गुटबादमा फसेको साहित्य


-प्रज्वल अधिकारी

कुनै दृश्य होस् या कुनै घटना या होस् आफ्नै स्वैर कल्पना जे भएपनि कल्पनाको उच्च तहमा पुगेर उचित बिम्ब र प्रतीकको प्रयोगद्वारा आफ्ना मनमा उत्पन्न ति भावहरूलाई लेख्नुनै कविता लेख्नु हो । भावनालाई बिचारका रंगहरूले सजाएर अक्षरहरूको माध्यमबाट आफ्ना मनमा उत्पन्न आबेगहरूलाई विभिन्न नियम र सर्तहरूमा बाधिएर कलाको उच्च रुपबाट आँफु सार्वजनिक हुनु नै कवि हुनु हो । कविता साहित्यका विभिन्न बिधाहरू मध्येमा सबैभन्दा रुचाइएको र सबैभन्दा बढी लेखिने विधा हो ।

आज म यो लेखमा न कुनै कविको भनाइ राख्नेछु न त कुनै समालोचकका भनाइहरूनै उद्धृत गर्नेछु नत इतिहासको चर्चा गर्नेछु गर्नेछु त केवल बर्तमान समय त्यो पनि मैले देखेको समयको मात्र चर्चा गर्नेछु र यसमा मैले बिगत केहि समय देखि नेपाली कवितामा देख्दै आएको कमजोरीहरूको बारेमा चर्चा गर्नेछु ।

नेपाली साहित्य फाँट यतिखेर अतिनै उर्वर हुँदै आएको छ । यो अत्यन्त खुशीको बिषय हो । कविता, गजल, गीत, मुक्तक, उपन्यास जे भएपनि अहिलेको समयमा यी सबै विधाहरू अत्यन्तै फस्टाएको छ । नलेखिनु भन्दा लेखिनु नै राम्रो हो । धेरै लेखियो भने उत्कृष्ठ छान्न सजिलो हुन्छ तर थोरै लेखियो भने तिनै थोरै बाट राम्रो छान्नु पर्ने बाध्यता हुन जान्छ । जस्तो मकै छरेपछी छरेजती सबै मकै उम्रीए भने बेडाउन सजिलो हुन्छ तर उम्रदैमा थोरै उम्रियो भने त्यसले समस्या उत्पन्न गर्दछ । थोरै लेख्दैमा राम्रो हुने होइन र धेरै लेख्दैमा पनि राम्रो आउछ भन्ने पक्कै होइन तर धेरै यो समयमा लेखिन्छ जुन बेला हरेक व्यक्ति सचेत हुन्छन र चेतनाले भरिपूर्ण हुन्छन । जुन दिन सम्पूर्ण मानब मनहरू कवि हुन्छन त्यो दिन अवस्य देशले कोल्टे फेर्नेछ ।

नेपाली कविता आज सहर केन्द्रित मात्र नभई गाउ गाउमा पनि बिकशित भएको अवस्य हो । आजभोली हरेक दिन अझ सनिवारका दिन त शहरका रंगमंच कलेज ,होटल, रेस्टुरेन्ट लगायत गाउका पनि विभिन्न स्थानमा कविताको मेलानै लाग्ने गर्दछ । पहिले पहिले स्थान र स्टेजपनि नपाइने गुनासो अहिलेको समयमा क्रमस घट्दै गएको पाइन्छ । फेसबुक र बिभिन्न पत्रपत्रिका, अनलाइन पत्रिकाहरूलेपनि कवितालाई स्थान दिएको पाइन्छ ।

नपाली कविताको यति उर्वर समयलाई कतै हामी आफैले बिगार्दै त छैनौ? कतै हामी आफैले आफ्नै घुडोमा बन्चरो हान्दै त छैनौ? हामी आफै आफै लडेर आफै सकिने क्रममा त छैनौ? आजभोली यस्ता यावत प्रस्नहरूले मेरो दिमाग खल्बल्याउन थालेको छ । मलाइ लाग्छ, कविहरू कुनै जात, धर्म, पेशा, लिंग, क्षेत्र, दल र देशको सीमामा खुम्चिनु हुन्न भन्ने लाग्छ । कविहरू कुनै गुट र उपगुटमा संग्लग्न भएर अर्को गुट र उपगुटको बिरोध गर्नुपर्छ भन्ने पनि लाग्दैन । मलाइ लाग्छ, यति सुललित भाषामा कविता लेख्न सक्ने व्यक्ति बिभिन्न खेमामा विभाजन भएर अर्को कविको बारेमा कुरा काट्दै हिड्नु आफुले आफ्नै पेशालाई अपमान गर्नु हो ।

अचम्म त मलाइ के लाग्छ भने, यतिका स्थानमा कविता वाचन हुँदा किन एउटा गुटका कविहरू अर्को समुहमा कहिल्लै पुग्दैनन र उनीहरूका रचना सुन्दैनन् र यदि कोहि पुगेर सुनिहालेपनि नकारात्मक मात्रै भएर सुन्छन? किन महिलाले पुरुषको र पुरुषले महिलाको संबेदनाको कविता लेख्दैनन? किन नाक चुच्चा भनिनेले नाक थेप्चाको र थेप्चाले चुच्चाको सकारात्मक पक्षको कविता लेख्दैनन? किन कविहरूको बिचमै जातको र लिंगको यति ठुलो खाडल छ? किन कविहरूले कविता लेख्दा नारा बढी लेख्छन र कविताको तत्व बिर्संन्छन? किन कविहरू एउटा कविको कविता अर्कोले पढ्न रुचाउदैनन र सिकाउन जरुरत ठान्दैनन? किन कविहरू नकारात्मक प्रतिष्पर्धामा उत्रिएका छन्? के यसले कविताको उन्नति प्रगति र बिकास होला त? मलाइ लाग्छ यदि स्वच्छ प्रतिष्पर्धा गरेर एकले अर्कोलाई सहयोग गरेर कविको अनुहार नहेरी कविता हेरेर कवितालाईनै राम्रो बनाउन लागिपर्ने हो भने यो हामि सबैको लागि लाभदायक हुन्छ । मलाइ लाग्छ, एउटा हाम्रो युगको एउटा मात्र कवि बाच्यो भने त्यो नै हाम्रो जीत हुनेछ र हाम्रो अस्तित्व रहन्छ । तर, मलाइ यो डर लाग्छ कि कतै हामी मात्रै बर्तमानको लागि सेलिब्रेटी हुन लागिपरेका त छैनौ? हामी कतै हाम्रो कविताले चिनिनु भन्दा पनि हामी आफ्नै विज्ञापनले हिट खाने बाटो तर्फ उन्मुख भएका छैनौ? यदि यसो भयो भने हाम्रो कविताको अस्तित्व कति समय पछिसम्म रहला?

कवितालाइ कविता बनाउन राजनीति गर्नुपर्ने आवस्यकता देख्दिन म । यहा कविताको बिकास गर्न बिभिन्न प्रतियोगीता हुन्छन तर त्यसको नतिजा प्रकाशनपछिको कमजोरीपनि हामी सबैलाई बिधितै छ । किन कविता माथि राजनीति गरिन्छ? भावनाको सागरमा डुबेर यति गम्भीर कविता लेख्न सक्ने कवि किन बिचारले यति नकारात्मक व्यक्तित्व निर्माण गर्न अग्रसर भइरहेका छन? किन एउटाले अर्कोलाई मान्दैन र अर्कोको अस्तित्व स्वीकार गर्न तयार हुदैन? कहिँ कतै पनि कविता वाचनपछी अगाडी फुर्क्याउने र पछाडी कुरा काट्ने प्रबृत्तीले हाम्रो नेपाली कवितालाई कहा पुर्याउला? कविहरू बिभिन्न भाषणमा भन्ने गर्छन, “ठुलाले सानालाई माया र सानाले ठुलालाई आदर” तर म यो कहिँ कतै देख्दिन कि कोहि ठुलाबढाहरू भर्खर लेख्दै गरेको कविको पुस्तक बिमोचनमा बधाई दिन आउनुभएका र सानाहरू पनि ठुलाबढाको बिचार सुन्न तयार भएका देखिदैनन । यसले कविको मुल्यमान्यतालाई कहा पुर्याउला?

अचम्म त यहानिर लाग्छ कि; कुनै खेमाले गरेको कविता वाचनमा कुनैपनि खेमामा आवद्ध नभएको व्यक्ति गयो भने उसको कुनै कदर गरिदैन र त्यहाबाट उ बाहिरिदा अर्को खेमाले देख्यो भने उ स्वत: पहिलो खेमाको प्रतिनिधि हुन् पुग्छ र उसलाई दोश्रो खेमाको कार्यक्रममा बोलाइदैन यसले कविहरूको सोच कहा पुर्याउला?

अन्तत: एउटा कविको धर्म भनेको कविता लेख्नु हो र उ कोहि कसैको दबाबमा नपरी आफुले देखेको र भोगेको समाजको बारेमा केहि कल्पना र केहि बिचार घोलेर अक्षरहरूले समय समाज र पुरै विश्वको चित्रण गर्नुनै उसको जिम्मेवारी हो । व्यक्तिको कद हेरेर कविताको वकालत नगरी, पैसाले कविताको ब्यापार नगरी कवितालाई माया गरेर कविताको माध्यमबाटनै स्वच्छ समाजको निर्माण गर्नु नै एउटा कविको कर्तब्य हो । नेपाली कविताको यो उर्वर समयको उचित उपयोग गरेर नेपाली कवितालाई विश्वमा चिनाउन गुट उपगुटको राजनीति त्यागेर कविताको मुल मार्गमा हिड्नुनै कविताप्रतिको न्याय हो ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार