ठूला नेता माथि यो गाउँसम्म आएको सम्झना छैन। हामी त जो नेतालाई जहाँ भेटे पनि न्हेसम तरेर माथिसम्म आइदिनुस् है मात्रै भन्न सक्छौं, तर कोही आउँदैनन्।’


गाउँमा स्वास्थ्य चौकी छैन। कहींकतै फोन टिप्दैन । प्रहरी चौकी अथवा कुनै प्रकारका सूचना केन्द्र छैनन्। सिन्धुपाल्चोकको सबैभन्दा उत्तरी भेगमा पर्ने जुगल हिमाल फेदीको गाउँमा पुग्न मात्रै जिल्लाको गाडी पुग्ने बिन्दु गुम्बाबाट ५ घण्टा अक्कर उकालो छिचोल्नुपर्छ। यो खबर आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन्।

प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकको तेम्बाथाङवासी तीन सातापछि आउन लागेको संसदीय र प्रदेश चुनावबारे बेखबर छन्। ‘हामीकहाँ रेडियो बज्दैन, एफएम आउँदैन,’ जुगल गाउँपालिका ३ का कामी शेर्पा भन्छन्, ‘उही तल बजारबाट यता कोही आए भने अथवा कोही लोकल नेता भेटिए भने देशको नयाँ खबर थाहा हुने हो, अरू कुनै उपाय छैन।’

५३ वर्षीय कामी २० वर्षअघिको स्थानीय चुनावमा गुम्बागाउँका अध्यक्ष रहेछन्। तर, गाउँले विकास र योजनाका कुरामा स्थिति २० वर्षअघिकै जस्तो मात्र रहेछ। नुनतेल र चामल दिनभरको पैदल छिचोलेर ल्याउनुपर्ने बाध्यता यथावत् रहेछ। गाउँलेहरू आलु, कोदो, जौको परम्परागत खेती र चौरीपालनकै भरमा जेनतेन गुजारा गरिरहेका छन्।

‘सडक बाटो जोडिदेऊ भनेको पनि वर्षौं भइसक्यो, कसैले सुनेको छैन,’ जुगल गाउँपालिका ३ का सदस्य नुर्बु शेर्पा भन्छन्, ‘यही पहिरो गइरहने बाटो सम्याउन यस पटक ५ लाख रुपैयाँ पाएकोमा गुम्बादेखि तेम्बाथाङसम्मको पैदल बाटो मिलाउने काम भइरहेको छ।’ अघिल्लो साता मात्रै काठमाडौंबाट जलवीरे हुँदै गुम्बासम्म गाडी चल्न थालेको छ । हरेक वर्ष गुम्बा–तेम्बाथाङको झन्डै २० किलोमिटर पैदल बाटोको पहिरो सम्याउने काम मात्रै हुने गरेको छ।

स्थानीय तह नहुँदा पनि वडा संयोजक रहेका नोर्बु शेर्पाका अनुसार तेम्बाथाङ र तेगा गाउँमा मात्रै झन्डै ५ सय ८० मतदाता छन्, गाउँको जनसंख्या भने एक हजार हाराहारी छ। ‘गुम्बा र तेम्बाथाङ गाउँलाई न्हेसम खोलाले छुट्याएको छ, अहिले न्हेसममा माथिल्लो र तल्लो गरेर दुई जलविद्युत् आयोजना बन्ने भएपछि यहाँको चहलपहल बढेको छ,’ नोर्बु भन्छन्, ‘तर आजसम्मै न्हेसम खोला तरेर कोही ठूला नेता माथि यो गाउँसम्म आएको सम्झना छैन। हामी त जो नेतालाई जहाँ भेटे पनि न्हेसम तरेर माथिसम्म आइदिनुस् है मात्रै भन्न सक्छौं, तर कोही आउँदैनन्।’

यस पटकको चुनावमा सिन्धुपाल्चोकको यो क्षेत्रमा कांग्रेसका मोहनबहादुर बस्नेत र एमाले–माओवादी गठबन्धनका अग्नि सापकोटा उठ्न लागेको भनेर बाहिर हल्ला सुने पनि यथार्थ थाहा नभएको तेगा गाउँका मिङ्मार शेर्पाले बताए। गाउँलेले सिन्धुपाल्चोकका ठूला नेता ‘पशुपति राजा’ (पशुपतिशमशेर) का बारेमा धेरै कुरा सुनेका रहेछन्, तर आजसम्म उनलाई देख्न पाएका रहेनछन्। ‘हामी यो भीरपाखामा कसरी बाँचेका छौं भनेर हेरिदिने पनि कोही भएन,’ शेर्पाले सुनाए। गाउँमा कोही गम्भीर दुर्घटनामा पर्‍यो अथवा बाहिरबाट अन्तिम संस्कारमा शव ल्याउनुपर्‍यो भने पनि डेढ लाख रुपैयाँसम्म खर्चेर हेलिकप्टर सेवा उपयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयले सुनाए।

गाउँको बीचमा तेम्बाथाङ प्रावि छ, टिनको टहरोमा। यहाँ रजिस्ट्ररमा ३६ विद्यार्थी भेटिन्छन्। तर, सप्तरी घर भएका विद्यालयका प्रधानाध्यापक सर्वलाल चौधरी र अर्का एक स्थानीय शिक्षक दसैंयता प्रायः अनुपस्थित छन्।

आइतबार विद्यालय पुग्दा स्कुले नानीहरू सरकारी अनुदानमा आउने आलु–तरकारी खाजा खाइरहेका थिए। ‘विद्यार्थीहरू स्कुलमा खाजा खान पाइने लोभमा मात्रै आइरहेका छन्,’ एक अभिभावकले भने, ‘यहाँ पढ्ने–पढाउने चासो कसैलाई छैन।’

दुई वर्षअघिको भूकम्पमा सबै १ सय ८ घरधुरी भत्किएको गाउँका बासिन्दा अझै पनि अधिकांश टहरो वा चौंरीगोठमै बसिरहेका छन्। पुनर्निर्माण प्राधिकरणका सरकारी अधिकारी भूकम्पपछिको लगत लिन दुई वर्षअघि गएका थिए, त्यसपछि गाउँमा कोही सरकारी अधिकारी पुगेकै छैनन्।

गाउँका अधिकांश युवा खाडी मुलुकदेखि इराक र मलेसिया पुगेका रहेछन्। ‘चुनाव आउनै लागिसक्यो, नमुना मतपत्र र मतदानबारे गाउँलेलाई के जानकारी दिनुभएको छ?,’ वडा सदस्य नुर्बुलाई प्रश्न गर्नासाथै उनले जवाफ दिए, ‘मतपत्र मैले देखेको भए पो गाउँलेलाई केही सिकाउनु, मलाई नै केही थाहा छैन।’

Loading...

यसमा तपाइको मत

अन्य समाचार