पढ़नुस बादर आमाको कथा


एक दिन समाचार पढेँ, ‘अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा एड्स र क्यान्सर रहेको बतायो।’

समाचार आएको केही दिनपछि म उपत्यकाको बाक्लो बाँदर बस्ती रहेको स्वयम्भुतिर सोझिएँ।

यहाँका अधिकांश बाँदरहरु साँच्चिकै रोगीजस्ता देखिन्छन्। धेरैको मुख र च्यापुको बीचमा केही अनापश्यक मासु पलाएजस्तो देखिन्छ। केही बाँदरको मुखबाट र्‍याल चुहिरहेको देख्न सकिन्छ।

बाँदरहरुको सन्तान उत्पादन गर्ने मौसम भएकाले मेरो नजर अरु भन्दा पनि सानासाना बच्चा चेपेका बाँदर्नी (सुन्दरी)हरु तिर गयो। तिनमा एउटा ममताको सुन्दरता त देखिन्थ्यो नै त्योभन्दा बढी आमा हुनको लागि गर्नुपरेको संघर्ष देखिन्थ्यो।

अन्य बाँदरका तुलनामा यिनीहरुलाई जीवन ज्यादा भारी थियो। आफ्नै ज्यानको भारी, सन्तानको भारी, सन्तानको पीरको भारी, र भोकको भारी। अरुलाई आफूले खाए भयो, यिनीहरुलाई बच्चालाई पनि ख्वाउनु छ। अरुलाई आफू सुरक्षित भए पुग्यो, यिनीहरुलाई बच्चा पनि जोगाउनु छ।

स्वयम्भूको खुड्किला चढेर माथि पुग्दा त्यहाँ एक बाँदरका आमा–छोरा कसैले फालेको गद्दाका टुक्राहरुमा आफ्नो भोकको उपचार खोजिरहेका थिए। बच्चा बेलाबेला खाना नपाएको झोँकमा आमासँग रिसाउँछ। आमा सम्झाएजस्तो गरेर फेरि आहारा खोज्नमा लाग्छे। त्यो अजैविक स्थानमा आहारा कहाँ पाउनु! आमा हैरान भएपछि दुध चुसाउन थाल्छे।

आमा आफ्नो र बच्चाको भोकसँग विश्वयुद्ध लडिरहँदा बा चाहिँ कहाँ, कसको प्रसाद खोसेर खाइवरी मस्त रुखको टुप्पोमा गएर निदाएको होला। बच्चा भएका बाँदरहरुलाई अरुको खोसेर खान एकदमै अप्ठेरो हुने रहेछ। किनभने बच्चा एकछिन पनि तिनको साथ छाड्न मान्दैन। मान्छेले आफूखुसी दिएको खानेकुरा दुई ज्यानलाई पर्याप्त हुँदैन।

दाउराजस्तो सुकेको शरीरबाट घरिघरि दुध किन आउँथ्यो! बच्चाले एकछिनमा दुध चुस्न छाड्दिन्छ। फेरि आमासँगै आहारा खोज्न थाल्छ।

फेरि उही ठाउँमा यी आमा छोरा घोत्लिन्छन्। अलिकति गुलियो केही भेटिएपछि आमाले पहिले बच्चाको मुखमा हल्दिन्छे र आफू पनि खान थाल्छे। तर बच्चा आफ्नो मुखको फालेर आमाको मुखको तान्छ। उसलाई आमाले मिठो खाइ पो हालिन् र मैले पाइनँ कि भन्ने चिन्ता अझै छ। छोराछोरीको लागि बाआमाले जति गर्दा पनि तिनले देखाउने पराइ व्यवहार बाँदरकै पालादेखि चलिआएको रहेछ।

यत्तिकैमा कसैले झन्डै दश मिटर पर एक दुई दाना बदाम फालिदियो। आमाले आफ्नो ज्यान रकेट भन्दा तीव्र गतिमा उडाएर त्यहाँसम्म पुर्‍याई। अरु ५ र७ ओटासँग कुस्ती खेली र दुई ओटै बदाम हात लगाई। सायद उसलाई पनि भोकको राँकोले भित्रभित्र जलाएको थियो होला तर भोकको राँकोभन्दा ठूलो दुनियाँमा ममताको आँधी हुँदो रहेछ। उसले दुई दानै बदामा सुरक्षित रुपमा ल्याएर बच्चालाई दिई।

बदाम पाएर खुसी भएको बच्चाको अनुहार हेरेर यो आमाले आफ्नो भोक मेटाई। भोक मेट्न सँधै खानेकुरा मात्रै नचाहिँदो रहेछ।

यहाँका हरेक बाँदरका बच्चाहरुको देश भने पनि, समाज भने पनि, परिवार भने पनि सबैथोक आमाकै काख हो। सबथोक नभएर पनि यिनीहरु कति खुसी छन्। आखिर यो विश्व भन्दा सानो कहाँ छ र यिनीहरुलाई पाल्ने आमाको हृदय!

यहाँका यी आमाहरुको संघर्ष देख्दा तीर्थ श्रेष्ठको कविता याद आउँछ, आमा हुन साह्रै नै असजिलो छ!!

Loading...

यसमा तपाइको मत

अन्य समाचार