आलो चिन्ता -चन्द्र रानाहंछा


ढुङ्गा फोर्दाफोर्दै
एकदिन ढुङ्गा हुनेछ मानिस
उभिनेछ सिलिचुङ
मुन्दुम रोपेर ढुङ्गैमा ।

किन खस्दैन खचियाको बाणले लिसो?
मुमातोमा बगिरहेका रगतका फाल्साहरु
किन वासोले बाँध्न सक्दैन बिजुवा ?
किन उल्टो जपिरहेछ रिसिया ?
कसले थुनिरहेछ उसको बाटो ?

पितृको अमर आत्माले
हर्यो कि कतै उसको विद्या
कि फेल्दियो मन्त्रको लय -अनुच्छेद ?

ढोल फुटाएर भुमेथानमा
आत्महत्या गर्न आदिवासी को हो ?
सुक्दै गएको सेउलीको पाउमा
झोक्राइरहेको अर्को मृत्यु कसको हो ?

माटो खोस्रींदाखोस्रींदै
कुनैदिन माटो हुनेछ मानिस
मेटिनेछ-
माटोमै खसेको भाग्यरेखा ।

लौ उभौलीको शुभ- साँझ
यसरी केराको पात फर्फरिनु नजाती !
दिउँसै चिहानघारी उचालेर
हाप्सिलो बास्नु नजाती
कतै उप्काएर
पुर्खाको शिरको घपनी ढुङ्गा
कसैले गोडा नाघ्ने साँघु पो बनायो कि !

Loading...

यसमा तपाइको मत

अन्य समाचार