देश रोएको आवाज -प्रथा


तस्तरीका प्वाँखमा टेकेर
जब उड्छन्
विचारका सेटलाइटहरू
सपनाको यो धमिलो गुम्बज–वरिपरि
तब लाग्छ
लुटिएका कलिला खुसीहरू
टुसाउन थाल्छन्— मस्तिष्कको जमिनबाट !
र सिरूको फूल बनेर
फक्रिन थाल्छन्
भरोसाका थुँगाहरू— आमाको मनभरि !
………………….

गुन्यूले आँखा छोपेर
उनैले पिइदिएकी थिइन्
मलाई बगाउन खोज्ने तेजाबका नदीहरू !
तस्बिर देखाएर
उनैले सिकाइदिएकी हुन्
मैले गुनगुनाइरहने— देशभक्तिको गीत !
बारुद निचोरेर
उनैले लगाइदिएकी हुन्
दाइने गालाको पुछारमा गाजलको टीका !
ममता भत्काएर
उनैले सल्काइदिएकी हुन्
यो मनको दलिन–वरिपरि— विद्रोहका दियालोहरू !
………………….

साँच्चै प्रिय कमान्डर !
उनैले हालिदिएकी हुन्
मेरो झोलामा देशको यो पुरानो नक्सा पनि !
…………………

आमा !
टाट्नामा सङ्गिनी गाउने
त्यो ठाड्कानी बाख्री छ कि छैन ?
मुङ्ग्रे कार्कीले चुँडेर झारेको
बहिनीको शिरफूल
सम्झनामा रुँदै आउँछ कि आउँदैन ?
धुपौरोमा खुर्सानी डढाएर
नजिकको छिमेकीले
बोक्सीको बात ला’को छ कि छैन ?
र पाख्रीघाटमा उडेको खरानीले
बाको याद बोकेर
साँझको सिकुवामा पिरोल्छ कि पिरोल्दैन ?
………………….

भन न आमा !
पाइतालामा पल्टिएको खील
बिस्कुन सुकाउँदा दुख्छ कि दुख्दैन ?
वर्षौं–वर्षदेखि
आधामात्र सल्केको चुल्होले
आजभोलि धुवाँउन जान्दछ कि जान्दैन ?
………………….

हो आमा !
गोलीले छेडेको छातीभन्दा
धेरै पो दुख्दोरहेछ
एउटा विभत्स सपनाजस्तो— यो जिन्दगी !
जब रित्तिन्छन्
कमान्डरका चट्याङजस्तै कासनहरू
तब मडारिँदै आउँछन्
होरर फ्लिमका आतङ्कित दृश्यहरू
र बालसिरी ठोकेर जान्छन्
तिमीले सुमसुम्याएको मुटुका भित्ताहरूमा !
…………………….

किन उदास छ
सपना मुस्कुराउने यो फलाँटे पाखो ?
कसरी हराए
जीवनका पोथ्राहरूबाट गुराँसका फूलहरू ?
सायद
बलिदानको त्यही रङ बोकेर
सुस्तरी–सुस्तरी बग्दै छ— मिल्केखोलामा पानी !
खोलाको डिलमा उभिएर
म सम्झँदै छु
तिनै सहिदहरूको प्रिय नाम !
जो आफू निभेर पनि उज्यालो दिएर गए !
…………………

म देख्दै छु आमा !
ऊ तल खोलाको छालसँगै
बग्दै छ— देश रोएको एउटा आवाज पनि !
…………………

जब ब्युँझन्छन्
निदाएका छापामार अक्षरहरू
तब आगोका मूच्र्छना बोकेर
हिँड्दारहेछन् सडकमा— कविताका जुलुसहरू !
र धर्तीको धनु हल्लिने गरी
गाउँदारहेछन्— उन्मुक्त मान्छेको आदिम गीत !
जब निस्कन्छन्
मदिनाको गोठबाट विद्रोही अल्लाहहरू !
मृत्युको डोरीले बाँधेर
नरोकिँदोरहेछ— समयको यो अजम्मरी गति !
………………….

तिमी त भीरमुनि बसेर
आँसुको मझेत्रो ओढिरहेछ्यौ
म त कान्लामा उभिएर
युद्धको बारुदी धुन सुनिरहेछु !
पीर नगर आमा !
जुन दिन यो आकाशमा
सपनाको रातो घाम उदाउनेछ
म त्यही दिन तिम्रो देश लिएर घर फर्किनेछु !
………………….
२०५८ भा द्र २९

Loading...

यसमा तपाइको मत

अन्य समाचार