इतिहासको सुसेली (कथा)-अशोक कुँवर ‘नेत्र’


आमाले प्राय जसो नौ बजेतिर खाना बनाउनुहुन्थ्यो । मधेसको ठाउँ गर्मी महिनाको रातमा घर अगाडिको आँगनमा खटिया राखेर त्यसमा बसी घन्टौँसम्म कुराकानी गर्ने चलन हुन्थ्यो । यस्तैमा एक रात नन्द मामाले हामीलाई कथा सुनाउने हुनुभयो । उस्तो त मामा कथा सुनाउन भनेपछि जति बेला पनि तयार हुनुहुन्थ्यो । तर पनि अबको बसाइमा कथा सुनाइ विशेष हुने छ भन्ने कुरा अघिल्लो दिन नै मामाले हामीलाई भन्नुभएबाट हामी थप उत्साहित थियौँ ।
मामाले कथा सुनाउने भनेपछि आमालाई भनेर मैले पाक्नासाथ खाना खाएँ । खाना खाईवरी म मामाको घर गएँ । मामाको घर र हाम्रो घर लगभग पाँच मिनेटको दुरीमा पथ्र्यो । म त्यहाँ पुग्दा सबै साथीहरू पहिले नै आइसकेका रहेछन् ।
“राजु हामी तिमीलाई नै कुर्दै थियौँ । किन यति अबेर गरेको ? हामीहरू त अगि नै जम्मा भएका ।”, मामाले भन्नुभयो ।
“हाम्रो त जहिल्यै नौ बजे मात्रै खाना पाक्छ । आज झन् हतार हतार गरेको ढिलो भइहाल्यो ।”, मैले जवाफ दिएँ ।
“ल ठिक छ । अब म कथा सुरु गर्छु । कथा सुन्न सबै तयार भएका हौ त ?”, मामाले हामीलाई सोध्नुभयो ।
हामीले एकै स्वरमा भन्यौँ, “हामी तयार छौँ ।”
मामाले कथा सुनाउन लाग्नुभयो । त्यसपछि हामी चुपचापसँग कथा सुन्न लाग्यौँ ।
“अबको बिस वर्षपछि यो गाउँमा एउटा यस्तो सामाजिक क्रान्तिपुत्र जन्मिने छ, जसले नचाहेर पनि क्रान्तिमा होमिनु पर्ने बाध्यात्मक परिवेश खडा हुने छ ।”
निकै नाम कहलिएका राहुल बाबाले बडो छाती फुलाएर गाउँलेहरूका सामु यस्तो भविष्य वाणी गर्दै हिँडे । संयोग मान्नेले संयोग मान्थे, भाग्य मान्नेले भाग्य मान्थे । जे जस्तो भए पनि राहुल बाबाले गरेका अक्सर भविष्य वाणीहरू मिल्छन् भन्ने गाउँलेहरूको विश्वासमा भने एक मत थियो ।
अनेक समस्या, रुढि, कुरीति एवम् माने साहुको सामलको भारी बोक्ने धनबहादुर, रामबहादुर जस्ताको गाउँ थियो– यो । जमिनदार सुकदास आफ्नो गजधम्बा हैकम लादेर बसेको पुख्र्यौली रीति थियो– यहाँको ।
“बदल्नु पर्छ, समाजका कुरीति, कुसंस्कार र कुसंस्कृति तर धेरै समय कु¥यौँ, पाएनौँ केही पनि । अब समय आउँदै छ । हुरी पक्कै मडारिनु पर्ने बेला भएको छ । एउटा नयाँ संरचनाको सृष्टि गर्नै भए पनि समयको यो मौकालाई कदाचित उम्कन दिनु हुन्न । त्यसैले पर्ख, आउने छ ऊ र सारा गर्जनले एउटा विशाल युग बोकेर युगकै उज्ज्वल तारा बनेर छाउने छ ।”, राहुल बाबा बारम्बार दोहोयाइरहन्थे ।
हुन त त्यो युग पुरुष, युगले अपेक्षा गरेको त्यो उज्ज्वल तारा उदाउने हो या होइन थाहा थिएन । तर पनि यस आशाले गाउँलेहरू निकै ऊर्जावान् बन्दै थिए । जमिनदार सुकदास भने यो खबर, यस्तो महान् भविष्य वाणी सुनेपछि भयले त्रस्त थियो ।
“यदि यसो भइहाल्यो भने हामीले यस गाउँमा वर्षौँदेखि देखाई आएको धाक, रवाफ, मान, प्रतिष्ठाप्रति ठुलो धावा बोलिने प्राय निश्चित छ ।”, सुकदास मनमनै भुट्भुटाइ रहन्थ्यो ।
प्रत्येक बाल मानसपटलमा बिस वर्षपछि आउने त्यो युग पुरुष कस्तो होला भन्ने एउटा जिज्ञासापूर्ण भावले उद्दीपन गराइरहन्थ्यो । गाउँका सितल, गौरव, नन्दकुमार, पातली, फुलमाया त झन् लुकामारी खेल्दा पनि त्यही युग पुरुष आएर यस्तो गर्छ होला भनी नक्कल गर्ने गर्दथे ।
समय बित्दै गयो । गाउँमा जमिनदार सुकदासको शोषण झन् झन् बढ्दै थियो । उसले बस्ने हबेली पनि त्यही निमुखा गाउँलेहरूले निशुल्क श्रम गरेर बनाइ दिएका थिए । ऊ धेरै जसो सहर बजार गरिरहने मान्छे, सहरमा देखिएका हरेक नौला वस्तुहरू उसको घर, आँगन, कोठाहरू, सिँगार्न तुरुन्त झिकाइहाल्थे । अत्तरको सुगन्ध उसको शरीरबाट यति सारो आउँँथ्यो कि सारा गाउँका अमिला गन्हाएका गाउँलेहरूलाई समेत ऊ हिँडेको बाटो हिँडूँ हिँडूँ पारिदिन्थ्यो ।
सुकदास आफूलाई गाउँलेका ईश्वर, अन्नदाता सम्झन्थे । यर्थाथमा भने केही दिए जस्तो गरेर लिने दाउमा ऊ पारङ्गत थियो ।
अर्थशास्त्रको नियमका आधारमा भन्ने हो भने सुकदासको हातमा असीमित साधन थियो तर उसको आवश्यकता सीमित थिए । उता गाउँलेहरूसँग सीमित साधन थियो तर तिनीहरूको खाने मुख र लाउने आङको गन्ती बिसाउन सकिन्नँथ्यो । वास्तवमा भन्ने हो भने बढीमा आठ, नौ फुटे र घटीमा एक फुटे यो शरीरलाई यति नै जमिनको खाँचो छ, जति उसलाई समाधिस्त गर्न पुगोस् ।
यसैबिच एउटा पाश्चात्य मिथको सम्झना भयो ।
मामाले बिचमा कथालाई थप रोमाञ्चित बनाउने कला राम्रैसँग जान्नुभएको थियो । त्यसैले उहाँले यी, यस्ता कथाभन्दा बिचबिचमा अनेक उपकथाहरू जोड्नुहुन्थ्यो । मामाले भन्दै जानुभयो ।
एउटा लोभी मान्छे धेरै जमिन ओगट्ने क्रममा जसरी तातो घाममा दिनभरि दगुयो र साँझसम्म दगुर्दा सबै जमिन आफ्नो बनायो तर त्यो साँझसम्म दगुर्दा सबै जमिन आफ्नो बनायो तर त्यो एक्लो मान्छे अत्यधिक दगु¥याइकै कारण साँझमा मुटु फुटेर म¥यो । ऊ ढल्दा जति जमिनमा ढलेको थियो, त्यो नै उसको वास्तविक जमिन हो, किनकि उसले दिनभरि दगुरे पनि आखिर पायो त केबल मृत्यु । मान्छेको तृष्णा पनि अपार छ, बढी खोज्छ, झन्् बढी खोज्छ, अझ बढी खोज्छ र अन्त्यमा त्यो खोज शून्यमा शून्य सरि बिलाएर जान्छ । पाउँछ त केबल तृष्णाले दिएको छटपटी र पीडाहरू । सुकदासमा पनि त्यै चाहना थियो, धनी बन्ने, धेरै जमिन हडप्ने र आफू सिंहासनको चतुर सिंह बनेर राज गर्ने ।
धेरैसम्म राहुल बाबा गाउँमा आएनन् । राहुल बाबा जो यस गाउँका भोका–नाङ्गा गाउँलेलाई झिनो आशा भए पनि सञ्चार गर्ने एक मात्र व्यक्ति थिए, राहुल बाबा– जो गाउँलेलाई एउटा भिटामिन बाड्ने व्यक्ति थिए, तागत दिने भिटामिन, गरिबीसँग लड्नलाई अभिप्रेरित गर्ने भिटामिन थिए ।
राहुल बाबाको बारेमा पनि धेरै कुरा सुन्नमा पाइन्थ्यो । उनी एकदम धनाढ्य र शिक्षित वर्गको व्यक्ति थिए रे । एक पटक अध्ययनकै क्रममा उनी बेलायतबाट कुन पो हो गाउँ अनुसन्धान गर्न जाँदा एकदमै पिछडिएको देखेछन् रे । त्यसपछि “आफू बाँचेको परिवेश मात्रै परिवेश होइन रहेछ, आफूले खान, पढ्न पाउनु मात्र सबै थोक होइन रहेछ, यहाँ त मबाहेक हजारौँ भोका, नाङ्गा र अनपढ रहेछन् । त्यसैले मैले समाजका लागि केही गर्नैपर्छ” भनेर गाउँलेलाई सहयोग गरी स्कुल, बाटाघाटो बनाइदिए रे । अशिक्षा, गरिबी र खुट्टा तान्ने प्रवृत्तिबाट आजित भएर अन्त्यमा उनले बाबाको रूप धारण गरे रे । गाउँलेहरूले उनी अर्कै गाउँ केही आशाको शक्ति सिञ्चित गर्न गए भन्ने अनुमान गरे ।
समय नै त हो । रफ्तारमा बित्दै गयो ।
“भई नभई, खाई नखाई, पढाउनु चाहिँ पर्छ” भन्ने राहुल बाबाको उपदेशबाटै गाउँलेहरूले आफ्ना छोराछोरी पढाएका थिए । कतिले त बिचमै पढाइ छाडेर बिहेबारी गरे । कतिले त पढ्ने हैसियतै राखेनन् भने कति त उही सुकदासको हली र नोकर भएर रहन बाध्य भए ।
तर गाउँकै सितल, गौरव, नन्दकुमार भने पढे लेखेर निकै जान्ने बुझ्ने भइसकेका थिए । सहरमा गएर पनि दुःखजेलो गरी बिएसम्मको पढाइ सकेर गाउँमै केही गर्ने सोच बनाएका थिए ।
२० वर्ष पनि बितिसकेको थियो । गाउँमा व्याप्त जमिनदारको शोषण, अन्याय र अत्याचार यतिसम्म बढेको थियो कि उसका विरुद्धमा बोल्ने जो कोहीलाई अञ्चलाधीशले तह लगाउने कबुल गरेको थियो । जमिनदारलाई राहुल बाबाको भविष्य वाणी कतै साकार हुने त होइन भन्ने भयले दिनहुँ जसो भयभित पारिरहन्थ्यो ।
अझ भन्ने हो भने देशैभरि चलेको काङ्ग्रेस–वामपन्थी समीकरणसहितको संयुक्त जन आन्दोलन र २०३६ सालको जुल्फिकर भुट्टोको फाँसी काण्ड पनि थियो । त्यसमा पनि पढे लेखेका गाउँले भनी गुनिएका सितल, गौरव, नन्दकुमार यस गाउँमा फर्किसकेका थिए ।
उता गजधम्बा सुकदास बुढो भइसकेको थियो । यस्तै उसको छोरो सिर्जन पनि आफ्नो बुबाको परम्परित संस्कार र कुरीतिको विरुद्धमा थियो ।
“साले बढी गरिस् भने छोरोसोरो पनि भन्दिनँ ।”, सुकदास बारम्बार आफ्नो छोरालाई चेतावनी दिइरहन्थ्यो ।
समय क्रम सँगसँगै एक दिन सिर्जनको भेट गाउँका पढे लेखेका भनिएका सितल, गौरव र नन्दकुमारसँग भयो ।
सिर्जन ‘समाज बदल्नुपर्छ, सुरुवात आफैँबाट गर्नुस्’ भन्ने भावले अभिप्रेरित थियो । देशमा पञ्चायतप्रति बढ्दै गएको वितृष्णा र बहु दलीय व्यवस्था स्थापनाको चाहनाले गाउँमा समेत आंशिक प्रभाव परिसकेको थियो ।
“केही त गर्नैपर्छ, सदियौँदेखि जरो गाडेर बसेको जमिनदार र सामन्ती प्रवृत्ति अब मक्किसकेको छ, त्यसैले ढाल्नुपर्छ” भन्ने पढे लेखेकाहरूको मत थियो भने गाउँलेहरू जमिनदार सुकदासको सामन्ती व्यवहारप्रति आक्रान्त र आजित प्रायः बनिसकेका थिए ।
सिर्जनले भर्खर मात्र घरमा ल्याएको ब्ल्याकिन ह्वाइट टेलिभिजनमा एउटा टेलिफिल्म हे¥यो । जसले उसको मानसपटलमा गहिरो प्रभाव जमाउन पुग्यो । टेलिफिल्ममा उसले एउटा शिक्षकले गाउँलेलाई चेतना छर्दा अपहरण गरी मारेको चलायमान दृश्य हेर्दा उसलाई पनि यो सामन्ती संस्कार र जनता डस्ने पुरानो ढर्राप्रति घृणा जागेर आयो । एउटा सामन्तीले आफ्नो अस्तित्व रक्षाको निम्ति कतिसम्म अन्याय, अत्यचार र दमन गर्न सक्दोरहेछ भन्ने यथार्थ उसले जान्ने मौका पायो । एक दिन सबेरै सिर्जनको नेतृत्वमा सितल, गौरव नन्दकुमार लगायतका मिल्ने साथीहरू पञ्चायती व्यवस्थाको अन्त्य र बहु दलीय व्यवस्थाको स्थापनार्थ ठुलै आँट गर्ने निधोमा पुगे ।
उता आफ्नै छोरोको यस्तो प्रवृत्ति देखेर सुकदास कुल नाशक छोरा जन्माएको भन्दै छोराप्रति आक्रमक बन्दै थियो । अझ यसप्रति अञ्चलाधीशले पनि पटक पटक उसलाई सचेत गराएको थियो ।
“साथीहरू ! हामी जे जस्तो भए पनि अबको नयाँ मुलुकको खाका कोर्ने यो महान् घडीमा एक हुनुपर्छ । इतिहासमा मेरा बुबा, बाजेले जे गल्ती गरे, त्यो गल्ती मबाट दोहोरिने छैन । किनकि समाजमा व्याप्त अशिक्षा गरिबी र अन्ध विश्वासको जड भनेकै सामन्ती सोच र संस्कार हो । यसलाई म चिर्न चाहन्छु । चाहन्छु तपाईँ सबैको साथ । के मलाई साथ दिन तयार हुनुहुन्छ ?”
विचारको संवेगसँगै संवेदना झाँगिएको त्यो वाक्यमा सञ्चारित आशाका किरणले सबैमा जोस भ¥यो र एकै साथै सबैले भने “हामी तयार छौँ ।”
“त्यसो त भोलि बिहानै काठमाडौँबाट पर्चा र पम्पलेट आइपुग्छ, त्यसपछि भोलि राति नै त्यो पम्पलेट हाम्रा घर, गाउँका रुखहरू, पञ्चायतका अड्डा आदिमा छ्यापछ्याप्ती टाँस्नु र छर्नुपर्छ । अनि यसैको बलले हाम्रा गाउँमा पनि केही परिवर्तन अवश्य नै हुने छ ।”
नभन्दै भोलिपल्ट बिहानै सहरबाट पर्चा पनि आयो । त्यसको सुरक्षार्थ नजिकैको जङ्गलमा त्यसलाई लुकाइयो । रातको प्रतीक्षामा परिवर्तन चाहने केही ठिटा दिनभर टहलिरहे । यसबाट कसैलाई पनि शङ्का नहोस् भनेर तिनीहरू सर्तक भइरहे । रात पर्नासाथ पूर्व निर्धारित योजनाअनुसार पर्चाबाजी गरियो र सबै आ–आफ्ना घर लागे । सिर्जन भने त्यसै रात काठमाडौँ फर्कियो ।
गाउँभरि हल्ला मच्चियो ।
“पार्टीका मान्छेहरू आएछन् ।” गाउँलेहरूले लख काटे ‘यो यिनै ठिटाहरूको काम हो ।’
तैपनि गाउँलेहरू थाहा नपाए झैँ बसे । देशैभरि आन्दोलन चर्कँदै थियो । ठाउँठाउँमा सामन्ती र जमिनदारहरू आफ्नो जरो र लत्तो छाड्दै थिए । त्यस गाउँमा पनि अन्तिम प्रहार गर्न बाकीँ थियो । व्यापक धरपकड सुरु भयो ।
सितल, गौरव, नन्दकुमार लगायतका युवाहरू समातिए । बर्बर यातनाका कारण तिनीहरूको चीत्कार प्रहरी चैकी बाहिरै पनि सुनिन्थ्यो । क्रान्तिमा धैर्य र आशा नितान्त आवश्यक पर्छ तसर्थ त्यो दुवैमा निपुण तिनीहरू तैपनि विचलित भएनन् । उता सिर्जन काठमाडौँमा सम्पूर्ण कुरा मिलाई गाउँ फर्कँदै गर्दा बाटैबाट समातियो र उसलाई पनि त्यही प्रहरी चौकीमा थुनामा राखियो । बर्बर यातनाका बाबजुद आफ्ना बुबाले माफी माग्न गरेको आग्रहलाई लत्याउँदै बहु दलीय व्यवस्था स्थापना गरी गाउँबाट शोषण र अन्याय अन्त्य गरी छाड्ने उसको प्रण थियो । उता सुकदासले भने एकापट्टि छोराको ढिपी र अर्को पट्टि स्वाभिमानबिचको अन्तर द्वन्द्वमा अन्त्यमा स्वाभिमानको जितसँगै छोरालाई माया मार्ने प्रण गयो ।
“एउटा गए पनि अरू छँदैछन् । त्यस्ता कुलङ्घार त हुनु भन्दा नभएकै बेस”, सुकदासले सोच्यो ।
हुन त उसले कुल मास्न खोजेको होइन, कुसंस्कारको भन्डाफोर मात्र गरेको हो । तर पनि के गर्नु ? जब मान्छेलाई सम्पतिको कालो बादलले छोप्छ, तब अभिमान जुर्मुराई आफ्नो–पराई केही पनि भन्दैन ।
“हो ! मैले नै हो पर्चाबाजी गरेको ।”, यता पीडादायी चीत्कार दिँदै सिर्जनले सारा दोष आफूमा आरोपित ग¥यो । उसको सोच यही रहेछ कि “म मरेर अरू गाउँलेका शिक्षित छोराहरू बाँच्छन् भने म मर्न तयार छु ।”
अन्त्यमा उसलाई प्रहरी चौकीमा प्रहरीको राइफल खोसी भागेको आरोप लगाएर आधाबार भन्ने ठाउँमा गोली ठोकेर मारियो । यसबाट सबै सन्तप्त भए । गाउँ, सहर, मोर्चा सबै अवाक भए । तर पनि लक्ष्य प्राप्त गर्नु थियो क्रान्तिले निचोड पायो । बहुदल आयो । सामन्त र जमिनदार प्रथा उन्मुलन भयो । सितल, गौरव ,नन्दकुमार रिहा भए । तत्कालीन श्री ५ को सरकारले ‘नेपाल अधिराज्यको संविधान २०४७’ घोषणा गयो । पञ्चायतले घुँडा टेक्यो । गाउँलेहरूले मोहियानी हक अनुरूप जसको जोत उसको पोतको हकले जग्गा जमिन पाए । सबैको ऋण मिनाहा भयो । गाउँमा एउटा युगको अन्त्य भई अर्को युगको सुरुआत भएको महसुस गरियो ।
केही वर्षपछि उही राहुल बाबा यस गाउँमा देखापरे । यतिन्जेलसम्म तिनी निकै बुढा भइसकेका थिए । दारी र जुँगा सेतै फुलिसकेको थियो ।
“मैले भनेको युग पुरुष त्यही सिर्जन थियो । उस बेला मैले यो कुरा भनेको भए सुकदासले आफ्नो छोरालाई समेत मार्न पछि पर्दैनथ्यो । यसैले म यो गाउँ छोडेर हिँडेको थिएँ । अबको मेरो समय यहीँ बिताउने छु । अब मलाई यहाँ कसैबाट खतरा छ भन्ने मलाई लाग्दैन । म अब निर्भय छु । सितल, नन्द र उसका साथीहरूलाई म सहयोग गर्ने छु ।’ राहुल बाबाले गाउँलेसामु कबुल गरे ।
त्यसपछि केही समयमै यस गाउँमा धेरै परिवर्तन भयो । सम्मानस्वरूप त्यस गाउँको नाम सिर्जन बस्ती राखियो । उसकै सम्मानको लागि सिर्जन क्लब, सालिक पनि अनावरण गरियो । ऊ मर्न त मयो तर त्यस गाउँका बासिन्दाको युगौँको सपना, विपना बनेर सिर्जन सबैको मन मस्तिष्कमा बसिरह्यो । ऊ यस गाउँको अमिट इतिहास र गौरवमय गाँथा बन्न गयो ।
( कुँवर प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य हुन् ।)

Loading...

यसमा तपाइको मत

अन्य समाचार