डा. के.सी. अनसन अनसनको दर्शन विपरित छ :स्वागत नेपाल


यो लेखको शीर्षक निक्कै लामो छ, समयले यस्तो माग्दो रहेछ । कुरा सोझै छ । म कुनै पार्टीको सदस्य छैन त्यसैले सबैभन्दा निर्भय मान्छे म हुँ । र, सोझो बोल्न सक्छु, बोल्नुपूर्व कुनै देशीविदेशीको शक्ति सम्झनु पर्दैन । तर राष्ट्रवादी कानुन केन्द्रको अध्यक्ष हुँ । जो, जुनसुकै दलमा भए पनि कुनै दलमा नभए पनि राष्ट्रलाई केन्द्रमा राखेर आवाज उठाउँछ । भन्छु अब कुरा बलात्कारपछि हत्या भएर नौ महिनासम्म लास समेत नउठाएकी किशोरीको पक्षमा म आज पनि निशुल्क बसह गर्न अदालत जाँदैछु, सिलवाल र पराजुलीहरुको मुद्दामा एकै सेकेण्डमा दर्ता र फैसला ? डा. गोविन्द के.सी. को अनसनपछिको अदालतको बयान अत्यन्त शिष्ट छ, त्यो अदालतमा अभिलेखीकृत भइसक्यो, त्यो वैधानिक छ जसको जवाफ प्रधानन्यायाधीसले दिनुपर्छ । संसद नभएको बेला महाभियोग आउन नसक्ने बेलाको फाइदा उहाँले उठाउन पाउनुहुन्न । तर डा. के.सी. अनसन अनसनको दर्शन विपरित छ । यसका लागि अनसनको हाम्रै पौराणिक मान्यता विश्व अभ्यासहरु हेर्नुपर्छ । हेरौँ …

बेलायतमा सफ्रागेट हङ्गर स्ट्राइक मेडल निक्कै सम्मानित छ । महिलाको मताधिकारका लागि शुरु भएको आन्दोलनमा इमेलाइन प्यांकहस्र्ट र उनका ३ जना छोरीहरु मुख्य आन्दोलनमा थिए । ‘डिड्स नट वर्ड’ अर्थात् बोली होइन व्यवहार चाहियो भन्दै आन्दोलित थिए उनीहरु । सन् १९१२ मा शुरु गरेको अनसन वीचमा तोडियो फेरि सन् १९१३ सम्म १२ महिनामा १२ पटक यो क्रम दोहोरियो । सरकारले जवरजस्ती कब्जामा लिएर खुवाउने काम पनि गर्यो तर अन्ततः उनको निधन भयो र सफ्रागेट अभियानको पर्यायको रुपमा उनको नाम लिइन्छ ।
महिलाहरु मताधिकारका योग्य मानिन्नथे । तर, यो आन्दोलन केवल मत हालेर बस्ने मात्र होइन मत पाउनु पर्ने र सक्रिय हुन पाउनु पर्ने मागमा केन्द्रित थियो । प्रथम विश्वयुद्धमा भाग लिएका महिलाको बलमा चलेको यो शान्ति आन्दोलनले ठूलो परिवर्तन ल्याइदियो । नेपालमा भने पछिल्ला बर्षहरुमा शान्तिका सौदाबाजीका भेराइटीहरु टेस्ट गरिँदै असफल पारिँदै छोडिँदैछन् ।
आयरल्याण्डमा सन् १९७६ पारामिलिटरी बन्दीहरुको आन्दोलन चल्यो । सन् १९७२ देखि युद्ध बन्दिहरुका उन्मुक्तिहरुमा अंकुश लाग्न थाले । बेलफास्ट नजिक न्यु मेज जेलमा एच ब्लक भनी विशेष व्यवस्था गरिएको थियो । त्यहाँ व्ल्यांकेट प्रोटेस्ट नामले अध्ययन गरिने आन्दोलनमा बन्दीहरुले कैदीका कपडा नलगाउने समेतका अडान १९८० मा भोक हडतालसम्म पुग्यो । उनीहरुले राज्यले गरेको सम्बोधनमा आफ्नो माग पूरा भएको बुझेछन्, त्यसैले आन्दोलन स्थगित त गरे तर १९८१ मा फेरि शुरु भयो । जसको नेतृत्व अधिकारवादी बबी स्यान्डस्ले गरेकी थिइन् । उनी २७ वर्षको उमेरमा जेलमा ६६ दिनको भोक हडतालपछि ५ मे १९८१ मृत्यु वरण गर्न पुगेकी थिइन् । उनका मुख्य मागहरु हप्तामा एउटा पार्सल बाहिर पठाउन र रिसिभ गर्न पाउनु पर्ने, बन्दी पोशाक नलगाउन पाउनुपर्ने, बन्दीहरु वीचमा नै भेटघाट गर्न पाउनु पर्ने लगायत थिए । मार्गरेट थ्याचरको सरकारले केही पनि सम्बोधन गरेन । अक्टोबरसम्म उनीसँगै झण्डै एक एक दिनको फरकमा अरु नौ जनाको पनि अनसनकै कारण निधन भयो ।

भोक हडताल वा अनशन अरुलाई दोषी महसुस गराउन अहिंसात्मक ढंगले माग पूरा गराउने राजनीतिक सौदाबाजी हो । यसको उद्देश्य नीतिगत परिवर्तनका लागि हुन्छ प्रक्रियागत सुधारका लागि होइन । ठोस नखाई तरल पदार्थ मात्र खाइन्छ । भोक हडतालमा कथम् कदाचित केही भइहाल्यो भने त्यसको जिम्मा राज्यलाई हुन्छ सिद्धान्ततः तर राज्यले केही बोल्न नै नमिल्ने कुरामा भोक हडताल हुन्छ गरिन्छ भने सोझै बुझिन्छ त्यो भोक हडतालको विषय नै होइन ।
कहिलेकाहीँ अनसन बलपुर्वक खुवाइएर पनि तोडाइन्छ । यो प्राग्क्रिश्चियन आयरल्याण्ड प्रचलनबाट शुरु भएको हो । कसैले कुनै गलत काम गरेको भए उसलाई सुधार गर्न अनुरोध गर्दा पनि नमानेमा साँझको खाना खानेबेला उसको घरको ढोकामा बसेर सुधार नहुञ्जेल खाना नखाने अनि घरमा आएको व्यक्ति खाना खाने बेलामा उसलाई भोकै राखेर आफूले खाने सभ्यता पनि नभएको कारण दवाव दिन पनि सजिलो हुन्थ्यो । यदि त्यसरी माग गर्नेका कुरा नसुनी काम गरेमा वा ऊ भोकै त्यहाँ मरेमा त्यस्ता माग पूरा नगर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गरिन्थ्यो ।
इण्डियामा पनि जसको सुधारका लागि भोक हडताल गरिने हो उसैको ढोका अघि अनसन बस्ने चलन थियो । नेपाली अनसनको इतिहास पनि इसा पूर्व ४०० देखि ७५० सम्म जोडिएको छ । वाल्मिकी रामायणमा पनि यसको सन्दर्भ उठेको पाइन्छ । अयोध्या खण्डमा सर्ग १०३ मा भरतले रामलाई फिर्ता भएर राज्य चलाउन आग्रह गर्छन् तर उनलाई गरिएको कुनै पनि आग्रह काम लाग्न सकेन । त्यसपछि उनले आफ्नो भनाइ नमानेमा खाना नै नखाने भनिदिए । भयो पनि त्यस्तै तर भरतले त्यसबेला कुशको घाँस भने खाएको कथा छ । रामले ब्राम्हणको सँस्कार नै यो हो भनेर सम्झाएका थिए । अनसन बस्नेले जे भन्यो् त्यही नहुन पनि सक्छ भन्ने पनि यो उदाहरण हो ।
चिकित्सा विज्ञानका अनुसार ३ दिनसम्म शरीरमा भएको र भोकहडताल शुरु गर्नुपूर्वको ग्लुकोजको शक्तिमा शरीर चल्छ । त्यसपछि भने लिभरले बडी फ्याट अर्थात् शरीरमै भएको बोसोको प्रोसोसिंग गरेर प्रयोग गर्न थाल्छ । त्यस्तो प्रोसेसिंगलाई चिकित्सा भाषामा केटोसिस भनिन्छ । त्यो क्रम ३ हप्तासम्म जारी रहन्छ तर त्यसपछि भने शरीर स्टरभेसन मोड भनिने अवस्थातिर लाग्छ । यो विन्दुमा शरीरले आफ्नै मांशपेशी र अरु महत्वपूर्ण अंगहरुमा आफैँ शोषण गर्न थाल्छ । जसले गर्दा बोन म्यारो नष्ट हुन थाल्छ र फलतः मान्छे मर्छ । त्यसैले विश्वमा ५२ देखि ९४ दिन वीचको भोक हडतालमा अनसनकारीहरु मरेको उदाहरण देखिएका छन् ।
क्युवाका रिपब्लिकन अल्टरनेटिभ मुभमेन्टका नेता ओल्र्यान्डो जपाता तामायोको सरकार विरुद्धको अनसनमा ८५ दिनपछि निधन भएको थियो । उनी ४२ वर्षका थिए । ६ डिसेम्बर २००२ मा पक्राउ परेका थिए । त्यसबेला ३ महिना जेल राखियो फेरि दोस्रो पटक २० मार्च २००३ मा पक्राउ परेका उनलाई कामागुसीको किलो सेभेन भन्ने जेलमा राखियो । त्यस पटक भने उनले नागरिक समाजको परिचालनका लागि भोक हडताल शुरु गरे । त्यसपछि नागरिक समाजको सक्रियता बढ्यो र उनीमाथि सामाजिक विच्छृंखलता भड्काएको अर्को आरोप लगाइयो । उनलाई एमनेस्टी इन्टरनेशनलले आस्थाको बन्दी घोषित गर्यो । केवल मन्थ्ली रिभ्यूले भने उनले शान्तिमा खलल पुर्याएको लेखेको थियो । उनले डिसेम्बर २ मा अनसन शुरु गरे । उनले फिडेल क्यास्ट्रोले प्रयोग गर्ने स्तरको टिभी सेट, खाना र कपडा जेलभित्र पनि माग गरेका थिए । किड्नी फेल भएपछि उनलाई अनसन तोडन दिइको डाक्टरको सुझाव उनले मानेनन् उनी लगभग विचेत बने पनि उनको इच्छाविरुद्ध भेनम दिइएको थियो । क्युवामा सन् १९७२ मा युवा कवि तथा विद्यार्थी नेता पेड्रो लुइस बोटेलको अनसनकै क्रममा मृत्यु भए यता यो दोस्रो अनसनकारीको मृत्यु भएको थियो । १६ मार्च २०१० मा उनले राजनीतिक बन्दीहरु छोड्न सरकारका लागि लेखेको पत्र एउटा इन्टरनेट व्लगमा राखेपछि एक हप्ता पनि नपुग्दै नै ३० हजार ऐक्यबद्धता प्राप्त भएको थियो । त्यसमा सबै जसो नै कम्युनिष्ट र गैरकम्युनिष्ट सबैतर्फका वरिष्ठ व्यक्तिहरु थिए । त्यतिबेला उनको उपचार गर्ने डा. मारिया इस्टर हर्नान्डेजभन्नेलाई समेत त्यहाँको सरकारी टेलिभिजनले नै चेतावनी समेत दिएको दिएको थियो । उनकी आमा रेइना लुइजा तामायोले मियामीको समाचारपत्र नुएभो हेराल्डलाई दिएको एउटा अन्तरवार्तामा क्युवाको सुन्दर भविष्यको सोचमा आक्रमण भयो मेरो छोरोले आफ्ना लागि कुनै पद मागेको थिएन ।
शर्मिला चानु अर्थात् आइरन लेडी अफ मणिपुर , संसारमा सबैभन्दा बढी अनसन बस्ने अनशनकारी हुन् । उनी २ नोभेम्बर २००२ देखि १० वर्षसम्म झोल चीज मात्र खाएर मणिपुर भारतमा जातिसोच विरोधी व्यवस्थाको पक्षमा विचारकी अभियन्ताको रुपमा चिनिएकी छिन् । उनलाई द वल्डर्स लंगेस्ट हंगर स्ट्राइकर भनेर चिनिन्छ । अन्ना हजारे १२ दिन भारतको रमिला मैदानमा अनसन बसेका थिए । तर गंगातिरमा भारत सरकारका गतिविधि विरुद्ध अनसन बस्ने स्वामी निगमानन्द फेब्रुअर १९ सन् २०११ मा शुरु गरेकोमा ११५ दिनपछि १३ जुनमा निधन भएको थियो । उनको माग गंगा नदी अतिक्रमण सरकारले नै गरेको र त्यो रोक्नुपर्ने थियो । ।
१५ सेप्टेम्बर १९८७ मा विहान साडे ९ बजे नल्लुर मुरुगान मन्दिरमा लेफ्टिनेन्ट कर्णेल भनेर थिलिपन भनेर चिनिने तमील समुदायका श्रीलंकन नागरिक रासाइया पार्थिपन अनसन शुरु गरे । सानैमा आमा वितेकी शिक्षक बाबुका छोरा उनी जाफ्ना हिन्दू कलेजका मेधावी विद्यार्थी थिए । उनको मागहरु आतंकवादीको नाममा राजनीतिक विषय र व्यक्तिलाई सफाया बन्द गरिनु पर्ने, आदिवासी जनजातिको निर्मूलीकरण बन्द गरिनु पर्ने आदि थिए । उनले २६ सेप्टेम्बर १९८७ मा अनसनकै अवस्थामा संसार त्यागे ।
महात्मा गान्धीलाई सन् १९२२,१९३०,१९३३,१९४२मा पटक पटक अंग्रेजहरुले अस्पताल लानुपरेको थियो अनसनमै मर्न नदिनलाई । त्यसबेला भगत सिंह र जतिन दासको अनसन ११६ दिन पुगेको थियो । सन् १९२९ अक्टोबर ५ मा त्यो तोडिएको थियो । तर उनका अनुयायी पोट्टी श्रीरामलु जसलाई अमराजीवी पनि भनेर चिनिन्छ, दलित समुदायको हक, अहिंसात्मक शासन व्यवस्था र स्वतन्त्र स्वाधीन देशको माग गर्र्दै बसेको अनसनको ५८ औं दिनमा बितेका थिए ।
यो धर्म संकट पारिदिने नीति आइरिसहरुले १९१७ मा शुरु गरेर १९२० मा एंग्लो आइरिस युद्धभा बढी प्रयोग गरेप । बढी प्रयोग गरे र त्यतिबेला अनसनकारीलाई जबरजस्ती खुवाउने फोर्स फिडिंगको प्रयोग पनि प्रशस्तै भयो । सोही सययका बन्दी बनाइएका महान योद्धाहरु लर्ड मायोर, थोमस अ‍ेशे पनि अनसनमै जीवन त्यागेका थिए । गिनिज बुक अफ वल्र्ड रिकर्डस्मा पनि आइरिस सिभिल वारमा फोर्स फिडिंग नगराई ९४ दिनको अनसनपछि मृत्यु भएकाहरुको सूची नै राखिएको छ जसमा सन् १९२० को ११ अगस्त देखि नोभेम्बर १२ सम्म अनसन बसेर प्राण त्याग गर्नेमा जोन र पिटर क्राउले, थोमस दोनोभान,मिखाइल ब्रक, मिखाइल ओ रेली, जोन पावर, क्रिस्टोफ उप्सन, जोसेफ केन्नी र सीन हेन्नेसी उल्लेखित छन् । भेनेजुएलामा ३० अगस्त २०१० मा एक जना किसान फ्र्याक्लिन ब्रिटोको अनसनमै मृत्यु भएपछि निक्कै हल्लीखल्ली भएको थियो । उनले किसानको सहुलियत सम्बन्धी मागहरु उठाएका थिए ।
वल्र्ड मेडिकल एसोसिएनको सन् १९७५को टोक्योमा सम्पन्न भोक हडतालसम्बन्धी माल्टा घोषणापत्रको धारा ६ ले उचित कारण सहित औषधी लिन आफैँले इन्कार गरेको अवस्था चिकित्सकले जबरजस्ती खुवाउन नमिल्ने तर आफैँले इन्कार समेत गर्न सक्ने अवस्था नभएमा सम्बद्ध पक्षको अनुमतिमा डा. चिकित्सकले आवश्यक औषधी दिन सक्ने व्यवस्था गरेको छ । नेपालको हकमा हामीले अब अनसनका लागि हठ नछोड्ने र माग पनि पूरा नगर्ने हो भने सबैले आआफ्ना बाटा हेरेर अन्त्यमा गर्नु पर्ने त्यही हो । यस अघि जेजस्ता महान उद्देश्यले अनसनबाट ज्यान माया मार्नेसम्मका महान अनसनहरु जस्तै हो नेपालको अनसन ? आमरण अनसनजस्तो गम्भीर विषयलाई कसैको पदमा सीमित गर्नु भनेको अहिलेसम्म अनसनबाट देश जनता र वाद विचारका लागि जीवन त्याग गर्ने माथि उल्लेख गरिएका महान व्यक्तिहरुका योगदानमा पनि धब्बा लगाउनु हो । धेरै खाएर अघाएर अटसमटस भएकाहरु केही बेर ज्यानलाई सन्तुलित बनाउन अनसन बस्नु कुनै ठूलो कुरा होइन । उनीहरुको सायद यो ज्यान घटाउने योगा वा डाइटिंग हुन सक्छ । मान्छे खान नपाएर मरिरहेका छन् , त्यस्तो अनसन धेरै गरिबहरु बसिहेका छन् यो देशमा । अधिकारी दम्पत्तीको अनसनबारे कसले बोल्यो ? म आजैको दिनमा बलात्कारपछि हत्या गरिएकी एक किशोरीको आज ९ महिनासम्म लास नउठेको विषयमा निशुल्क बहस गर्न जाँदैछु अदालतमा त्यस्ता विषयमा ढिलो हुँदैन न्यायाधीस र न्यायालयलाई, मैले नै सर्वोच्च अदालतबाट राइट टु रिजेक्टको व्यवस्था लागू गर्नु भनी सर्वोच्च अदालतबाट निर्देशनात्मक आदेश गराउँदा पनि सरकार, हालसम्म राजनीतिक दल र निर्वाचन आयोग समेत मिलेर त्यो व्यवस्था लागू गरेनन् तिनलाई लाग्नु पर्दैनथ्यो अदालतको अबहेलना मुद्दा ? मूल विषय अर्कै छ, सांसदहरुलाई मन्त्रीहरुलाई मन्त्री प्रधानमन्त्री हुने व्यवस्था नरोकेसम्म, ५१ प्रतिशत मत ल्याउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था नभएसम्म, राइट टु रिजेक्ट, राइट टु रिकल नभएसम्म अनर्थका अनसनहरु भइरहन्छन् । यी सबै मिलीजुली खानेहरु हुन् । साँच्चै अनसन बस्नेहरु पनि ज्यानको सुरक्षा चाहियो भन्दै बाघको अघि गाइको अनसन बसेजस्तै हुने छन् ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार