समाजको ठेक्का लिएकाहरुले लिंगको मापन गरेर बौद्धिकताको ठप्पा लगाउँदा रहेछन् :अमिता आख्यान

जन्मिएकी म



एउटा आल्हादित क्रन्दन
जुन क्रन्दन सुनेर
आमाहरु मुस्कुराउने गर्छन् ,
त्यही क्रन्दन ब्याप्त गर्दै
सायद म जन्मिएँ-
आमाको आँचलमा लपेटिएर
यो दुनियाँ न्यानो ओढें-
बाबाको पाखुरामा झुन्डिएर
मैले जिन्दगीको पिङ खेलें-
बेहिसाब हाँसिदिएँ ,मनलाग्दो बाँचिदिएँ-
दुनियाँको नजरमा
म जन्मिएँ-

समयको प्वाँख पलायो
बालापन भुरुरु उडेर गयो
अब जीवनको रथ हाँक्ने चुनौती आयो
देश र समाजको लागि काँध थाप्ने दिन आयो-

सायद कमजोर छु वा
म कमजोर बनाईन्छु?
समाजको ठेक्का लिएकाहरुले लिंगको मापन गरेर बौद्धिकताको ठप्पा लगाउँदा रहेछन्
आफ्नो अनुकुल
समाज र देशको व्याख्या गर्दा रहेछन्-
नारीहरुको अपव्याख्या हुँदो रहेछ
यो अर्थमा सायद मैले अब फेरि जन्म लिनु पर्नेछ
एउटा नयाँ अवतारमा –

यहि पथमा छु कि
कसैले सिमित गरेको नारीको हक,
खोसेर लिउँ र अपार बनाउँ
यहि आस्था र आत्माको आवाज
बोकेर म हिँडिरहुँ,
हिँडिरहुँ
हो मलाई फेरि नयाँ रुपमा जन्म लिनु छ,
अहिले सम्म
नजन्मिएकी म।

Loading...

यसमा तपाइको मत

अन्य समाचार