बलराम तिमल्सिनाको चर्चित कविता :कमरेड गायत्री मन्त्र सिक्दैहुनुहुन्छ !


युध्दबाट फर्केको वाह्र वर्षपछि
के दिव्यज्ञान प्राप्त भएर हो
हिजो आज कमरेड
गायत्री मन्त्र सिक्दैहुनुहुन्छ !

घरमा एउटा पूजा कोठा छ कमरेडको
एका विहानै कमरेड पूजा गर्नु हुन्छ
” जय जगदीश हरे !”
विहानै पुग्नु भयो भने तपाई
कमरेडको मुखले यसै भन्दै हुन्छ
तपाईलाई देख्नासाथ भन्नु हुन्छ-
“हेर्नोस जसले जे भनोस
धर्ममा ठूलो तागत छ , बुझ्नु भो ?”

हिजो आज कमरेड
मार्क्सवादमा कम गायत्री मन्त्रमा बढी
विश्वास गर्नु हुन्छ
कमरेडको काँधमा नयाँ जनै छ अचेल
त्यही जनै समातेर कमरेड
कितावबाट मन्त्र पढ्नु हुन्छ !

एकादशी
मंगलवारे व्रत
स्वस्थानी
यी सवै हिसाव हुन्छन अचेल
यीसँगै फर्केर आएका छन
छुवाछुत
महिनावारी वार्ने
सुतक
जुठो
सवै कमरेडको परिवारमा !

हिजो आज कमरेड
धनधान्यचल महायज्ञ पुग्नु हुन्छ
र असर्फी दान गर्नु हुन्छ
गीता पाठ
कमरेडको दैनिकी भएको छ
कमरेडसँगै फेरिएका छन कमरेड पत्नीहरू !

कमरेड मन्त्री हुनुभयो भने
कालो बोको काटेरै छोड्नु हुन्छ
साइत हेराएर मन्त्री निवास छिर्ने कि
कमरेड एता पनि सोच्दै हुनुहुन्छ !
हिजो आज कमरेडलाई
कम्युनिष्ट घोषणापत्र
कम मन पर्छ
भागवत गीता बढी मन पर्छ

पण्डित श्री मोहनचन्द्रको बाटोमा
सवैभन्दा बढी कमरेडहरू छन्
हिजो आज मोहनचन्द्र
सवै भन्दा सफल देखिएका छन् !

Loading...

यसमा तपाइको मत

अन्य समाचार