा नाचगानसहित सहभागी थिए ।

उक्त कार्यक्रम सकिएपछि हामीलाई कमरेड किम इल सुङको जन्मघर लगियो । उक्त घर संग्रहालयका रूपमा खडा गरिएको रहेछ । उक्त घरको पूर्वपट्टि टी दुङ नदी बगिरहेको छ । कोरिया बसुन्जेल हामीलाई युद्ध संग्रहालय, किम इल सुङ मेमोरियल बिल्डिङ, सेन्ट्रल पार्टी स्कुल बिल्डिङ अफ कोरिया, सांस्कृतिक हाउस, खेलकुद कभर्ट हल, विज्ञान तथा प्रविधि बिल्डिङको भ्रमण गराइयो ।

किम इल सुङको पार्थिव शरीर राखेको ऐतिहासिक मेमोरियलको पनि हामीले अवलोकन गर्यौँ । विज्ञान तथा प्रविधिसम्बन्धी भवन यति भव्य थियो कि एकै समयमा पाँच हजार वैज्ञानिक बसेर कम्प्युटरमा काम गर्न सक्छन् । उक्त भवनमा कोरिया सरकारले निर्माण गरेका मिसाइलको नमुना प्रदर्शनका लागि राखिएको रहेछ । हामीले ती सबै ठाउँको अवलोकन र अध्ययन गर्यौँ ।

हामीलाई जमिनमुनि १०० मिटरभन्दा तल रहेको मेट्रो रेल यात्रामा पनि लगिएको थियो । बाल शिक्षण अस्पताल आदि भौतिक संरचना हेर्ने अवसर मिल्यो । उत्तर कोरियामा घर, सडक र अन्य भौतिक संरचना अत्यन्तै वैज्ञानिक ढंगले निर्माण गरिएको रहेछ । सडक अत्यन्तै ठूला र फराकिलो गरी निर्माण गरिएको रहेछ ।

उत्तर कोरियामा मजदुरहरूको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको नाम राखिएको छैन । कम्युनिस्ट पार्टीको काम गर्ने गरी सुरुदेखि नै त्यहाँ ‘वर्कर्स पार्टी कोरिया’ भन्ने छ । त्यसकै निर्देशन र योजनामा किम इल सुङको नेतृत्वमा कोरियामा समाजवादको स्थापना गरियो । जापानी र अमेरिकी दुई साम्राज्यवादलाई खरानी पारेर पठाइयो । राष्ट्रिय स्वाधिनतालाई अभेद्य किल्लाका रूपमा निर्माण गरिएको रहेछ । अमेरिकी साम्राज्यवाद भिडन्तमा आए, हामी लड्न तयार छौँ भन्दै आमनागरिक तयार भएको पाइन्छ । कोरियामा राष्ट्रियताको भावना ज्यादै प्रचुर रहेको छ । कोरियामा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत समाजवादी व्यवस्था सञ्चालनमा रहेछ ।

आमजनतालाई सैनिकीकरण गरिएको रहेछ । पार्टीभित्र र राज्यभित्र नियम कानुन कडा छ । कार्यान्वयन पनि त्यत्तिकै कडाइका साथ पालना गरिएको पाइन्छ । वर्कर्स पार्टी कोरियाको केन्द्रीय समिति तीन सय सदस्यीय रहेछ । ५० वर्षमाथिका पाका र अनुभवप्राप्त व्यक्तिलाई मात्र पार्टीको नेतृत्व तहमा राखिने व्यवस्था रहेछ त्यहाँ । केन्द्रीय तह, क्षेत्रीय तह, काउन्टी (जिल्ला) तह र स्थानीय तह गरी चार तहमा पार्टी सञ्चालनको विधि पद्धति कायम गरिएको रहेछ । राज्यमा यसैबमोजिमको व्यवस्था हुने रहेछ ।

जनताका लागि गास, वास र कपासको ग्यारेन्टी राज्यले गरेको रहेछ । शिक्षा, स्वास्थ्य, यातायात निःशुल्क रहेछ । जनसंख्या करिब तीन करोड छ । साक्षरता शतप्रतिशत रहेको छ ।

सहर र गाउँको विभेद अन्त्य गर्न तीव्र गतिका साथ सरकारले सहरीकरणको नीतिलाई कार्यान्वयनको तहमा अगाडि बढाएको पाइन्छ । सहरमा जनताका लागि ४०-५० तले गगनचुम्बी महल निर्माण गरिएको रहेछ र एक परिवारलाई एक फ्ल्याट निःशुल्क बस्ने व्यवस्था मिलाइएको रहेछ । गाउँमा देशभर वैज्ञानिक बसोवास पद्धतिअनुसार एउटै रङ र साइजका तीनतले भवन निर्माण गरेर सरकारले आमकिसानलाई निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था गरेको रहेछ । कोरियामा धानखेती मुख्य रहेछ । गहुँ, जौ, मकै र अन्य ठाउँ र सिजनअनुसारको खेतीपाती हुँदोरहेछ । त्यहाँको मुख्य खाना भात रहेछ ।

निजी सम्पत्ति छैन । बैंकहरू खोलिएको छैन । पैसा चल्तीमा छैन । एक रुपैयाँदेखि पाँच हजारसम्मका नोट काटिएको रहेछ । तर, प्रचलनमा छैनन्, ती नोट । मजदुर, कर्मचारीलाई आठ घण्टा अनिवार्य श्रम गर्नैपर्ने व्यवस्था रहेछ । त्यसमा श्रमको न्यूनतम ज्याला दिने व्यवस्था रहेछ । उनीहरूले सामान्य सीमाभित्र रहेर इच्छा लागेका खाने-लगाउने वा अन्य प्रयोजनका वस्तु सुलभ मूल्यमा प्राप्त गर्ने व्यवस्था मिलाइएको रहेछ ।

किसानलाई पनि उत्पादित वस्तु बिक्रीबाट आउने आयको सानो हिस्सा उपलब्ध गराउने व्यवस्था रहेछ । व्यक्तिगत सम्पत्ति नभएपछि उच्च, नीच विभेद र होचो, हेलो हुनुपर्ने हेपिनुपर्ने अवस्था छैन, त्यहाँ । ‘हामी सबै कोरियाली, कोरिया हामी सबैको’ भन्ने भावनाको विकास
गरिएको पाइयो ।

सामाजिक व्यवस्था शान्त, सुन्दर र समुन्नत रहेको देखिन्छ । ‘समग्र कोरिया नै आमकोरियाली जनताको साझा फूलबारी’ भन्ने धारणाको विकास गराइएको छ, जनतालाई । जनताको सांस्कृतिक चेतना पनि धेरै उच्च रहेको देखिन्छ । समाजवादी संस्कृति नै त्यहाँको मुख्य संस्कृति हो । पुरुष–महिला दुवैले कालो सुट लगाउँछन् । महिलाहरूले मिनीस्कर्ट र हिल जुत्ता बढी लगाउँछन् । राष्ट्रिय पोसााकको पनि त्यतिकै माया र कदर गर्दा रहेछन्, कोरियन महिलाहरू ।

लवाइ, खुवाइ र खानपान एउटै स्तरको भएकाले सबै समान देखिन्छन् । सहर बजारमा मात्र होइन, रेल वे स्टेसनमा रेलबाट ओर्लिने र चढ्ने हजारौँ जनता एउटै समान पोसाक टाइसुटमा सजिएर हिँडेको देखिन्छ । वर्कर्स पार्टी कोरिया र कोरियाली समाजवादले जनताको जीवनस्तर धेरैमाथि पुर्याइदिएको छ ।

माथि उल्लिखित कोरियाली समाजवादी शासन प्रणालीका मूल्य, मान्यताबाट नेपालका कम्युनिस्टहरूले सिक्न अति जरुरी देखिन्छ । १० दिनको उत्तरकोरिया बसाइमा मैले यस्तो अनुभूति गरेँ ।
<< अघिल्लो समाचार

Loading...

यसमा तपाइको मत

अन्य समाचार