उनी यस्ता थेनन् ।प्रोल्लास सिन्धुलीय


कसैले उनलाई होइन, उनको पत्रिकालाई ‘राम्रो’ भन्दिँदा पनि लजाउँथे ।
उहिलेको ‘एककाँधे झोलावाहक आकृति’ अनि अहिलेको ‘पल्सरवाहक आकृति’ जुधाएर हेर्छु । आङ जिरिङ्ग हुन्छ । पहिले बाटो हिँड्नेसँग ठोक्किएला कि जस्तरी हिँड्थे, अहिले बाटो हिँड्नेलाई ठोक्काउँला कि जस्तरी हिँड्छन् ।

“पल्सरमा मुन्छेको विद्वता हुन्न यावा ! जो लाखौँले चढेका छन् । त्यो त मेरो बाध्यता ! नत्र काम भ्याइन्न ।” यो उनको कुरा हो, मेरो होइन ।

मेरो कुरा के हो भने हाम्रो भेट भएको तेह्र वर्ष भयो । उनले मातृभाषाको पत्रिका ‘बुङ्वाखा’ निकाल्न थालेको तेह्र वर्ष भयो ।
तर, “राईलिम्बू नभए नि राईलिम्बूको सङ्गत गरेको मान्छे हुँ,” भनेर मैले फूर्ति गर्न थालेको तेह्र वर्ष भएको छैन ।
तर, “बडो जातिविरोधी कुरा गर्थ्यो, बाहुनै थिएछ यावा,” उनले भन्न थालेको तेह्र वर्ष भएको छैन ।
कुन्नि केके जाति आन्दोलनले उनलाई र मलाई, दुवैलाई यस्तो भन्नुपर्छ भनेर सिकाएको तेह्र वर्ष भएकै छैन ।
के जाति देशमा ‘एक महिना लाउँदा नि सर्टको कलर मैलो हुन्न’ भन्दै एक घन्टामै कालो धर्सो लागेको कलरमाथि सारगर्भित मन्तव्य दिएथ्यो एउटा साथीले ।

हामी कुन ड्याङका मूली हौँ र काठमान्डूको धुलोमैलोमा पनि सफै भइबस्न ?

यथार्थतः उनकै शब्दमा “जन्मजात जातविहीन” उनी पनि/म पनि ।
‘खोन्नुछाङ उङका बाम्ना निमाङ, हाङ्छा युङाङा यावा !” (तर, म बाहुन होइन, मान्छे हुँ साथी !)

लक्काजवान थे, घरजम सोचेनन् । पढेलेखेका थे, जागिर सोचेनन् । बूढा बाका दुःख, रहर सोचेनन् । गाउँमै पुग्दा नि आमालाई देखिनँ, हुनुहुन्थेन सायद । मातृभाषालाई नै आमा भन्ठानेर स्याहारसम्भार गर्दैगरेको हेर्दै रहेँ बाह्र वर्षदेखिन् ।

आफ्नो भाषामा जेजे गरे, पहिलो भयो । जेजे गराए, पहिलो भयो । किराती भाषामध्येमै निकै समृद्ध अहिलेको बान्तावा भाषा, कस्तो थियो होला उनले काँध हाल्दाताका ? अनि, कति र केकेमात्र कुर्बान गरेछन्, अन्दाज हुन्छ ।

हिँड्दाहिँड्दा अन्तिममा टुप्पीमात्र बाँकी थिएछ भन्थे बूढापाका । त्यत्तिसम्म नजाऊँ, दुई इन्चचैँ पक्कै खिएको छ यिनको हड्डी, बान्तावा भाषाको लागि दौडिँदादौडिँदा ।

यो तस्बिर, यस्तो खाले तस्बिर, छ्यास्छ्यास्ती यस्तो खाले तस्बिर, यस्तो तस्विरमा उनलाई अकस्मात् देख्दा झस्किएँ म ।

के दिन देख्नुपर्यो ? यो मेरो प्रिय यावा नै हो त ? कतै नाम उस्तै भएर झुक्किएको त हैन ?

जुन आमाको उनी सुसार गरिरहेछन्, त्यही आमाका क्वैक्वै छोराछोरी उनलाई मद्दत गर्नुपर्ला कि भनेर बाङ्गोबाङ्गो परेर हिँडिराको देख्छु । प्रज्ञाप्रतिष्ठानजस्तो स्वनामधन्य संस्थाले रु. १ लाख नगद पुरस्कारसहित त्यो तस्बिरमा ‘पदम वालाहाङ राई’ लाई अटाउनुपर्ने ठानेछ, अचम्मकै कुरो होइन त ?

उनको सम्प्रदायमा मजस्ता टपरटुइँया ‘बाहुन’ले बोलेको छुट्टै अर्थ के राख्दो हो र !
भन्नचैँ पाउँदा हुन्, “देखिस् ! अर्कै जातकाले नि निको मानिसक्यो ! तिमेरू….!”

बधाई छ याबा ! बधाई !

Loading...

यसमा तपाइको मत

अन्य समाचार