यसकारण हुन् सक्छन डाक्टर केसी पश्चिमा या युरोपियनका तुरुप : ईश्वर अर्याल


डाक्टर केसीले सर्बोच्च अदालतका प्रधान न्यायाधीशलाई पदबाट बर्खास्त गर्नुपर्छ भन्ने माग राखेर अनसन शुरु गरेलगत्तै अदालतको मानहानी भएको भनेर एउटा न्यायाधीशले रीट हाले । रीट उपर सुनुवाई गर्दै डाक्टर केसीलाई सर्बोच्चले पक्राउ पुर्जी जारी गर्यो र साँझको समयमा उनी अनसनरत स्थलबाटै पक्राउ परे । पक्राउ पर्नुभन्दा अगाडि उनले मिडियालाई दिएको छोटो अन्तर्वार्तामा सर्बोच्चका प्रन्या. ‘न्याय माफिया’ भएको र उनले दिएको आदेश नमान्ने घोषणा गरे । अन्तर्वार्तामा धेरैबेर अकमकिएका डाक्टर केसी आफुले तीन करोड जनताको पक्षमा आवाज उठाएको र भ्रष्ट अदालतसमक्ष आफु उपस्थित नहुने भनेर पटक पटक बोले । यहाँ भावनात्मक कुरा छोड्ने र डाक्टर केसीको शुरुदेखिको आन्दोलनलाई हेर्ने हो भने, स्वार्थहरुको द्वन्द्व प्रष्ट देखिन्छ । यसलाई बुँदागत रुपमा यसरी स्पष्ट पारौं ।

१. गोपाल पराजुली भन्दा पहिला सर्बोच्चको कमाण्ड शुशीला कार्कीसंग थियो र उनले अन्तर्वार्ताको क्रममा पटक पटक न्यायालयमा भ्रष्टाचारले ठाउँ पाएको भनेकी थिइन । न्यायालयमा पहिल्यै देखि भ्रष्टाचार हुन्थ्यो, शुशीला कार्कीका पनि कतिपय फैसलाहरु जनताको पक्षमा हुन्थेनन । त्यतिबेला डाक्टर केसीले सर्बोच्चको साथ लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध जेहाद छेडे । शुशीला कार्की हुँदा रामराज्य संचालन गरेको अदालत गोपाल पराजुली छिर्ने बित्तिकै माफियागिरी संचालन गर्न शुरु गरेको हो ? की शुशीला कार्कीसंग गोबिन्द केसीको स्वार्थ नबाझिएर त्यतिबेला संगै सडकमा निस्केको र अहिले गोपाल पराजुलीसंग स्वार्थ बाझिएर बर्खास्तीको माग गरेको हो ?

२. तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई सर्बोच्चले पदमुक्त गरिसकेपछी कति विद्यार्थीहरुले सस्तोमा मेडिकल पढ्न पाए ? कुनै तथ्यांक निकालिएको छ ? वास्तवमा अख्तियार पहिला भ्रष्ट भएको भए अहिले पनि भ्रष्ट नै छ, कुनै सुधार गरिएको थाहा पाइएको छैन । पहिला ठीक थियो भने अहिले पनि ठीकै छ, नराम्रो त्यती सुनिएको छैन । तर डाक्टर केसीको स्वार्थ भने अहिले अख्तियारसंग बाझिएको छैन । जोसंग बाझिएको थियो, उसलाई पदमुक्त गराईयो र डाक्टर केसी ढुक्क छन् । आन्दोलन र सत्याग्रहको उपलब्धी जिरो भएको कुरा, पहिला र अहिलेको अख्तियारलाई हेरे पुग्छ । परिवर्तन प्रमुख आयुक्तको मात्र भो अर्थात केसीलाई जे राम्रो लाग्यो त्यो गरियो । उनले जनताको नाम लिएर आफ्नो ब्याक्तिगत स्वार्थ पुरा गरे ।

३. प्रधानन्यायाधीश छान्ने प्रक्रिया हुन्छ जुन संबिधानमा स्पष्ट लेखिएको छ । उनले पद छाड्नुपर्ने अवस्था पनि त्यहिँ संबिधानमा स्पष्ट लेखिएको छ । ति कुनै पनि अवस्थाहरुमा ‘यदि डाक्टर केसीले चाहे भने’ भन्ने पूर्वशर्त पक्कै राखिएको छैन ।

४. हो, न्यायालयको कमजोरीहरु धेरै छन् । तर हत्या, बलात्कार जस्ता मानवीय संबेदना र प्रत्यक्ष शारीरिक हानी हुने घटना बाहेकका घटनाहरुमा पिडक र पिडित छुट्याउने काम तर्क र कागजपत्रहरुले गर्ने हुन । मतलब जसले तर्क गर्न सक्छ, उसले जित्छ । जसले कागजपत्र बनाउन सक्छ उसले जित्छ । संसारमा एउटा न्यायालयले शतप्रतिशत जनतालाई न्याय दिएको एउटै उदाहरण छैन । एउटाको पक्षमा फैसला गर्दा स्वत: अर्काको बिपक्षमा फैसला हुन जान्छ । त्यसलाई लिएर न्यायप्रणालीको भद्र आलोचना हुन्छ र हुनुपर्छ । तर कायम रहेको बिधी बिधान भन्दा बाहिर गएर न्यायालयलाई आरोपित गर्यो भने जो पनि जेल जानुपर्ने हुन्छ । अदालतले गरेको फैसलालाई आलोचना गर्न सकिन्छ तर मान्दिन भन्न सकिन्न । डाक्टर केसीले म अदालतले भनेको मान्दिन भनेर अदालतको मानहानी गर्ने काम कुनै कोणबाट पनि सहि छैन ।

५. अदालत स्वतन्त्र न्यायालय हो । कुनै राजनीतिक दल, समुह या कुनै ब्याक्तिको स्वार्थ अनुसार परिचालित हुँदैन । न्यायालयलाई स्वतन्त्र देख्न खोज्ने तर फलानोलाई बर्खास्त गर र फलानोलाई पदमा पुर्याउ भनेर भन्न कसरी मिल्छ ?

६. न्यायप्रणालीमा समस्याहरु छन् । कतिपय समस्या ब्याक्तिसृजित समस्याहरु हुन भने कतिपय भ्रष्टाचारहरु न्यायालयको सिस्टमले नै निम्त्याएको हुन्छ । तर भ्रष्टाचार र अनियमितता भएपनी स्वतन्त्र न्यायालयको अस्तित्व अपरिहार्य त छ । बाउ जाँड खाने जुवा खेल्ने भए पनि बाउ त बाउ नै हुन । सुधार्न प्रयास गर्न सकिन्छ तर फलानो मेरो बाउ नै होइन भन्न सकिन्न । अदालत पनि त्यस्तै हो ।

७. संबिधान, कानुन, नीति, नियमको अन्तिम ब्याख्याता सर्बोच्च अदालत हो । नागरिकहरुमा के सहि के गलत भन्ने भ्रम रह्यो भने त्यो मेटाइदिने पनि अदालत नै हो । अदालतले नै न्यायको ब्यापार गर्छ भनेर समाधान हुँदैन । न्यायका माफियाहरुले अदालत चलाउन सक्छन तर अदालतले माफियागिरी चलाउन सक्दैन । अदालत केहि प्रतिशत बिग्रेको हुन सक्छ तर अदालत नै भ्रष्ट हुन सक्दैन । जनताको मास फ्रस्ट्रेसनलाई आधार बनाएर न्यायसम्पादन गर्ने संस्थालाई नै आरोपित गर्ने खेलो आफैमा शंकास्पद छ ।

८. तालिवानको आक्रमणमा परेर बाँचेकी एउटी पाकिस्तानी बालिका युसुफ मलालालाई अहिले पाकिस्तानका धेरै नागरिकले आफ्नो देशको गहना भनेर गर्व गर्नु त परको कुरा, देख्न पनि रुचाउँदैनन । किनभने मलालाले बाहिर गएर पाकिस्तानको आन्तरिक मामिला जसलाई पाकिस्तान आफैंले समाधान गर्न सक्थ्यो र गरिरहेको पनि छ, त्यसलाई अन्तर्राष्ट्रियकरण गरिन । पश्चिमा शक्तिहरुले मलालाको उदाहरण देखाएर पाकिस्तान नै आतंकवादको पर्याय रहेको देखाउन खोजे । भविष्यमा प्रधानमन्त्री बन्छु भन्न सिकाए र उनलाई आफु अनुकुल ग्रुम गरिरहेका छन् । त्यसै गरेर डाक्टर केसीलाई मसिहा बनाएर नेपालको न्यायपालिकालाई भ्रष्ट प्रमाणित गर्दै आफु अनुकुल चलाउने पश्चिमा या युरोपियन नीति हुन सक्दैन भनेर ढुक्क हुने स्थिती छैन ।

९. अन्त्यमा, आफु बाहेक सबै भ्रष्ट देख्ने, आफ्नो स्वार्थ पुरा गर्न तीन करोड जनताको नाम लिने प्रवृत्तिले कालान्तरमा आफैलाई ध्वस्त बनाउँछ । डाक्टर केसी आम नागरिक हुन, अन्य नागरिक जस्तै उनको चासो र अभियानलाई सबैले सकारात्मक रुपमा लिनु पर्छ । तर फलानोलाई जागिरबाट बर्खास्त नगरे म मर्छु भन्दै हिँड्नेको ओखती संसारमा केहि छैन । उनलाई पुनर्स्थापना केन्द्रको जरुरी छ, जहाँ उनलाई आफुलाई मन नपर्ने मान्छेहरुको अस्तित्व पनि यो संसारमा छ है भन्ने कुरा सिकाईयोस ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार